अपडेट

"उनी एकल आमा" ~ जुनु रानाको कविता




उनी एकल आमा
समाजले रोपेका काडाँहरुमा
उनका सपनाहरू
पाईलैपिच्छे रोपिन्छन्
रोपिइरहन्छन्।
कतै उनी हाँसेको देखे भने
‘हेर न हेर,
ऊ त्यसरी छिल्लिई बस्छे’, भन्छन्
नयाँ केही चिज लगाएको देखे भने
“पक्कै नराम्रो काम गरी
र त किन्न सकिहोली,
नत्र उसको के हुति छ र, ”
भन्छन्, किनकी
उनी एकल आमा...!
अनि अलिक रातिमा कतै गएमा
“ऊ त्यसरी हिड्नु मन हुँदो हो
र त एक्लै यसरी रमाउँदी हो
मोजमस्ती चाँहदी हो र त
एक्लै बस्न मन पराउँदी हो,”
उनलाई यस्तै भन्छन्।
यस्तै यस्तै अनेकन लान्छना हरदिन
आईरहन्छन किनकी,
उनी एकल आमा....!
हर पाईला पाईलामा
हाम्रो समाजका एकल महिलाले खेप्नु पर्छ।
आजको,
एक्काइसौं शताब्दीको युगमा पनि
एकल आमा
एकल दिदी
एकल दिदीबहिनी
सदियौं पुरानो रितिथिति
र नियमको नाममा प्रताडित हुनु पर्छ।
तर जानेर पनि अबुझ र नदेखे झैं
हाम्रा समाजका नजरहरु बन्छन्।।
एकातिर आफ्नो जिन्दगीको सवाल
अर्कोतिर हजारौं प्रश्नहरुको हुल
छोराछोराको भविष्य बोकेर
रातदिन
रगत पसिना नभनी घोटिइरहने उनी
सुनेर पनि हिड्नु पर्ने उनको बाध्यता।
तथापि
उनी कसैलाई केहि गुनासो गर्दिनन्।
छोराछोरीको जिम्मेवारी
निभाउन आफ्नो कर्तब्य मान्छिन।

हरपल उनले आफ्नो पिडा
लुकाएको देख्ने न्युन हुन्छन्।
अन्ततः
यो युग र आधुनिकताको विषय होईन।
यो समाजले पालनपोषण
गर्दै मलजल गरेर जीवित
पारिरहेको एउटा विषादीको बोट हो।
जसलाई निर्मुल पार्न
हरेक घरघरका आमाहरूले
आफ्ना सन्ततीलाई
उचित शिक्षा र चेतना दिनु नै
आजको आवश्यकता हो।।
अनि मात्रै
एक्ला आमाहरूको लागि काँडाहरु
बिस्तारै बिस्तारै लोप हुनेछन्
अनि मात्रै उनका अचेत रहरहरु
फेरि ब्युँतने छन्
र फेरि फुल्न सक्नेछन्।।
क्रमशः
जुनु राना।

कोई टिप्पणी नहीं