अपडेट

आजाद भिषा

मेरा एकजना काका छन दोहामा । मलाई निकै माया गर्ने भई टोपल्छन बुडा । म पनि समय विताउन त्यतै गईरहन्छु फुर्सद मा । एक त दोहाको केन्द्र मै छ काकाको अफीस दोश्रो कुरा काकाको अफीसमा बसेर गरेका गफगाफले घरको न्यास्रो पनि मेटीन्छ । त्यसैले पनि तरवार गेटको शनिबारीय फन्को मेरालागी फाईदाजनक नै हुन्छ ।
॰॰॰॰॰
लमतन्न परेर तेर्सीएको बैंक स्ट्रीट र त्यो हाईवे लाई उँधो पारेर ठडीएको तरवार गेट दोहाको शौन्दर्य थप्ने गहना हो । स्ट्रीट सोझै गएर समुद्र संग ठोकीएको छ कर्नेसमा । त्यही तरवारगेट लाई फनक्कै फन्को मारेर घुमेको पार्क र पार्क भरी फुलेका फुल हेरेर काकु र म सुस्ताउने गर्छौं । त्यही पार्क संगै जोडीएको घर मा छ उनको अफीस । हामी बाहिर बसेर अघाए भित्र छिर्छौं र भित्र बसेर मन भरिए बाहीर निस्केर हावा खान्छौं । एक किसीमको आनन्द र खुशीले भरीएको भेटघाट लाई हामीले कर्नेस भन्दा पर तन्काउन चाही नसकेकै हो । म त घुमौं काकु गाडी छदैछ भन्छु तर बुडा गाडीमा हिड्न भन्दा पार्कमा पल्टेर आकाश नियाल्नुमा बढी रमाईलो मान्छन ।
॰॰॰॰॰
शनिबारको दिन । विहानै फोन आयो । म सुस्ताउदै थिएँ ओच्छ्यान मै । अचानक काका ले फोनमा भने ..आज कफीको लागी दुध सकीएको छ दुध लिएर आएस ...! मलाई खासै जान मन त होईन । बाबैले संझेर बोलाईसके । पुगेर आउछु भो भनेर अल्छी मानी मानी निस्कीएँ । कहिल्यै एक्लै पार्क सम्म पनि नपुग्ने काका आज म पुग्नु अगाडी नै पार्क तिर पुगीसकेछन । मैले उनको दैलै अगाडी मोटर पार्क गरें । अफीस उघारेर हेरें सधैं झैं काकाको कम्प्युटर खुल्लै थियो । यतै होलान कतै नजिकै ...मैले फोन लगाएँ..! पार्कमा आईज कान्छा ..तँलाई केही देखाउछु ..! बुडाले उत्साहीत हुदै बोलाए । काकाको अफीस भएको घर बाहीर नजीकै हो त्यो तरवारगेटको पार्क । पैदलै बढीमा दुई मिनेट..। म हुर्रीएर पुगें ।
॰॰॰॰॰॰
म पार्कमा पुग्दा दश एघार जना भर्खरका केटा हरु संग मस्त गफ गरेर बसेका रहेछन काका । को हुन ति केटाहरु ? म अचम्म परें । खासै दोहामा भएका कोही मान्छेको संगत गरिहाल्ने खालका त हैनन काकु ! आज त बजारै जम्मा पारेका छन त गाँठे ! म नजीक पुग्दै गएँ । ति नयाँ युवा हरु कोही डंग्रङ्ग पार्क को दुबोमा पल्टेका । कोही बसेका कोही उभीएका ..! मैला लुगा, विहान उठेर नुहाउन पानी नपुगेर यसै पार्क तिर निस्के जस्ता । कता बाट भेटे बुडाले यस्ता जनता ? म अचम्मै परें !
॰॰॰॰॰
नजीकै पुगेर सबै संग हात मिलाएँ काकु लाई दर्शन गरें ! यीनीहरु आजाद भिषामा कतार आएका रे कान्छा । काकाले अचानक सुनाए मलाई । आच्या...आजाद भिषामा कतार ? नेपाली लाई त भिजीट सिजीट सप्पै बन्द गर्याछ सरकारले भन्ने सुनेको थिएँ। त्यहा आजाद भिषाको फेरीहस्त लगाईरहने जागर मलाई चलेन । जाम बुडा भित्र । कफी खाम । म पकाउछु । दुध ल्याछु मैले । किचलो बाट बाहिर निस्कने जुक्ती निकालें मैले । बुढाले टेरेनन । सुन न ..! आजाद भिषा मा आरैछन यिनेर्ले त ब्यापार विजनेस गरेपनि पाउछन हैन र ? बुडाले यसै नछोड्ने भए । मैले त्यहा उभीईरहेको यौटा भाईको प्रिन्ट गरीएको भिषा कपी मागें । टप फाउन्टेन कतार डब्लु एल एल भन्ने कम्पनिको वर्क परमीटमा लेवर क्याटेगोरीको भिषा रहेछ त्यो । मैले संझाएँ काका लाई । यहाँ यस्तै हुन्छ । सबै कम्पनि का लेवर भिषा हुन्छन । सोझा नेपाली हरुलाई आजाद भिषा हो भनेर दलाल ले फसाउछन काकु यो लफडामा नपरौं । भित्र जाम कफी खाम ...यहा अहीले पुलिस आए यीनेरु संग हाम्लाई समेत बटार्छ बुडा ...!
॰॰॰॰॰॰॰
म त्यहा बाट फुत्कने चेष्टामा थिएँ ! तरबार गेटमा नौलो भएपनि मुन्ताजा पार्क तिर त्यस्ता झुण्ड हरु देखेर र तिनीहरुको आर्तनाद सुनेर म आजीत भैसकेको थिएँ । दुई देखी तिन लाख रुपैया सम्म। तिरेर लेवर भिषामा दोहा आईपुगेका विचरा नेपाली दाजुभाईको पिडा सुनीसाध्य छैन । सुनेर केही गर्न सकीने पनि होईन । उनिहरुको पिडा सुनेर झन पिडीत हुनु भन्दा कुरै ननिकालौं भन्ने मेरो आशय थियो बुडा ले देखेको पहिलो झुण्ड भएर होला छोड्नै मानेनन । त्यसमाथी त्यै समुहमा काका कै गृह जिल्लाका दुई जना भाई हरु समेत फेला परे । अव नालीबेली नसुनी बुडा उठ्दैनन मैले कुरा बुझें र काका कै आडमा पलेंटी कसेर बसें ।
॰॰॰॰॰॰
बुटवलका एकजना रहेछन गौतम थरका भाई । उनको श्रम स्विकृती मा एक्काईस सय रियल तलव लेखीएको रहेछ । फाईल निकालेर देखाए । अझै सम्म श्रम कार्यालयले उनको मोबाईलमा पठाएको म्यासेज समेत डिलीट गरेका छैनन । दुई लाख तिरेर दोहा उत्रेका उनी आएको सत्र दिन भैसकेछ । ल्याउने मान्छे ले आज अन्तरवार्ता छ भन्छ गाडीमा हाल्छ कतै लैजान्छ कसै संग भेट गराउछ यै हो अन्तरवार्ता भन्छ र बाहीर आएपछी तिमी फेल भयौ भाई भन्दिन्छ । गौतम भाई अचम्म पर्दै सुनाउछन ..! खै कता भयो कसरी भो अन्तर्वार्ता ? फेल कुन आधारमा भएँ पास हुनी कसरी हो मेसो बाटो केही पाउन्न उनले । बास्तवमा त्यो एउटा फेक अन्तर्वार्ता हुन्छ जहाँ उनीहरुलाई फेल बनाउनै लगीएको हुन्छ काकु कुरो बुझ्नु न ..! म संझाउने प्रयत्न गर्छु । बुडा झन अचम्म पर्छन । फेल नै बनाउने भए किन लैजानु त अन्तर्वार्ता मा ?
॰॰॰॰॰
वास्तवमा अन्तर्वार्ता मा फेल पासको कुरा पनि बढो गम्भीर छ । दुई हजार रियल भन्दा माथी तलव भनेर फसाएर तिन लाख रुपीया खाएपछी त्यो तिन लाख पचाउन र आफ्नै कमजोरीले राम्रो जागीर नपाएको महसुस गराई एक हजार या आठसय रियल तलव भएको कुनै पनि काममा सेटल गराउन लाई नियोजीत रुपमा फेल गराउदारैछन दलाल हरु ले । लगातार चार पाच वटा अन्तरवार्ता मा फेल भएपछी जो सुकै ले पनि आफ्नो हैसीयत दुई हजारको जागीर खान सक्ने नभएको अनुभव गर्छ र आफैं सस्तो तलवमा काम गर्न राजी हुन्छ भन्ने दलाल हरुको सैतानी दिमागको चलखेल हाम्रा काका ले त बुझ्न सकेनन भने नेपालमा दलालले बाँडेका ठुला आश्वासनले रनभुल परेका नेपाली हरुले कसरी बुझ्न सकुन ।
॰॰॰॰॰॰
अर्का एक जना रहेछन स्याँड•जा फेदीखेला तिरका भाई । पोखरा महेन्द्रपुल नजिकै घडी मर्मतको काम गर्थे रे यता आउनु अगाडी । पाच सय देखी हजार रुपैया सम्म दैनिक कमाउने रहेछन नेपालमै । तर पैसा नबच्ने । दिनभरी कमायो साँझ ईत्ती झम्के झोल चिरीप्प पार्यो । सुक्रबार घर गयो सनिबार दिनभरी बुढी संग मयाँ पिरती लायो र आईतबार विहानै महेन्द्रपुल पुग्यो । यत्तीमा रमाईलो संग वितीरहेको थियो उनको दैनीकी । काका सोध्छन ...हैन कसरी आयौ त तिमी दोहा ? विचरा स्याँङ्जाली भाई आवेशमा आउछन ! के गर्नु दाई । आफ्नै ले फसाए । मेरो दिमाग भुटेको मेरै दिदी सासु (श्रीमती की दिदी) ले हो । तिन लाख बुझाएँ । खै कसरी फसें फसें आफै ले बुझ्दीन । ज्वाई दुई हजार तलव माथी ओभरटाईम पनि आउछ । खाना फ्री बस्न फ्री । यस्तो भिषा त कतै पाईन्न म संग पनि एउटा मात्रै हो भएको । मलाई पठाईदिनु भन्नेको भिड छ । मैले ज्वाई लाई पठाउनु पर्छ भनेर अरुलाई नपठाएको हो जाबो तिन लाख त हजुरले तिन महिना मै कमाउनुहुन्छ भनेर मुसारेको मुसारेई गरीन । यहा आउदा यस्तो छ अवस्था । दिदी सासुको मयाँजाल अपरम्पार सुन्न पाईयो । काका मात्र होईन म आफै अचम्म परें यस पटक भनें ! कसरी ठग्न सकेका दिदी ले बहिनी ज्वाई लाई ?
॰॰॰॰॰॰
यसपटक भने काका आबेशमा आउछन । ल फोन गर त तिम्री दिदी सासु लाई भनेर फोन सेट समेत दिन्छन । स्याँङ्जाली भाई दिदी सासुलाई फोन लगाउछन । दिदी यहा त कामै पाईएन । त्यत्रो पैसा तिरेर आएँ अव के गरम ? एकै सासमा सोध्छन विचरा भाई । उताबाट दिदी सासुको आवाज आउछ । ज्वाई हजुरलाई त अझ तिन हजार पैतिस सय को जागीर मा लिएर गएको थियो रे हजुर आफै अन्तरवार्ता फेल हुनुभएछ ...मैले के गरम त ? अन्तरवार्ता पास भए पो दिने हो त जागीर फेल हुने ले कसरी पाउछन त? दिदी सासुले जागीर नपाएको दोष विचरा त्यै ज्वाईको थाप्लोमा खन्याईदिईन । हो हुनपनि उ अन्तरवार्ता फेल भएकै हो ! अव के गर्ने त दिदी ! त्यो भाई निराश भएर सोध्छ ..जागीर पाउनुहुन्छ ज्वाई नआत्ती बस्नु ...यत्ती के सुनेका थिए अचानक आबेसमा आए स्याँङ्जाली भाई ...अँ तेरो नाठो बस्याछ यहाँ मलाई जागीर लगाईदिन लाई तेरीमा फुँडी ...! दिदी सासुलाई अचम्मै संग अपशब्द बोले ति भाईले अनी तुरुक्क आँशु चुहाए ! फोन काटीयो । फोन काटेपछी झन अपशब्द हरु बोलेर बर्बराउन थाले । त्यसैले फसाएकी हो !त्यसै ले गर्दा घरमा श्रीमती र बा आमाले भनेको समेत मानीन आज यो गती भयो मेरो भनेर भाईले ग्लानी गर्न थाले ।
॰॰॰॰॰
आजको दिन पुरै यस्तै रोदन सुनेर जानेभयो । भर्खर दुई जनाले आफ्नो कुरा सुनाए त्यो पनि छोटकरीमा । पुरै कहानी सुन्ने हो भने एकै जनाको कथाले दिन वित्ने अवस्था देखीयो । तेश्रो भाईको कुरा सुरु हुनु अगाडी एक जनाको फोन बज्यो । दलालको फोन रहेछ । कहाँ छौ तिमीहरु ? अर्को ठाउमा अन्तरवार्ता दिन जानु छ । ल चार जना मागेको छ तलव आठसय ..! बस्न कम्पनिले दिन्छ खानको लागी दुईसय अलग्गै ..काम सजीलो ..घर भित्र यसो क्लिनीड• को काम हो टिप्स पनि हुन्छ राम्रो काम गरे । ओभरटाईम पनि लाग्छ १५/१६ सय कमाई हुन्छ...दलाल ले आठ सय बाट कुरा सुरु गर्दा अध्यारिएका केटा हरुको अनुहार दलालको कुरा पन्द्र सोह्र सयमा पुग्दा उज्यालीदै आयो ! मैले अनुमान गरें आठसय तलवमा एग्रीमेन्ट गरेपछी कुन आधारमा यिनीहरुको कमाई सोह्र सय पुग्ला ?
॰॰॰॰॰
मलाई अर्को तनाव थपियो ! त्यो दलाल त्यही आईपुग्यो भने उसले ओढीराखेको गैह्र आवासीय नेपाली र समाजसेवीका दुईटै मुखौटा एकै पटकमा उत्रने निश्चित भयो । उसलाई मैले नचिनेको पनि होईन तर आज बदमास दलालको रुपमा पनि चिनेको जानकारी किन दिउँ जस्तो लाग्यो । केटा हरु आवेशमा आएका छन । आज ठोक्नुपर्छ दले लाई भनेर तातेका छन । नेपालमा भए जुलुस नै निकाल्थे होला । उनिहरुको आवेश बढ्दै छ ।हाम्रा काका ठोक्न नहुनी नियम पढाउदैछन केटा हरुलाई । हेर्दा हेर्दै अवस्था असामान्य हुदै गयो । दश एघार जना नेपाली एकैठाम !चर्को आवाजमा गरिएको गफगाफ र फोन संबाद अनी रोदन र आँशु ..! उफ ! पुलीस आयो भने पक्कै उठाउछ । कुरा कोट्याएर यी केटा हरुलाई रुवाएर पनि हामीले गर्न केही सकीदैन काका अव भने उठौं ..! यसपटक बुडा पनि आत्तिएछन क्यारे । हामी काका भतिज त्यहा बाट हिड्यौं ..दर्जनभर आजादे हरु र तिनीहरुका गुण्टा तरवार गेटको पार्कमा पल्टीरहे.. ।
ब्लग:
दुर्गा पंगेनी ।