साला हिरो पल्टिन्छ !!
माइक्रो बसको ढोका देखी हुत्तिएकी उ अगिल्लो सिटको कुनामा वसेको मेरो शरिरलाई स्पीडव्रेकर वनाउदै रोकिइ । अनि लामो श्वास तान्दै हल्का मुस्कान छाड्दै वोली ‘सरि’ ।
‘ओ केही छैन । विना घच्चा आफु खुशी यात्रा गर्न त आफनै कार हुनु पर्छ । यत्तिको त सामान्य हो नी ’ । मैले पुरै दाँत नदेखाइ उसलाई क्षमा गरें ।
‘युवतीको घच्चा भएर होला तपाइ यस्तो साधु भएको ।’ उसले मेरो सदासयताको मजाक उडाइ । अनि मस्त हासी । राम्रोसंग उसको अनुहार समेत नदेखेको मैले मुन्टो वटारेर उसको दोहोरो आङको खाइलाग्दो ज्यानमा माथि देखि तल सम्म हेरें र भनें । ‘सिलौटाले लोहोरोको पिसाइलाई सहन सक्छ तर सिलौटाले लोहोरोलाई पिस्यो भने के हुन्छ?’
उसले कुहिनाले हान्दै ‘ह्याआ जे पायो त्यही’भन्दै आँखा तरी । खै के बुझी । तर यो मोटी केटीको अगाडी मेरो लिखुरे ज्यान सिटको कुनातिरै हराइराथ्यो । खासमा मेरो गुनासो त्यतै तिर थियो ।
‘खै रासिफल हेरम न ’ मेरो हातमा भएको पत्रिका नमागेर तान्न थाली ।
‘कुन राशी हो मै हेर्दिन्छु .....। ज्ञान बढ्ने रे’
तपाइको चाही के रैछनि?
किन मीन राशी हुँ भन्नु नि । मैले सर्रर हेरेँ । रमाइलो यात्रा लेखिएको राशीफलवाला राशी आफनो भएको दावी गरेँ । र भने ‘मिल्छ कि क्या हो’ ?
‘मिलिगो नि । म संग यात्राभो नि त ।’ केटीले हनिटस खानुपर्ने गरि खोकी ।
‘काँ जान लाग्या तपाई?’ चिनजानकै मान्छेलाई जसरी सोधी ।
‘न्यूरोड’
‘क्याम्पस ?’
‘होइन’
‘अफिस ?’
‘अँ’ प्रश्न माथि प्रश्न आउन थाले पछि च्याप्टर बन्द गर्न गन्तव्यको जिज्ञासा समापन गर्दै सोधेँ ‘तपाई नि?’
‘भद्रकाली । एसएलसीको प्रोविज्नल पुगेन भनेर लेख्या रछ । त्याँबाट भक्तपुर जानु छ ।’ख्वारख्वारती रेकर्ड फाइल देखाइ । नागरिकता अलि लामो समय देखाई । सिन्धुलीकी पोखरेलकी छोरी । जन्म मिति २०४४ साल ।
‘आर्मी क्याडेटमा एप्लिकेसन हालेकी छौं कि कसो ?’
‘हो’ म पट्टि हेर्दै नहेरी ठाडो जवाफ फर्काइ ।
‘नागरिकताको जन्ममिति हेरेर तिमी भनेको । आपत्ति त छैन नि?’
‘कति छिटो हेर्न भ्याको त ?’मख्ख परी ।
‘बहालवाला हौ ?’
कुमारीपाटीबाट यति कुरा गर्दा माइक्रोवस जावलाखेल पुग्यो । म नागरिक पढेर त्यसलाई वाल नदिएको जस्तो गर्न थाले ।
‘ओ दिदीअलि पर सर्नुस न ।’ खलासीेले हप्कायो ।
उ मज्जैसंग सरी । मेरो मुखबाट ऐया आवाज निस्कियो ।
‘तिमी सरेको हो की मलाई भmयालबाट बाहिर निकाल्न खोजेको ?’
फेरी मस्त हासी । पागल.......।
उसले थर सोधी नाम सोधिन । मैले पनि सोधेको कुरा मात्र बताएँ । ‘पोखरेलहरु तपाइहरुको के पर्छन’ भनेर सोधी ।
‘मैले कुरो बुझिन’ ।
प्रश्नलाइ प्रष्ट पार्दै मावली, बुढोमावली ससुराली के पर्छ भन्या क्या भनेर बुझाइ । आफनो पोखरेल थर गरेका नातेदार खोज्दा उसले दिएको वैकल्पिक उत्तर मा नभेटेकोले ‘नन अप mएभव’मा चिन्ह लगाएँ । उसले चाही खै कताकताको फुँदा जोडेर नेपालहरु हाम्रो सोल्टा पर्छन भनी । अव हास्ने पालो मेरो थियो । त्यो पनि दाँत नदेखाइकन ।
माइक्रोबस बागमती पुलमाथि हरियो बत्तिको प्रतिक्षामा रोकिएको छ । मेरो देव्रो हात उचालेर आफनो काखमा राख्दै भनि ‘के को खत हो यो ?’
‘खै सानै मा पोलेको रे । म ४ वर्षको हुँदा उम्लिरहेको खोलेमा हात डुवेको भन्नुहुन्थ्यो आमाले ।’
‘औषधी पाउछ नि यसको । मेरो त जानलागि सक्यो’ आफनो निधार तिर देखाइ उसले । खासमा उसको निधारको खतभन्दा रेवनको कालो चस्मा मन परयो मलाई । उ भन्दै गइ ‘निधार नै फुट्या छ त्यही भएर होला अहिले सम्म ब्या नभाको ।’
बिहे भाको रैनछ । छिप्पड... ।
अनि किन त बिहे नगरेको ?
खै र तँलाई लैजान्छु, बिहे गर्छु भन्ने कुनै हुत्तिहारा आका हैनन् । उल्टै मै पाल्छु भन्दा पनि गति लाग्दो एउटै
पाको हैन ।
‘विपिले भेट्नु पथ्र्यो तिम्लाई’?मैले सिपाइ कथा सम्झिएँ ।
‘को विपी?’
तेसका वाजे । बिपीलाई पनि चिन्दिन यो केटी ।
बस माइतिघरबाट अगि बढ्दैछ । खलासीले भाडा उठाउदै आयो । केटीले भाडा तिरी । कुइरे सिस्टममा ।
‘झर्ने बेला भइसक्यो है’?
‘अँत’ । मैले भनेँ ।
‘अँ साँचि । एउटा कुरो सोधम’?
‘किन एउटा नि दुइटा सोधन’ ।
‘आर यू म्यारिड अर अनम्यारीड’?
म एक छिन रोकिँए र भने, ‘म्यारिड’
‘आ..होइन होला’ उसले आशंका गरी ।
‘किन ढाँट्नु ?’ म इमान्दार टोपलिए ।
‘साँच्ची सोध्या क्या’उसले पत्याइन ।
‘आरएनएसी, बीरहस्पिटल झर्नुस है । अव रत्नपार्क मात्र रोक्छ’ । खलासी केटो करायो ।
‘म यही झर्ने हो’ म सीटबाट उठ्दै थिएँ।
‘को को न पछि लाग्ला जस्तो’उसले थोरै घुर्की लगाइ ।
ढोकाबाट ओर्लेर पछाडी फर्केर हेरेको केटीले खाउँला जसरी हेरी र भनी ।
‘साला हिरो पल्टिन्छ’ ।
मैले दिएको २० रुप्पेबाट भाडा कटाएर ५ को नोट फिर्ता गर्दै खलासीले ढ्याक् ढ्याक ढोकामा हान्यो । माइक्रोवस रत्नपार्क तिर अगि बढ्यो ।
http://www.alagparibes.blogspot.com
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें