अपडेट

बान्थोके दाई, मंगली भाउजु र भगवानले दिएका कुरा

 


~हाम्रो गाममा बान्थोके भन्ने यौटा सार्की परिवार बस्छ ।त्यही परिवारको घरमुली हो बान्थोके दाई। "बानेथोक देउराली" डाडा बाट बसाँई सरेर आएको भएर छोटकरीमा उ "बान्थोके" भएको हो ! सोझो स्वाभाव भएको बान्थोके दाई हाम्रो गाउको एक्लो हली हो । विहान उठेर हिलो कट्कटीएको जाँगे पटुवाको रस्सीले कसेर "बर्जु" हरुका घरतिर निस्कनु जदौ गर्नु र झुकेर निहुरमुन्टी लाग्नु उसको दैनिकी हो ।

अत्यन्तै रुखो बोली भएकी श्रीमती थिईन बान्थोके दाई की ! मंगलबार जन्मेकी भएर उनको नाम "मंगली" रहेको हो रे ! तर मंगली भन्ने उनको "सराप्ने नाम" थियो । मलाई अझै संझना छ चौरमा गुन्द्रीको तानमा बसेर पराल उन्दै हतासो ठोक्दै गरेकी "बान्थोकेनी" लाई मैले मंगली भाउजु भनेर बोलाउदा नराम्रो संग रिसाएकी थिईन ! साह्रै फोहोरा शब्द प्रयोग गर्दै "म जन्मदा हेर्न आका थ्यो र काँठा" मेरो न्वारन अर्चौ ए बाउन ! भनेर हकारेकी थिईन ..! मंगली भाउजु रिसाएको थाह पाएपछी मेरो सातो गएको थियो । पेखु तिर उकालो चढ्दै गरेको म पत्ताचोट ओरालो लागेको थिएँ कुसुण्डेको चौर बाट डुम्रीकोट तिर ।

हलललल काला गींजा देखाएर हास्ने मंगली भाउजु लगातार चिलीममा भुक्कड भरेर सल्काईरहन्थीन या सिगरेट तन्काईरहन्थीन । बान्थोके दाई आडैमा बसेर पुलुपुलु मंगली भाउजुले सिगरेट सल्काएको हेरीरहन्थ्यो । चिलीम हो भने दुई तिन सनक तानेपछी बान्थोके लाई दिन्थीन मंगली तर सिगरेट हो भने आधा भन्दा निकै तल पुगेपछी बान्थोकेको पालो आउथ्यो । श्रीमती ले दिएको सिगरेट सनक्क तानेर धुवाँ उडाउथ्यो बान्थोके । त्यो समयमा उसको अनुहारमा गजप किसीमको खुशी छाउथ्यो र आँखामा बेग्लै चमक आउथ्यो ।

विष्ट हरुलाई बाटोमा देख्दा चार हात छेउ तिर तर्केर बाटो छाड्नु लाई बान्थोके दाई आफ्नो धर्म संझन्छ । विष्ट हरुको आँगनको डिल लक्ष्मण रेखा सरह हो उसको लागी । अत्याबस्यक नपरी आगनमा पाईलो राख्दैन उ । आगन छेउछाउ काठका ठुटा या मुढा राखीएका छन भने बाटो हिड्दै गर्दाको बान्थोके ले दुईचार फक्लेटा पार्दिन्छ । दाउरा ठुलो भए बल्दैन ! नबलेर विष्टनी हरुले धुँवामा आँशु चुहाउलान भन्ने कत्रो पिर छ उसलाई... । दाउरा चिर्दिएको मा उसलाई धन्यवाद सम्म कसैले भन्दैनन । तै पनि बाटो हिड्दा या अरुनै काममा हिड्दा पनि बाटोमा आफ्नो "बालीघरे विष्टको" जुनसुकै काम परेपनि खुरुक्क गर्नु उसको नियमीत कर्म जस्तै हो ।

धानका बोरा मिल सम्म पुर्याउनु, रुखको घाँस झार्नु, अड्केको बाँसको टाँगो छुटाएर घाँस समेल्नु र घाँस को भारी गोठ सम्म ल्याउनु, भकारो सोहोर साहर पारेर सोत्तर ओच्छ्याउनु अनी साँझ भात खाएर घर फर्कनु उसका हिउदे काम हुन । वर्खामा खेत बारी र हल बाट फुर्सद हुदैन तै पनि यि बाहीर ईतरका टिपन टापन काम उसकै भागमा पर्छन सधैं ।

सबै विष्ट हरुकोमा बान्थोकेको लागी अलग्गै खाना खाने थाल छुट्याईएका छन । आफुले जोत्ने गोरुको भकारो माथी पट्टी छानाको भाटामा थाल घुसारेर सुरक्षीत राख्छ उ ।कुच्चीएको आल्म्युनियम को थाल,उस्तै यौटा कचौरा र पानी खाने अंखोरा मा घुमिरहेछ बान्थोकेको दैनिकी । वर्ष भरी काम गर्छ बान्थोके र त मंगली बाली उठाउछे । त्यही बाली ले उनीहरुको गर्जो टार्नु पर्छ वर्ष भरीको लागी । अचेल भने बान्थोके "बाली" मा भन्दा "निमेक" मा बानी परेको छ रे ! आज काम गरेको आजै नगदै या जिन्सीमै तत्कालै ज्याला बुझ्नु लाई "निमेक" गर्नु भनिन्छ । "निमेकमा नाफा छ अव बालीमा काम गर्न सकीन्न जोतेको पैसै माग बुडा" भनेर मंगली ले नै सिकाएकी हुन । सगर्व सुनाउछ बान्थोके दाई ।

भगवान प्रति अगाध आस्था छ बान्थोके दाई र मंगली भाउजु को । कहिले काँही कसैले यसरी बर्षै पिच्छे सन्तान नजन्माउन सल्लाह दियो भने कति सजीलै "भगवानले दिनुभयो हाम्ले त हात थापेको मात्र हो" भन्दिन्छन उनिहरु । मानौं भगवानले दिएका ति वर्षै पिच्छेका संतान उनीहरुका ठुला उपलब्धी हुन । कहिले काही भने आजीत हुदारहेछन क्यारे "क्यार्नु भौमानले दिएसी नाई भन्न नसकीनी हात थाप्नै पर्यो" भन्थे । भगवानले ति सन्तान जवरजस्ती उनलाई थमाईदिएका हुन या खुशी खुशी उनीहरुले हात थापेका हुन त्यो बुझ्न गाह्रो थियो मलाई त्यो बेलामा । अहिले भए कुरा बुझ्दोहुँ ।

समय वित्दै गयो । उनिहरुकी जेठी छोरी तेह्र वर्ष जती की थिई उजेली भन्ने । मनक्कै काली थिई केटी तै पनि नाम भने उजेली राखेकी थिईन मंगली भाउजुले । एक दिन अचानक उजेली हराई । पछी उजेली उसकै फुपुको घर तिर भएको थाह पाएपछी मंगली ले बाह्र वर्ष जतीकी उजेली की बैनी माईली लाई लिन पठाईछन । उजेली लाई त कुटुम्व ले बुहारी बनाएर राखीसकेका रहेछन । दिदी लिन गएकी माईली पनि फर्केर आईन ..! कुटुम्मको आँखा परेपछी यस्तै हो । बढेको माल जिम्मा लाउनु त पर्थ्यो नै । बेलै मा गए ! ठिकै छ "भगवानको मर्जी यस्तै रैछ" क्यारम तनी ...! हो यसै भनेर फेरी पनि चित्त बुझाए बान्थोके दाई र मंगली भाउजुले । त्यो उनीहरुको लागी त्यत्ती वेखुशीको कुरा पनि थिएन ।

उमेर छउन्जेल वर्षै पिच्छे सुत्केरी हुन परेको सकस ले झोल्लीएकी छन मंगली भाउजु । उनले लगालग ९वटा सन्तान जन्माएकी हुन अरे । दुईटा बच्चा च्यांदी खोलाले बगाएको हो मलाई थाह छ । त्यो बेला बान्थोके दाई साह्रै निरास भएका थिए । धेरै समय सम्म हराएका छोराछोरी खोजेर हिंडे उनी । खै कसरी हो सानो भुन्टे लाई डोर्याउदै खेत तिर झरीछे रे काली । खोलो कत्रो छ भन्ने मेसो नपाएका ५ र ६ वर्षका काली र भुण्टे खोलो तर्न खोज्दा बगेको अनुमान सबै गाम्ले ले लगाए । ति केटकेटी बगेर हराउदा डेढ दुई वर्षको यौटा बच्चो काखमा भएकी मंगली भर्खर सुत्केरी भएकी थिईन क्यारे । दुईटा केटकेटी हराएको हराएई भए । बान्थोके दाई ले पुलीस गुहारे । गल्याड• को बुटवल पावर हाउसले बनाएको आधीखोलाको ड्याम सम्मै खोजे सबै मिलेर । तर केट्केटीको नामो निसान भेटीएन ...! बान्थोके ले आश मारे ।

"भगवानले यस्तै चाहेका रहेछन कसो गरम त" भनेर चित्त बुझाए बान्थोके दाई र मंगली भाउजु ले ।

म गाउमा हुँदा उनको सबैभन्दा ठुलो छोरो "बान्थोके साने" म जत्रै थियो । पछी उसले पनि बा को विंडो थाम्यो । विष्ट हरुको बालीघरे हली बन्यो । म काठमाडौ बाट छुट्टीमा घर जाँदा "साने" ले माटो मुछ्ने गाह्रो लगाउने लगायतका घर बनाउने मिस्त्री काम सिकेको थियो । डकर्मी काम नपाउदा जोत्नु नत्र घर बनाउने काममा विहानै निस्कनु उसका दैनिकी थिए ।

पछी बान्थोके सानेले मोबाईल पनि किनेछ । ओखलढुंगा तिरका मिठो बोल्ने केटी हरुको नंबर कता बाट पाएछ । उनीहरु लाई फोन गर्ने रातभरी मिठा गफ गर्ने अनी विहान आफ्नो मोबाईलमा भएको ब्यालेन्स त्यै केटीलाई ट्रान्सफर गर्दिने अचम्मको दोष्तीमा बानी परेको थियो साने ! पछी उसले आफ्नै साथी की श्रीमती लाई भगायो रे भन्ने कुरा सुनियो । त्यतीन्जेल बान्थोकेको घर बनिसकेको थिएन । कुसुण्डेको डाडो मुनीको सेपीलो बारीमा बान्थोकेको यौटा कटेरो थियो । विचमा चुल्हो, चुल्हा माथी लामा लामा मासुका लाम्टा झुण्ड्याएर सुकुटी बनाएको र त्यै चुल्हाको ओरीपरी चार पाच वटा ओच्छ्यान .. । हो यत्ती थियो उनिहरुको सृष्टी ।

सानेले श्रीमती त ल्यायो तर राख्ने ठाँउ भएन । जसो तसो त्यो दिन टौवा मुनी सुतेर कटाएछ । यसै त सुहागरात उनीहरुको लागी नौलो कुरो थिएन तै पनि पुरानो लोग्नेको भन्दा सानेको दुखको भवसागर ठुलो मानेर होला तिन चार दिनमा उसकी दुलही पोईला गई । फेरी फेरी पनि सानेले विहे त गर्यो तर कुनै पनि केटी हप्ता दिन उ संग बसीन होला । यौटी फोनमा पट्टीएकी त राती नै उठेर हिडी भनेर हललल हास्थ्यो साने ..! उसले विहेलाई कहिल्यै गम्भीरता पुर्वक लिएन ।

घर नभएसम्म दुलही अड्याउन सकीन्न साने ... यौटा सानो घर बना ..! साहु नरहरी बाजेले दुलही अड्याउने जुक्ती सिकाएछन । ऋण चाईए दिम्ला केटा ...घर त चाईन्च ....!! बुडा ले दिएको सल्लाह साने लाई गजपको लागेछ । साहु बुडाका दाजुभाई कै बालीघरे थियो बान्थोके । अलीअली त ज्वानखोले हरुले पनि देलान । तिन घर बाट दश दश हजार ऋण लिएर बान्थोके साने घर बनाउन जुट्यो । घर बनेपछी त स्वास्नी कसो नअडीएली र ..! मनमनै मख्ख पर्यो साने ..! उ आफै डकर्मी थियो । काठ विष्ट हरुले दिए । बाँस मागेजती पायो । टिन लाई ऋण ज्वानखोले मास्टर बा ले दिए गारो लाई पुग्ने साहु जेठा कान्छा मिलेर दिए हेर्दा हेर्दै बान्थोके को घरमा टिनको छानो टल्क्यो । टिनको छानो हेरेर मंगली मख्ख परिन बान्थोके दाई तुरुक्क रोयो ।

घर बनाएर सकीदा नसकीदा साने विमारी भयो । उसको अनुहार फुस्स फुलेर आयो । सुन्नीएर मोटाए जस्तो गाला थलथल भए । पेट सुन्निएर आयो । डुम्रीकोट बाट ईत्ती उकालो लाग्दा स्याँ स्याँ भएर उसको सास आरनको खलाँती झैं हुन थाल्यो । पिसाब वेलामा नहुने खाएको उल्टी हुने भएपछी साने लाई अस्पताल लगीयो । हेल्थपोष्ट मा धुर्व डाक्टरले जाचे र ओखती दिए तर सेक विसेक केही लागेन । आजीत भएर साने लाई पोखरा लगे । गण्डकी मेडीकल कलेजमा पुगेपछी थाह भो सानेका दुबै मृगौलाले काम गर्न छोडेका रहेछन । डाक्टरले तुरुन्तै डायलोसीस सुरु गर्नुपर्छ पैसा लिएर आउनु भनेपछी बान्थोके दाई साने लाई लिएर घर गए । कति पटक डायलोसीस गराए थाह भएन तर त्यसको केही महिनामा सानेले यो संसार बाट विदा लियो । बान्थोके दाई र मंगली भाउजु खुब रोए पुत्र वियोग मा । फेरी एक पटक दैवले उनीहरुमाथी बज्रपात पार्यो । के गर्नु यस्तै लेख्या रैछ भनेर फेरी चित्त बुझाए उनीहरु ले ।

अचेल धेरै समय भयो म गाउमा गएको छैन । पहिला पहिला भेट हुँदा बान्थोके दाईको म संगको आशा भनेको त्यै "यौडा बत्तल लोक्कल रौसी" किन्न पुग्ने चालीस रुप्पे हुन्थ्यो र मंगली भाउजुको पाँच रुप्पे पर्ने देउराली या पाईलट चुरोट को बट्टा हुन्थ्यो । जतिवेला पनि खुशी भईरहने बान्थोके दाई यत्रो बज्रपात पछी पनि त्यसरी नै मुस्कुराईरहेको होलान की ? घरी घरी तुरुन्तै पुगेर भेट्न पाए हुन्थ्यो झैं हुन्छ । मलको डोको र डोको माथी निमेक को पोको अनी काखमा दुधे बच्चो लिएर च्यांड•दी खोलाको किनारै कीनार हास्दै हिड्ने दुई जिउ की मंगली भाउजुको दैनीकी कति फेरीयो होला ? संझेर ल्याउदा छाती चरक्क हुन्छ ।

~दुर्गा पंगेनी । २०-अप्रील-२०१७