अपडेट

हली,खलाँसी र अरवको रोजगार किन उपेक्षीत ?

सबै भन्दा उपेक्षीत पेशा हरुमा “हली” र “खलासी” आउछन । त्यसपछी अचेल भने “अरपे” आउन थाल्याछ । केट्केटीले नपढ्दा ठुलो भएसी हली होलास, खलाँसी होलास भन्थे पहीले पहीले अचेल अरप गएर दुख पाउलास मुर्दार भन्छन । खेत जोतेर बाली उब्जाएर पेट भरीदिने हली उपेक्षीत, सयौं यात्रुलाई गन्तब्य सम्म पुग्न सहज बनाउने भर अभरमा ओट लगाउने खलाँसी उपेक्षीत अनी विप्रेषणले देश धान्ने अरपे उपेक्षीत । कर्मविर हरुको कदर नै छैन यहाँ ।

“ठुलो भएर हली होलास” यो वाक्य उखानकै रुपमा स्थापित भएको छ नेपाली बोलीचालीको भाषामा । अहिले पनि छोराले स्कुलमा राम्रोसँग पढेन भने बा आमाले धम्कीको भाषामा भन्ने गर्छन् ‘नपढ न.... पछि हलो जोतेर खान पर्दा थाहा पाउलास् । फलानाको छोरो फस्ट हुन्छ त्यो डाक्टर हुँदा तैले हलो जोतेर बस्लास । यिनै कुरा बाट बुझिन्छ हाम्रो समाजमा सबैभन्दा हेपिएको पात्र कोही छ भने त्यो ‘हली’ 
हो। 

खासमा हली हाम्रो समाजको सबैभन्दा कर्मठ पात्र हो । जो उत्पादन संग जोडिएको हुन्छ र उसकै श्रम र पसिनाले भिजेर मात्र अन्न उब्जिन्छ । अधिकांश जमिनमा कृषि खेति हुने र खानेकुरा उब्जने हाम्रो माटोले धेरै हलीलाई रोजगारी दिन सक्छ तर त्यहि पेशा समाजको नजरमा सबै भन्दा नालायक पेशाको रुपमा स्थापीत भएको छ । जुन अन्नको भरमा एउटा पेट भरिन्छ गाउँ समाज धानिएको हुन्छ र सिंगो देशको कुल ग्राहस्थ उत्पादनको अधिकांश हिस्सा त्यहि पेशाले धानेको छ त्यो पेशाको प्रमुख पात्र “हली” को बारेमा यस्तो नकारात्मक सोच किन बोक्छ यो समाज? ,

अर्को दुखि पात्र भनेको खलाँसी हो । नेपाली श्रम बजारमा खलाँसी यौटा यस्तो पद हो जुन जो कोहि व्यक्तिले खुशी खुशी धारण गर्न चाहादैन । बाध्य भएर अन्य विकल्प नभेटे पछी रोजगारीको अन्तिम विकल्पको रुपमा खलाँसी पेशा रोजेको मानिन्छ ।

सार्वजानिक यातायात खलाँसी बिना संचालन हुने नसक्ने होइन । आधुनिक प्रविधियुक्त सवारीसाधन र त्यस्तै सुविधा सम्पन्न बाटो भएका देश हरुमा सार्वजानिक सवारी साधनमा सहयोगी राख्दैनन् । सबै सिस्टम स्वचालित हुन्छन । टिकट काट्ने देखि ढोका उघार्ने र बन्द गर्ने सम्मका सबै काम स्वचालित भएको ठाउमा खलाँसीको आवस्यकता हुने कुरा पनि भएन तर नेपालको परिप्रेक्षमा खलान्सिको कति महत्व छ त्यो बुझेर मात्र उक्त पेसा लाइ हेर्ने दृष्ट्रिकोण बनाउन उचित हुन्छ ।

गाडीको सरसफाई गर्ने देखि लिएर चिच्याई चिच्याई यात्रुलाई सुचना दिने देखि चालकलाई सहयोग गरेर गाडीलाई सुरक्षित् रुपमा गन्तब्य सम्म पुर्याउने सहयोगी पेसा हो खलाँसी उक्त पेसा लाइ मर्यादित र अनुसाशित बनाएर राम्रा मान्छे हरुलाई समेत उक्त काममा लगाएर रोजगारी सृजना गर्नुको साटो पढ्न अल्छी गर्न बच्चा हरुलाई “खलाँसी होलास” भनेर उनीहरुको मनमा खलाँसी प्रति हिन भावना पैदा गर्नु सरासर गलत हो ।

अन्तिम अभागी रोजगार भनेको खाडीको जागिर भएको छ अहिले । एक समय थियो खाडीको जागीर आकर्षण को केन्द्र थियो । केहि रुपिया कमाउने र हाली र खलाँसी भन्दा माथिल्लो स्तरको जीवन बाच्ने अभिलाषामा बिदेशिएका नेपाली हरु खाडीमा जति बढ्दै गए उनीहरुलाई समाजले हेर्ने नजर पनि फेरिदै गयो ।

अहिले राम्रो नपढ्ने बच्चा हरुलाई हली या खलाँसी होलास भन्ने दर भन्दा पनि माथिल्लो दरको रुपमा ‘अरव गएर भेंडा चराउलास” भन्ने वाक्यावली प्रयोग गरिन्छ । समाजले बुझ्दैन कुनै एक जना मान्छेले भेंडीगोठ मा काम गर्यो भन्दैमा सम्पूर्ण अरवमा काम गर्ने हरु उस्तै हुदैनन् ।

सरकार भन्छ बिदेशिएका नेपाली हरुले पठाएको रेमिट्यान्स बाट हाम्रो मुलुक धानिएको छ । समाज भन्छ त्यो दुखको कमाई हो । कमाइ सुखको कहाँको हुन्छ र ? बिकशित मुलुकमा गएका नेपाली हरुले पनि मेहनत गरेकै छन् । सुती सुती पैसा कुनै देशले पनि दिन्दैन । तुलनात्मक रुपमा बिकशित देशमा भन्दा अरवमा शारीरिक मेहनत कम गर्नुपर्छ बरु फेरी पनि त्यहीं को जिन्दगि तेश्रो दर्जाको अब त समाजले अरव लाइ हेर्ने र अरवमा काम गर्ने श्रमजीवी हरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने कि ?

अहिले देश चलेको छ हली हरुको मेहनतले, खलाँसी हरुको ईमान्दारीताले र अरवमा काम गर्ने हरुको विप्रेषणले तसर्थ यी तिनै वटा पेसा हरुले उचित सम्मान पाउनुपर्छ भन्ने मान्यता राखौं र कर्मबिर हरुलाई सम्मान गरौँ ।

दुर्गा पंगेनी

कोई टिप्पणी नहीं