अपडेट

Antipathy


हाम्रा बा का चारवटा श्रीमती या नी मेरा चार वटा आमा : साँझमा छोराछोरी सबै निदाईसकेपछी आमा हरुले बा का गोडामा चिल्लो घस्थे ! त्यसरी चिल्लो घस्ने आलो पालो बाडीएको हुन्थ्यो घरमा । हजुरआमा वितीसकेको कारण कुन श्रीमतीको कुन दिन पालो पर्ने भन्ने कुरा बा आफै तय गर्नुहुन्थ्यो । सायद हजुरआमा जिउदै भैदिएको भए कुन वुहारीले कुन दिन छोरालाई चिल्लो घस्ने भन्ने तय गर्नुहुदोहो तर हजुरआमा स्वर्गे भैसक्नुभएको थियो तसर्थ साँझ चिल्लो बनाउने कुरो र पालो मिलाउने जिम्मा बा'ले कान्छीआमा लाई दिनुहुन्थ्यो सायद । त्यसैले कान्छीआमाको चिल्लो घस्ने पालो धेरै पर्थ्यो र अरु आमाहरुको अक्कल झुक्कल मात्र पर्थ्यो ! त्यही रुटीन अनुसारका हामी छोराछोरी पनि अनुपात मै छौं ! प्राय सातै दिन चिल्लो घस्ने कान्छीआमा तिर सात जना छोराछोरी ! कहिलेकाही मात्र पालो पाउने मेरी आमा पट्टी हामी दुई दिदीभाई अनी विरलै पालो आउने दुईटी आमा तिर कुनै संतान छैनन ~!
॰॰॰॰॰
मैले हेला भन्ने शब्द त्यती बेला सुनें जुन बेलामा मलाई यो शब्दको अर्थ र मर्म समेत थाह थिएन । चालीस या बयालीस साल तिर हुनु पर्छ । म त्यस्तै पाँच सात वर्षको हुँदा । मेरी आमा भन्दा म २५ वर्ष कान्छो थिएँ । म पाच सात वर्षको हुँदा आमाको उमेर तिस या बत्तीस बर्षको हुनुपर्छ । त्यस बेला म भन्दा पाच वर्ष जेठी मेरी दिदी म भन्दा केही बुझ्ने थिईन दश बाह्र वर्षकी । बा ले प्राय आमा लाई चिच्याएर गाली गर्थे र तथानाम भन्थे । मेरा मावली हजुरवा लाई समेत सराप्थे । "ए धर्मेकी छोरी ! जा तेरा बाउ संग मागेर ल्या" भनेर चिच्याउथे !त्यो बेलामा म केही कुरा बुझ्दिनथें ! आमा करेसामा बसेर रोईरहन्थीन सुक्क सुक्क! पछी मैले थाह पाएँ मेरा मावली हजुरबा को नाम धर्मागत रेग्मी रहेछ ।
॰॰॰॰॰
बा ले छुट्याईदिए हाम्लाई ! घरको आडैमा भएको गोठको कटेरो बारबेर पारीन आमाले ! एकापट्टी भैंसी बाध्ने भकारो अर्को पट्टी हाम्ले भात पकाउने चुल्हो । तै पनि आमा खुशी भईन कीन हो मलाई थाह भएन ! अव त केटाकेटी लाई मैले नै पकाएर खुवाउछु कान्छी ! भोकले त नमर्लान ! बरु निमेक गर्छु ... पल्लाघरकी सेती दिदी संग यस्तै केही भन्दै पिंढीमा लिपपोत गरीरहीन आमाले । सेतीदिदी हाम्री आमाकी दुख सुखकी साथी हुन । माईत तिरका नाता पनि हुन । कहिले काही उनीहरु संगै बसेर रोएको पनि देखेको छु । माईती संझेर रुदाहुन की ..! दिन भरीमा हाम्रो घर तयार भयो । बेलुकीको खाना आमाले पकाएर खुवाईन । आमाले पकाएको खानाको मेरो त्यही पहिलो गास थियो ।
॰॰॰॰॰
हामी छुट्टै बस्यौं । बा कै छत्रछाया मा । आगन एउटै छाना दुईटा बनाएर । हाम्रा बा सदरमुकाम तिर अड्डामा लेखापढीको काम गर्थे । मेरा मावली हजुरबा ले ज्वाई लाई आफु संगै राखेर सिकाएको काम हो रे अड्डाको लेखापढी । कहिलेकाही बा ले आमा संग ससुरा ले सिकाउनु भएर त अहिले खुट्टो टेक्याछु केटाकेटी पाल्याछु भनेर गुन बखान गरेको पनि सुन्थें तर अधीकांश समय तेरो बाउ धर्मे !ए फटाह की छोरी भन्थे बा ले । घर पछाडी काभ्रोको रुख थियो । आमा धुरु धुरु रुन्थीन त्यै रुखको फेदमा बसेर, रुखबाट झरेको पात च्यात्दै टुक्रा पार्दै गर्थीन । च्यातीएको पातको नसा मात्र हातमा रहेपछी त्यसलाई नियालेर हेर्थीन र फ्यात्त फाल्थीन ।यसरी रुदा आमाले किन त्यो पातलाई त्यसरी च्यात्थीन मैले अहिले पनि बुझ्दीन ।
॰॰॰॰॰
हामी अलग्गै बसेपछी पकाउने खाने भाडाकुँडा बोकेर मावल बाट कान्छा मामा आउनुभएको याद छ मलाई । 'धर्मे ले दिन्छ' भनेर बा ले केही दिएनन । मावल बाट भाँडा त आए तर पानी राख्ने भाडो भएन । विहानै सेतीदीदी लाई केटाकेटी हेरेस है सेती भनेर हिंडेकी आमा साँझ आईन । उनीसंग बडेमान्को घैंटो थियो । यी पानी अव यसैमा राख्नी हो चिसो पनि हुन्छ गर्मीमा ...आमाको आँखामा खुशी चम्कीरहेको थियो ।चाप्कोट पुगेर आयौ दिदी ? सेत्दीदी ले विस्फारीत नजरले हेरीन आमालाई ! क्यारम त ? दुकुरें ! लखतरान भाईछु । केट्केटीले केही खाए? भनेर सोधीन आमाले । चापाकोट हो आमाको मावल ! हाम्रो बुढो मावल !हजुरबा हजुरआमा हुनुहुन्छ त्यहा । चापाकोटमा ठुलो कुमाल गाउँ छ । घैंटा त कती सस्तो कती । छांड•छाड•दी बजारमा चार रुप्पे पर्नी घैंटो दुई रुप्पेमा पाईन्छ रे । त्यै दुई रुपीया पनि थिएन आमा संग र त मावल पुगीन यौटा घैंटो लिनलाई । म धेरै वर्ष पछी गएँ चापाकोट । विहान सबेरै हिडेका हामी दिदी भाई राती मात्रै पुग्यौं रमेश मामा संगसंगै हिडेर पनि । मेरी आमा विहान हिडेर चापाकोट पुगेर कसरी फर्कीन घैंटो बोकेर ? छोराछोरी लाई जसरी पनि पानी खुवाउने दृढ ईच्छा शक्तीले या बाध्यताले बेत्तोड दौडायो मेरी आमा लाई ?
॰॰॰॰॰॰
लुर्के बा ले फैसला सुनाए ! "छुट्टीएर बस्ने लाई पाच मुठी चामल र दुई माना नफलेको कोदो दिने हो । काम सगोल कै गर्छे ..!" भनेर । छानों र मानों अलग्गै भएपनि हाम्री आमाले सगोलकै काम गर्नुपर्ने भो । बदलामा बा ले दैनीक दुई माना कोदो र पाच मुठी चामल दिने भए । केटाकेटीको पेट भरीन्छ त्यती भए ....आमा केही बोलीनन । छुट्टीएर पनि सुख नहुनीभो सेती ...हो यसै भनेको सुनेको थें बेलुका ।लुर्के बा भनेका हाम्रा बा का "सेन्दाई" हुन तिन पुष्ता भित्रैका । हाम्रो गाउँका भलाद्मी पनि हुन । पछी उनी पक्षाघात ले थलीए धेरै वर्ष र मरे । पापी सुख संग मर्दैन सेती देखीस ! भनेर खुसुक्क कुरा काट्थीन आमाले सेतीदिदी संग । मेरी आमाको विपक्षमा फैसला गरेर ठुलो अन्याय गरेका थे लुर्के बा ले त्यसैले उनी थलीए । यो अटुट विस्वास थियो मेरी आमाको ।
॰॰॰॰॰॰
दिन भरी आमा काममा जोतीन्थीन । मल ओसार्ने, डल्ला फोर्ने, रोपाई यस्तै कामको चटारो परिरहन्थ्यो । अर्म पर्म गर्नुपर्ने । अरुको मेलामा जाँदा आमाले दिउसो दिएको खाजा बचाएर ल्याउथीन । पुवा,भुटेका मकै ईत्यादी हुन्थे खाजामा ! त्यै खाजा आउछ र केटाकेटी ले खान पाउछन भनेर पर्मको मेलोमा बढी खुशी हुन्थीन आमा । घरको मेलो गर्दा खेताला लाई खाजा दिन्थे ! मेरी आमा टुलु टुलु हेरीरहन्थीन ।
॰॰॰॰॰
एकदिन बा र कान्छी आमा विचमा जोडतोडले झगडा भईरहेको थियो । आमाले घरीघरी कान पल्लाघर पट्टी फर्काएर ठनास्दै सुन्थीन । म त केही बुझ्दिनथें ! के कुरामा कल परेछ महारानी संग ...हेर कस्तो हेपेकी ..! त्यती विधी अत्याचार सहेर पनि आमाले कसैले बा लाई हेपेको देखे दुख मान्थीन ।आफुलाई जतिसुकै अत्याचर गरेपनि बा को स्वाभीमान सधैं उचो होस भन्ने उनको चाहना थियो सायद। आज अचानक बा रिसाएर चिच्याउदै हाम्रो घर भित्र छिरे ।आमाले मलाई साँझको आटो खुवाउदै थिईन त्यही बेलामा बा ले घैंटो उचालेर मझेरीमा पछारे । घैंटोको पानीले मैले कचौरामा खाईरहेको आटो सर्लक्कै बगायो । दिदी कहालिएर रोई ! आमा हक्केबक्के भएर थचक्कै बसीन । बा आए घैंटो फोरेर गए ।त्यसपछी पल्लाघरको झगडा साम्य भयो । मेरो घैंटो नफोरे सम्म बस्न खान दिईन महारानी ले !पुरुषार्थ देखाएर घैंटो फोरे ! गुनीया भित्र छिर्नलाई ...हेर त सेती भनेर आमाले खुसुक्क सेत्दिदी संग कुरा काटीन ।जाबो गुनीयो भित्र छिर्नलाई बाले कीन घैंटो मझेरीमै फोर्न परेको होला । कमसेकम मेरो आटो त बच्थ्यो । मैले यस्तै कुरा सोचें । आमाले फेरी घैंटो फुटेको सम्चार मावल पठाईन । केही दिन पछी रमेस मामा अर्को घैंटो लिएर आउनुभो !
॰॰॰॰॰॰
दिदी म भन्दा धेरै बुझ्ने थिई । बा ले किन यसरी हेला गर्नुहुन्छ हामीलाई आमा ? एकदिन अनायासै दिदीले आमासंग सोधी । आमा अगेना मा आगो सल्काउने कोशीष गर्दै थिईन । दिदी मझेरीमा बसेर आमालाई सघाई रहेकी थिई । म फुटेको घैंटो सम्झेर टोलाई रहेको थिएँ ! मेरा बा छन्जेल यती हेप्थेनन । बा बितेपछी म हेपीएँ भनेर आमा एक्लै बर्बराईन । अलीकती पटुका फुकाएर मुखले टोकीन र आवाज नआउने गरी बेस्कन रोईन ए बा हअअउ ..काँ छौ मेरा बा भनेर ....! खासमा हजुरबा छउन्जेल मेरी आमालाई हेप्थेनन हेला गर्थेनन रे । जसै हजुरबा बित्नुभो अनी आमा माथी दुखको पहाड खस्न सुरु भएको रहेछ ।
दुर्गा पंगेनी ।