अपडेट

लोक संस्कृतीको अभीभावक गुमेकोमा वेखवर लोक संगीतकर्मी हरु



पुरानो वर्षको अन्तिम दिन डोटी मा दुखद जिप दुर्घटना भयो, नेपाली लोक संस्कृतीले आफ्नो गतिलो उत्खननकर्ता र अभिभावक समेत गुमायो तर अहिलेका प्राय लोक संस्कृतीका ठेकेदार हरु वेखवर रहे, लोक संस्कृतीमै दोहोरो विद्यावारिधी हासील गरेका प्राध्यापक जयराज पन्तको मृत्यु कुनै पनि लोक संगीत र संस्कृतीका अहिलेका अग्रज भनाउदाहरुको लागी समाचार सम्म बनेन। अचम्मको कुरा त के भने कतिपय लोक संस्कृतीको सर्वेसर्वा हुँ भनेर दावी गरिरहेका हरुले प्रा. डा. जयराज पन्त लाई चिन्दै नचिनेको समेत पाईयो, हार्दिक श्रद्रान्जली लोक संस्कृतीका धरोहर प्राध्यापक जयराज पन्त प्रति...

पहिलो पटक ३० को दशकमा डोटेली लोकसंस्कृति र साहित्यका विषयमा राष्ट्रिय स्तरमा चर्चा सुरु भयो। २०३२ सालमा देवकान्त पन्तले 'डोटेली लोकसाहित्य : एक अध्ययन' नामको पुस्तक प्रकाशन गरेका थिए। त्यो नै डोटेली लोकसाहित्यका विषयमा लेखिएको पहिलो पुस्तक थियो। 
डोटेली लोकसाहित्यको उजागरमा त्यसपछिको ठूलो श्रेय प्रा.डा. जयराज पन्तलाई जान्छ। उनले डोटेली लोकसंस्कृति र साहित्यका विविध पक्षलाई केलाएर अध्ययन/अनुसन्धान गरेका छन्। प्रकाशन गरेका छन्। र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्च, गोष्ठीहरुमा प्रस्तुत गरेका छन्। यसैले धेरैजसो सुदूरपश्चिमेली लोक साहित्यिक क्षेत्रमा संलग्न व्यक्तिहरुले उनलाई डोटेली लोकसंस्कृतिका 'धरोहर' भन्ने गर्छन्।

यिनै प्रा.डा.पन्तको मंगलबार राति डोटीको जिजोडामान्डौमा भएको जिप दुर्घटनामा निधन भएको छ। उनको निधनबाट पूरै लोकसाहित्य क्षेत्र स्तब्ध बनेको छ। 'पन्तले डोटेली लोकसाहित्य तथा नेपाली लोकसाहित्यलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्या उनुभएको छ। उहाँ लोकसाहित्यका नक्षत्र हुन् भन्दा अत्युक्ति लाग्दैन,' डोटी बहुमुखी क्याम्पसका प्राध्यापक एवं डोटेली भाषासाहित्यका ज्ञाता डा. बद्री शर्मा बिनाडी भन्छन्, 'उहाँको निधनले आम लोकसाहित्य तथा भाषासहित्यको क्षेत्रमा अपुरणीय क्षति पुगेको छ।'

प्रा.डा. पन्तले दुई विषयमा विद्यावारिधि गरेका छन्। पहिलो, पटना विश्वविद्यालयबाट 'कुमाउँनी र डोटेली लोकगीतको तुलनात्मक अध्ययन' विषयमा, अर्को डोटेली 'फाग'(मांगल) मा त्रिभुवन विश्वविद्यालयबाट।

प्रा.डा. पन्तद्वारा लिखित 'पोल्टाभरि सगुन, अँजुलीभरि फाग' २०५५ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको थियो। उक्त कृति डोटेली लोकसंस्कृति र साहित्य क्षेत्रमा सबैभन्दा ठूलो र बृहत कृति रहेको सुदूरपश्चिम साहित्य समाज धनगढीका अध्यक्ष रामलाल जोशी बताउछन्। 'उहाँको त्यो कृतिमा डोटेली लोकसाहित्यका सबैजसो विधा डेउडा, चैत, धमारी, भोलाउलो, भैनी, ढुस्को, होरी, घरगीत, बैरा, न्याउल्या, चाँचरी, पुतलो, सबाई, हुड्केली आदि समेटिएका छन्,' उनी भन्छन्, 'यसले डोटेली लोकसंस्कृति र लोकसाहित्यको बृहत तथा समष्टिगत अध्यनन गरेको छ।' पाँच सयभन्दा बढी पृष्ठको पुस्तकले डोटेली लोकसंस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको अध्यक्ष जोशी बताउँछन्। योसँगै प्रा.डा. पन्तका डोटेली लोकगाथा, हुड्केउली, शैलेश्वरी माहात्म्य लगायत एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

पन्तले हुड्केउली, चैत, धमारी लगायत डोटेली लोकसंस्कृति झल्किने खालका अध्ययन जापान, अस्ट्रेलिया, अमेरिका तथा हङकङ लगायत देशमा भएका विभिन्न कला गोष्ठीमा प्रस्तुत गरेको डोटी बहुमुखी क्याम्पसका प्राध्यापक डा. बिनाडी बताउँछन्।

डोटी जिल्ला जिजोडामान्डौ–८ जैनोलीमा २००९ सालमा जन्मेका पन्तले नेपाल र भारतका कलेजमा अध्ययन गरेका थिए। अध्ययनपछि पहिले कैलाली बहुमुखी क्याम्पसमा पढाएका पन्त हाल काठमाडौंको पद्मकन्या क्याम्पसमा कार्यरत थिए।

नयाँवर्षका अवसरमा आफ्नो जन्मथलोमा विशेष पारिवारिक पूजा गर्न सपरिवार जिजोडामान्डौ जान लागेका बेला घरभन्दा करिब दुई किलोमिटर वर भएको जिप दुर्घटनामा उनको निधन भएको छ। उनको साथमा रहेका पत्नी गुड्डी, भाइबुहारी साबित्री पन्तको ज्यान गएको छ। उनीहरु दुवै पद्मकन्याकै प्राध्यापक हुन्। साथै, काका डा. गणेश पन्त र भाइ केशव पन्तको पनि घटनास्थलमै मृत्यु भएको छ।

कोई टिप्पणी नहीं