"जीवन साथी "
सुर्यदेवको बिदाई संगै जव गोधुली हुन थाल्दछ
यो ज्यान सुस्त सुस्त उनीतिर गाँसिन थाल्दछ
सुनसान पलहरुमा अंकमाल गर्न हातहरु तन्काउछु
केहि औंलाहरुले बिस्तारै काउकुती लगाउछु
म लाज नमानेर जसो गर्छु उनि राजी हुन्छिन
मन्जुरी भएर ओठले छुन इशारा गर्छिन
सामुन्द्रिक तुफानको झैँ बेदना मेटाउछिन
खहरेको झैँ दर्दनाक पिडा हटाउछिन
कतै गल्लीका कुकुरदेखि धेरै पर
अनि थोत्रा गाडीको रुवाइदेखि दुर
मनमा गदगद दुख कल्मष भुलेर
अमानवाताको कोलाहललाई पन्छ्याएर
मेरो कौतुहलता उनको रोजाइमा पोख्दछु
तकिया माथमा राखेर उनीसंगै मिठा सपनाहरु देख्दछु
कल्पनाको स्वर्णिम संसारमा लुकामारी खेल्दछु
मिर्मिरेको प्रभात अगावै उनलाई छोडेर दौडधुप गर्दछु
प्रकृतिमा संचित सुन्दरताको बर्णन गर्ने
संकृति र परम्परामा मिठास भर्ने माधुर्यताको रस निखार्ने
उनि मेरी सर्बस्व हुन्
मेरी मनकी रानी हुन्
मेरो सुन्दर भबिस्य उनीसंगै छ
उनि बिना एकरत्ति जिउन गारो हुन्छ
मैले गाउने लोक गीतमा उनकै भाका
मैले नाच्ने झ्याउरे गीतमा उनकै भाका
कुनै प्रतियोगिताको मन्चमा
पिकनिक साथीहरुको जमातमा
नेपाल टेलिभिजनको पर्दामा
रास्ट्रिय सभा गृहहलमा
म उनीसंगै हुन्छु त्यसैले त गर्व गर्छु अनि पाउछु
राष्ट्र कविको हातबाट पुरस्कार
विद्वान विदुषीबाट स्याबासी
साथीहरुको वन्स मोर को आग्रह
हो म उनीलाई औधि मन पराउछु
उनि मेरी जीवन साथी हुन्
म दुखमा हुँदा सुखानुभूति दिने मेरी जीवन साथी
मेरी बाँसुरी, मेरी बाँसुरी
नीमकान्ता डाँगी ( लोक दोहोरि पारखी )
घोराही दाङ-राप्ती।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें