अपडेट

डम्बरेको आखीरी ईमेल

कथा : डम्बरेको आखीरी ईमेल ।

मेरो साथी छ एकजना । मेरो रुम पार्टनर नै भन्दा हुन्छ । पछील्ला धेरै वर्ष उ संग एउटै घरमा डेरा गरेर बसेको थिएँ म । मेरो डेरा भुँई तल्लामा र उसको डेरा पहिलो तल्लामा थियो । एकदम रमाईलो र चन्चल बानी ब्यहोरा भएको मेरो मित्रलाई मैले कहिल्यै दुखी देखेको थिईन । उसको जिवनमा धेरै समस्या हरु थिए त्यो त म बुझ्दथें । तर उ कस्ता समस्याले घेरीएको छ भनेर विस्तारमा बुझ्ने मौका कहिल्यै मिलेन । उ कहिल्यै निराश नहुने मान्छे हो । हरेक समस्या जन्मदै समाधान पनि साथमै लिएर जन्मन्छ, बस हामीले मेहनत गरेर त्यो समाधान खोज्नु पर्दछ भन्ने भन्ने गर्दथ्यो उ जहिले पनि । उसको यो भनाईले मलाई अन्तर्मनमा छोएको थियो ।

पछील्लो समय एउटै घरमा बसेर पनि उसको मेरो भेटघाट र बातचित पातलिदै गईरहेको थियो । मलाई देखेर सधैं मुस्कुराउने डम्बरे अचेल अध्यारो मुख लगाएर अर्को पट्टी फर्कन्छ । फेसबुकमा पटक पटक के भयो भनेर सोध्ने चेष्टा गरें तर उसले जवाफ दिएन । एकदिन अचानक उसको म्यासेज आयो ... । तँलाई भन्नै पर्ने एउटा कुरा थियो यार धेरै लामो टाईप गरेंछु फेसबुक म्यासेन्जर बाट गएन ... । धेरै दिन देखी नबोलेको डम्बरको छोटो म्यासेज ले मलाई उत्साहीत बनायो । कमसेकम उसको मनमा कस्तो हुण्डरी चलिरहेछ भन्ने कुरा त बुझ्न पाउने भएँ... । ईमेल गर्दे यार धेरै लामो भएको भए ...! मैले उसलाई आईडीया सुझाएँ । उसले कहीलेकाही पत्रीकामा छपाईदे या ब्लगमा पोष्ट गर्दे भनेर टुक्रा टाक्री पठाईरहन्थ्यो । झ्याप्प याद आयो र ईमेल गर भन्दिएँ । त्यसको केही बेरमा मेलवक्स टुंङ्ग बज्यो र रातो थोप्लो पिल्पिलायो ..। डम्बरेको ईमेल आएछ ..जुन यसप्रकार थियो ।

आजसम्म यस्तो अनुभव भएको थिएन । मलाई माईग्रेन भयो की भन्ने लागीरहेको थियो । तर म निकै डिप्रेस्ट भैसकेको रहेछु । बेला बेला विना कारण रुन मन लाग्ने लगायत पुराना कतिपय साना साना गल्ती हरु संझेर पछुतो पर्ने हुन्थ्यो मलाई । तर आज अचानक मेरो मानसिक संतुलन नै खलबलिएको अनुभव गरिरहेको छु । साना साना असफलता हरुमा अत्यन्तै बढी आवस्यकता भन्दा बढी निरास भएको आभाष भयो । कसैद्वारा हेपीएको अनुभव मात्रले मलाई मरौं मरौं लागेजस्तो महसुस भयो । म निकै डराएँ ! मुटु सिरींग भयो जिउ फतक्क गल्यो र ढाड बाट तल तिर दुबै खुट्टा पिंडुलाको पछाडीको भाग बाट शक्ति क्षिण हुदै गईरहेको अनुभव भयो ।

घरिघरी मैले मर्नु हुदैन भन्ने विचारको झिल्को दिमागमा आएपनि अधीकांश समय म आफै डोरीमा झुण्डीएको दृष्य मेरो मानसपटल मा घुमीरह्यो । म ति दृष्य हरु बाट बच्नको लागी घरी टिभी हेरीरहेछु घरी काममा विजी हुने कोशीष गरिरहेको छु । काममा ब्यस्त हुदा र टिभी हेर्दा अथवा साथी हरुको समुहमा रहदा त्यस्तो मर्ने कल्पना नआए पनि एक्लै हुने वित्तीकै त्यस्तै दृष्य हरु दिमागमा घुमीरहन्छन ।

कतिपय नजानेरै अथवा लहैलहैमा लागेर गरिएका साधारण गल्तीको समेत आफैलाई ठुलो सजाय दिन मन लाग्छ । त्यसमाथी तिनै गल्ती हरु समातेर कसैले पटक पटक मलाइ चिमोटीरहेछन, पटक पटक मलाइ डराउन दिने पाराले तर्साई रहेछन । अनावश्यक तिनै कुरा हरु पटक पटक स्मृतिमा आइरहदा अब म बाँचेर भन्दा मरेर पो मनले शान्ति पाउछ की जस्तो अनुभव भईरहेको छ ।

छोरी हरुको अनुहार संझीन्छु । ठुली छोरीको अनुहारमा हाँसो नपलाउदै देश छोडेर हिडेको हुँ उसको सुनौलो भविष्यको लागी । अहिले उ १८ वर्ष पुगी उसको विहेवारी पनि गराउनु छ । सानी छोरीको अनुहार संझन्छु अनी उनीहरुको लागी मैले अझै केही त गर्नै पर्छ उनीहरु अझै आशावादी छन म प्रति जस्तो लाग्छ र म अझै बाच्नु पर्छ भन्ने सानों झिल्को फेरी मेरो दिमागमा झिलीक्क देखा पर्छ । केही बेरको लागी मेरो दिमाग बाट मर्ने खयाल हरु धुमील भएर जान्छन ।

कामको समय अत्यन्तै ब्यस्त हुनुपर्छ । कति सुनसान र डरलाग्दो छ मेरो अफिस पनि । सयौं मान्छे काम गर्ने ठाउँ हो तर फ्लोरमा मान्छे हिडेका जुत्ताको आवाज बाहेक केही सुनिदैन । कुनै अफीसको नजीक पुग्दा कम्प्युटरको किवोर्डमा बेत्तोडले दौडीरहेका औंला हरुको आवाज मात्र सुनिन्छ । कसैलाई कसैको मुखमा हेरेर बोल्ने फुर्सद सम्म छैन यो ठाउमा । गुड मार्निंगको जवाफ पनि कति छोटो दिन्छन मान्छे हरु । खिसिक्क हास्छन, अलिकति मुन्टो निहुर्याए जस्तो देखिन्छ त्यतिमै पर आफ्नो च्याम्बर तिर अलप भैसक्छ मान्छे । किन यति हतार मान्छे हरुलाई ?

साथि अगाडी पर्छ, म उसको अनुहारमा हेरेर मुसुक्क हास्ने प्रयत्न गर्छु । तर उ रफ्तारमा कतै गईरहेको हुन्छ । मलाई हेरेर हास्न समेत भ्याउदैन सायद । मलाई फेरी पिर पर्न सुरु हुन्छ ! आखीर किन हासेन त्यो केटो मलाई हेरेर ? म त मुस्कुराएको थिएँ ! त्यो मेरो भ्रम मात्र हुन सक्छ । उ हाँसेर पनि मैले देखीन अथवा म आफै मुस्कुराएको पो थिईन की ? यस्तै दोधारे मनस्थीती ले मलाई निकै पिडा दिन्छ । खाना खाने बेला त्यो साथि संग रिसाउछु । तँ ठुलो भईस भनेर कराउछु । उसले उ हतारमा हुँदा म हासेको समेत नदेखेको बताउछ र माफ माग्छ । मलाई फेरी पछुतो पर्छ । बेकारमा त्यो साथि संग रिसाएकोमा अपराध बोध हुन्छ र जिन्दगी देखी नै वाक्क लाग्न थाल्छ ।

हिजो स्ट्रिट ब्रिज बाट तल बाटोमा नियालेर समय बिताउछु भनेर गएको बाटोमा बेतोड दौडिरहेका गाडी हरु हेर्दा यस्तो लाग्यो मानौ तिनीहरुलाई पछाडिबाट कुनै प्रलयले लाखेटिरहेछ या कुनै कालले खेदिरहेछ । कहाँ पुग्न कुदेका होलान त्यसरी ? अन्तिममा पुग्ने ठाउँ त यौटै होइन र ? फेरी मरेर पुग्ने ठाउँको तर्कना पलायो मेरो मनमा, म आत्तिएँ, त्यहा पनि धेरै बेर बस्न सकिन र अर्डर गरिसकेको कफी छोडेर फर्कें ।

घर आएर गुगलमा एकजना मनोचिकित्सकको लेख पढें ।

म मा देखिएको लक्षण अति नराम्रो हो यसलाई “सुसाईडर हुनु” भन्छन, चरम डिप्रेसन भनेर लेखिएको थियो । त्यो पढेपछि म झन् आत्तिएँ । मैले त मर्नु हुदैन यार, मेरो अवश्था तलाई थाहा छदै छ । म अहिले मरें भने ..उफ्फ़ साह्रै एक्लै भएँ यार तँ आइज न आज मैले एक बोतल बार्डीनेट ल्याएको छु संगै बसेर खाइदिम भोलि जे त होला देखा जाला ।

उत्तिसाह्रो रक्सि नखाने डम्बरले निराश हुँदै रक्सि खान बोलायो । केटो किन यसरि आत्तिएको होला ? मेरो मनमा प्रश्नका चाङ्ग हरु थिए । तुरुन्तै उ नजीक पुग्न मन लाग्यो मलाइ । उसको साथमा बसेर उसले ल्याएको मदिरा पिउदै उसलाई सान्त्वना दिन मन लाग्यो र म पुगें डम्बर को कोठामा । तर म धेरै समय त्यहा बिताउन सक्ने अवस्थामा पनि थिईन । दिनभरिको कामको बोझले लखतरान थिएँ । आजै राति सक्याएर भोलि पेश गर्नेपर्ने केहि नया प्रपोजल हरु थाँती थिए । एकछिनमा भेटघाट सक्याएर फर्कन्छु भन्ने मनसाय बनाएर उसको दैलो उघारें । उसले रक्सि खाइरहेको थियो, काम बाँकी रहेको कारण मैले संगै रक्सि खान सकिन ।

प्रत्यक्ष भेट्दा उसलाई निकै गालि गरें, कराएँ । परदेशको ठाउँ परिवार सबै तेरो भरोषामा छन्, कसरि तेरो मनमा मर्ने कुरा पलायो? यस्तो पनि सोच्छन ? घर परिवार र छोराछोरी सम्झन पर्दैन? भनेर सम्झाएँ । तत्क्षण नै डम्बर को हाउभाउ फेरियो, जोडले हास्दै आफु ठिक रहेको बतायो । अझ अगाडी डम्बर भन्दै गयो घरीघरी ब्रम्हनाल संझन्छु । मान्छेका जिवनका अन्तिम पल हरु संझन्छु । बुढेसकाल संझन्छु । मेरो उमेर नै कति भएको छ र मेरो मनमा मृत्युका कुरा हरु आईरहेछन ! जम्मा ४० वर्ष लागें । मेरै उमेरको एकजना मान्छे भर्खरै फ्रान्सको राष्ट्रपति निर्वाचीत भयो । उसकी श्रीमती उ भन्दा झण्डै २५ वर्ष जेठी छन रे । विचीत्र विचीत्रका मान्छे देख्न पाईन्छ यो संसारमा । आफ्नै उमेरको त्यो मान्छेको कथा संझेर मन तरंगीत हुन्छ । संसारमा यस्ता धेरै कुरा हरु छन जुन कुरा देख्न या महसुस गर्नैको लागी पनि म मर्नु हुदैन । मेरो मन बाट मर्ने रहर को पारो घट्दै गईरहेको अनुभव हुन्छ र छाती सितलो भएर आउछ । आज डाक्टर लाइ भेटेर आएपछि मन हलुका हुदै गईरहेछ । अब म मर्दिन ।

म ल्यापटप ओच्छ्यान मै छाडेर कतिबेला निदाएँ पत्तै पाइन । ब्युझादा उज्यालो भईसकेको रहेछ । अचानक पहिलो तल्लाको सफाई कर्मचारी भाई अगाडी देखा पर्यो । बेत्तोड़ले दौडदै माथिल्लो तलातिर गयो । मान्छे हरुको कल्यांगकुलुंग आवाज हल्लाखोर मा परिणत हुदै गयो । त्यत्तिकैमा कोहि चिच्यायो ..पुलिसलाइ फोन गर पुलिसलाइ...! मैले बाहीर निस्केर हेर्ने हिम्मत जुटाउन सकीन । मेरा पनि हात गोडा फतक्क गलेर शक्ति क्षिण हुदै गईरहेको आभाष भयो ।

दुर्गा पंगेनी