अपडेट

धोती र टोपीबीचको लडाइँले हामी सबै नेपाली एक दिन धोती न टोपीको हुन्छौँ।

- धोती र टोपीबीचको लडाइँले हामी सबै नेपाली एक दिन धोती न टोपीको हुन्छौँ। 

-- म मानव हुँ, महिला हुँ, एसियन हुँ, साउथ एसियन हुँ, नेपाली हुँ, मधेसी हुँ, जनकपुरको यादव हुँ! म मानवताका लागि लडाइँ गरुँ कि जात र वर्गका लागि? ल तपाईं नै भन्नुहोस्, सकारात्मक सोचका लागि हामी तलबाट माथि जाने कि माथिबाट तल ओर्लने? मेरो मधेसीपन, मधेसी संस्कार, मधेसी संस्कृति र यादव थर कसैले खोसेर लान सक्दैन तर अरु धेरै कुरा छन् जो हराएर, बेचिएर, टुक्रिएर जान सक्छन्। मलाई मधेसी हुनुमा धेरै गर्व छ तर त्योभन्दा पनि बढी गर्व नेपाली हुनुमा छ।

-- अहिले तराईमा भइरहेको घटनाले मन रोइरहेको छ। स्वाधीनता, राष्ट्रिय एकता र सार्वभौमसत्ताको नाममा देशमा कतै मानवीयता त हराएको छैन? जनतालाई ढाँट्ने, देश चिर्ने, जातीय विखण्डनतर्फ लाने, टुक्र्याउनेखाले काम अब पर सारौं। त्यस्ता व्यक्तिलाई समाजबाट तिरस्कार गरौँ। संसार फैलने क्रममा भए पनि नेपाल भने खुम्चने क्रममा अघि बढिरहेछ।

-- मधेसमा अधिकार प्राप्तिको आन्दोलन चलिरहेको छ तर नागरिकको मागप्रति सरकारको संवेदनशीलता देखिएन। के मधेसमा बगेको रगतको कुनै मूल्य छैन? के मधेसी नेपाली होइनन्? उनीहरुमा पनि नेपाली आमाकै रगत बगेको छ। रगत नेपालीकै हो चाहे त्यो हिमालमा बगोस्, मधेस वा पहाडमा बगोस्। यदि तपाईं सच्चा नेपाली हुनुहुन्छ भने यो समय चूप लागेर बस्ने होइन। उत्पीडितहरुको पक्षमा आवाज उठाउनु हाम्रो दायित्व हो, चाहे त्यो जुनसुकै वर्ग होस्।

-- हुन सक्छ, केही मधेसी मूलका नेताको सोच नेपाली छैन होला तर यो बुद्ध जन्मेको देशमा लासको राजनीति कुनै हालतमा सही छैन। १७ हजारले ज्यान गुमाए र अझै गुमाउँदैछन्। त्यसको बीउ रोप्नेहरुलाई के भन्ने? आन्दोलनमा मर्ने त आखिर सामान्य नेपाली जनता नै हुन्। भोलि यो आगो अन्त पनि नसल्केला भन्न सकिन्न। कहिले सिमाना, कहिले धर्म, कहिले जातका लागि नेपालमा कहिलेसम्म रगतको खोला बगाउने? यो कस्तो लोकतान्त्रिक अभ्यास?
श्रोत: रविन्द्र मिश्र को फेसबुक।

कोई टिप्पणी नहीं