अपडेट

मेरो भ्यालेन्टाईन



मेरो दिनचर्या नै बनिसकेको थियो, साँझ खाना खाईसकेपछी Mig33 मा मस्त रहने, Mig33 त्यसबेला किशोरकिशोरी माझ एकदमै लोकप्रिय बनिसकेको थियो। जुन च्याट गर्ने एप्लिकेशन थियो। त्यसबेला फेसबुक कमै मान्छे चलाउथे। म पनि त्यसबेला फेसबुकमा छिरिसकेको थिईन। त्यसैले गर्दा पनि म त्यसमा बढी व्यस्त हुन्थे।
Mig33 मा धेरै च्याटरुमहरु हुन्थे। त्यसमा नयाँनयाँ मान्छेसँग कुरा गर्न पाउनुले यसलाई आकर्षक बनाएको थियो।  त्यसबेला त्यसको क्रेज यति थियो +२ पढ्नेदेखि कलेज पढ्ने विद्यार्थीहरु बाटोमा हिड्दापनि यसैमा च्याट गर्न मस्त रहन्थे।

करिब साँझको ७:३० भएको थियो खाना खाई दाँत माझिसकेपछि Mig33 खोले। त्यहाँ Angel_abhaa33 भन्ने अकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आएको रहेछ। केटिको फ्रेन्ड रिक्वेष्ट आएको देखेर मनमा लड्डु फुट्यो र एकछिन  ढिला नगरी एक्सेप्ट गरे।
उ अनलाईन नै रहिछे 'Hi' भन्दै म्यासेज गरे, उताबाट नि 'hlw' भन्दै जवाफ आयो।
तिमिले मलाई चिन्छौ भन्दै सोधे अनि उसले नाँई भनी।

फेरि सोधे मेरो ID कताबाट पायौ? च्याटरुममा देखेको र ID ईन्ट्रेस्टिङ लागेर रिक्वेष्ट पठाको कुरा बताई।
उसको ID बाट थाहा भैसकेको थियो कि उसको नाम  आभा रैछ त्यहिपनी कुरा अगाडि बढाउने बहानामा उसको नाम सोधे। उसले आभा रेग्मी भन्दै जवाफ पठाई।

वाओ! कति राम्रो नाम भन्दै म्यासेज गर्दे। मलाई राम्रोसँग थाहा थियो कि केटिहरुको नजिक हुनलाई उनिहरुको तारिफ गर्ने कुनै मौका छोड्नु हुन्न भनेर फेरिपनि उसको नाम नै मलाई मन परेको थियो।
धन्यवाद :) भन्दै फेरि उसले मेरो नाम सोधि। मैले सम्राट पाण्डेय भनेर जवाफ फर्काए।
अनि मैले तिमी कताबाट नि भन्दै सोधे। उसले मोबाइलबाट नि भन्दै जिस्किदो पाराले भनी।
मैले very funny :D भन्दै उ बस्ने ठाउँ सोधे। उसले पोखराको बगरमा बस्ने कुरा बताउदै म बस्ने ठाउँ सोधी।
मैले पोखरा एयरपोर्ट नीर बस्छु भने।
त्यसपछी हामीबिच सामान्य जानकारी आदानप्रदान भयो जस्तै: वास्तविक घर कुन जिल्ला, कतिमा पढ्ने, कुन बिषय पढ्ने, कुन कलेज पढ्ने आदि।

त्यस्तै सामान्य कुराकानी हुँदाहुँदै रात छिप्पिसकेको रहेछ।  उसले अहिले ढिलो भयो भोलि बिहान छिटो कलेज जानू छ म गए  भन्दै बाई गुड नाईट ह्याभ स्विट ड्रीम भनेर म्यासेज पठाई। मैले पनि गुड नाईट सी यु भन्दै जवाफ दिए र बिस्तरा मिलाएर निन्द्रादेबिको शरणमा गए।

बिहान उठेर नित्यकर्म सिध्याए। बिहानको ५:३० भईसकेको थियो अनि झोला उठाएर कलेज गए। बसमा यात्रा गर्ने क्रममा आभासँग भएको कुराकानी मनमा खेलिरह्यो उसको बाहिरी बनावटको बारेमा विभिन्न आकृतीहरु कोरे। कलेजबाट फर्केर खाना खाए।
          साँझ Mig33 खोले र आभाको प्रतीक्षामा बसे।
उसलाई अनलाईन देख्ने बित्तिकै hey लेखेर म्यासेज पठाए। सन्चो बिसन्चो सोधिसकेपछी उसले के गर्दै थियौ भन्दै सोधी। मैले जिस्किदो पाराले तिमिलाई नै सम्झिदै बसिराथे भने। अनि उसले हाहा भन्दै कति जनालाई भनिसक्यो यो कुरा भन्दै जवाफ फर्काई।
मैले फेरि जिस्किदै आज तिमिलाई मात्रै भनेको हो प्रमिस भने।
अनि उसले के हो मिस्टर तिमी त फरवार्ड रैछौ नि :) भनी।
मैले पनि हाहा लेख्दै म्यासेज फर्काए। त्यतिकैमा १०:२५ भईसकेको रहेछ मोवाईले ब्याट्री लो भाको संकेत देखायो त्यहिपनी केहिबेरसम्म च्याट गरे र फोन अफ हुन लागेपनी उ र म छुट्टियौ।

अर्कोदिन फेरि Mig33 खोले र उसको ID को छेउमा कति बेला हरियो चिह्न देखाउछ भन्दै कुरिरहे तर उ त्यसदिन अनलाईन आईन। चुरोट पिउने मान्छेलाई चुरोट पिउन नपाउदा कत्तिको बेचैनी हुन्छ मलाई पनि उसँग कुरा गर्न नपाउदा त्यस्तै भैइरहेको थियो। हुन त उ सगँ परिचय कुरा भाको केही दिन मात्रै भएको थियो तर उसँग कुरा गर्नु मेरो लत भैसकेको रैछ। थाहा थिएन त्यो कुलत थियो या राम्रो लत।
त्यतिकैमा मेरो कलेजका साथी अनलाईन रैछ उसले मलाई Oye भन्दै म्यासेज गरेको रैछ मैले नि 'अँ भन' भन्दै जफाव फर्काए र त्यस्तै समान्य कुराकानी बिच हाम्रो छुटिने सल्लाह गर्यौ र म Mig33 बन्द गरि सुते।

अर्को दिन फेरि आभासगँ कुराकानी भयो र उसले हिजो पढाईमा  अलि व्यस्त भएर अनलाईन नआएको जानकारी दिई। उसगँ च्याट गर्ने क्रममा मेरो फोनको घण्टी बज्यो। घरबाट बुवाको फोन रैछ। उठाएर कुराकारी गरे। बुवासँग कुराकानी गरिसकेपछि फोन हेर्दा उसले  ३/४ वटा म्यासेज गरेकि रहिछे। उसँको अन्तिम म्यासेज थियो 'के हो सम्राटजि गलफ्रेण्ड सँग ब्यस्त हो ;) ?'
मैले सरि भन्दै बुवाको फोन आको जानकारी दिए। उसँलाई त्यसरी ईष्या भईरहेकोमा म मनमनै मख्ख थिए। तिमिलाई नै मेरि बनाउन भनेर अहिलेसँग भगवानले मलाई सिंगल राखेका छन भन्ने मन त थियो तर मनलाई सम्हाल्दै 'कहाँबाट गलफ्रेण्ड हुनु कसैले पत्याए पो :D ' भन्दै म्यासेज पठाईदे।
उसले झुट बोल्न हुन्न है महोदय फेरि नरकमा पनि ठाउँ नपाईएला भन्दै जिस्कि। तिम्रो कस्सम कहाँ झुट बोल्नु भन्दै म पनि जिस्किए। उसले bye भन्दै म्यासेज गरेपनी उसँग अझै एकघण्टा अझै कुरा भयो। कस्तो अचम्म! कोहि मान्छेसँग hi भनेको ५ मिनेटसम्म पनि कुरा हुन सक्दैन कोहिसँग bye भनेपनी घण्टौ कुरा हुदो रहेछ। सायद यसैलाई नै माया भन्छन मान्छेहरु।

केहीदिन कुराकानी पश्चात् हामी एकदमै नजिक भईसकेका थियौ। त्यसपछी मैले हाम्रो  सम्बन्धलाई नयाँ रुप दिने तयारी गरे। मैले उसलाई प्रणय दिवस अर्थात भ्यालेन्टाईन्स डेमा भेट हुनको लागि अनुरोध गरे। म उसँलाई पोखरा लब्ली हिलमा बोलाउने तयारीमा थिए। लब्ली हिल त्यसबेला तन्नेरीहरुका लागि प्रसिद्ध डेटिङ स्पट थियो तर उसँलाई अफ्ट्यारो महसुस होला भनेर मैले पोखरा फेवाताल नजिकै बसुन्धरा पार्कमा बोलाए।

१४ फेब्रुअरी २०११, अर्थात हाम्रो सम्बन्धलाई नयाँरुप दिने दिन। उसँग भेट्ने कुराले मेरो खुसिको ठेगान नै थिएन। मान्छेहरु नमरी स्वर्ग देखिन्न भन्थे तर मेरो लागि आभासँग भेट्ने कुराले लाग्दै थियो कि यहि नै स्वर्ग हो। आभालाई ११ बजे भेट्न बोलाएको थिए।  बिहानको ९:३० भईसकेको थियो, जाडोको महिना भएकाले पानी तताएर नुहाएँ। नुहाईसकेपछी अनुहारमा फेएर ह्याण्डसम दले, कपालमा तेल लगाए र शरीर भरी पर्फ्युम छरे। १०:१५ बसुन्धरा पार्क जानको निम्ति फेवाताल पुग्ने सिटिबस चढे।
मनमा उत्साह चरम उत्कर्षमा थियो उसँलाई भेट्न। उ मेरो सपनाकी राजकुमारी जस्तै थिई या बेग्लै थिई भन्ने उत्सुकताले मेरो मस्तिष्क घुमिरहेको थियो। जिवनको पहिलो प्रेम बिशेष त हुन्छ नै। उसँलाई भेट्ने हतारले गर्दा उसलाई बोलाएको समय भन्दा २० मिनेट अघि पार्क पुगेछु। म त्यही पार्कमा कुरेर बसिरहेको थिए। उसँलाई पर्खिदा मेरो हालत पखाला लागेको मान्छेलाई शौचालयमा पालो कुर्दा जस्तै भईरहेको थियो।
करिब ११:३० भएको थियो। त्यसबेलासँग पनि आभाको अत्तोपत्तो भएन। मैले पार्कमा मसँगैै पढ्ने मेरो एकदमै मिल्ने साथीहरु आयुष र रेशमलाई मतिर आउदै गरेको देखे। मैले केही कुरा बुझिरहेको थिईन। मेरो दिमाग शून्य भएको थियो। उनिहरु म भएको ठाँउमा आए। रेशमले ओए साले हामिलाई नभनी डेटिङमा आको तँ ? हाम्रो हुनेवालालाई भाजुलाई हामिसगँ भेटाउन्नस भन्यो। मैले पनि मुलाहरु केही काम पाएनौ तिमिहरुले भन्दै झोक्किए।
उनिहरुको कुराहरु कानले सुनिरहे पनि दिमागसम्म पुगिरहेको थिएन। मन र मतिष्कले आभालाई नै खोजिरहेको थियो।
mig33 मा म्यासेजको नोटिफिकेसन देखायो र म्यासेज हेरे। आभाले "निलो जिन्स र कालो ज्याकेटमा तिमीलाई क्या दामी देखिएको छ" भन्दै म्यासेज गरेकी रहिछे। मैले त्यो म्यासेज देख्ने बित्तिकै आखाँ यताउता दौडाए तर आभाले आफ्नो बारेमा बताए अनुसारको केटि मैले त्यहाँ देखिन। फेरि मैले तिमि कता हो तिमी आधा घण्टा देखि कुरिराछु भन्दै म्यासेज पठाए।
म तिम्रै छेउमा त बसिराछु कस्तो नचिनेको भन्दै उताबाट रिप्लाई आयो। मैले मेरो साथिहरु तिर हेरे, आयुषले मुसुकुराउदै फोनमा केही टाईप गरिरहेको थियो। मलाई केही शंका लाग्यो।
मैले आयुषको हातबाट उसको फोन खोसे। त्यो फोनमा Angel_abha33 अकाउन्ट  बाट Mig33 चलिरहेको रहेछ। Angel_abha33 आयुषको फेक अकाउन्ट रहेछ। उनिहरुको प्लान सफल भएकोमा अनिहरु खुसी हुँदै थिए।
त्यो देख्ने बित्तिकै म छाँगाबाट खसेजस्तै भए। मेरो सपना जुन आभासँग जोडिएको थियो त्यो टुक्राटुक्रा भयो। मेरो जन्मिदै गरेको प्रेमको भ्रुण हत्या भयो।
त्यसपछी साथिहरुसँग मलाई उल्लु बनाएकोमा बेस्सरी रिसाए अनि घर फर्के।

'फेक अकाउन्टसँग प्रेममा फसेकाहरु प्रती समर्पित।'

~सन्दीप बस्याल मालुंगा स्याँड•जा

कोई टिप्पणी नहीं