अपडेट

डाक्टर मृगौला चोर हुन सक्छन-मेरो अनुभव

पहिले पहिले मृगौला रोग भनेपछि ठुलो रोग मानिन्थ्यो । मृगौलाको अपरेशन गर्नु लाइ मरेर बाच्नु सरह मानिन्थ्यो, अचेल समय फेरियो प्रविधिमा आएको परिवर्तन संग मृगौला रोग सामान्य बन्दै गएको देख्न पाइन्छ । अहिले मनमोहन अस्पतालमा एकजना बिमारीको मृगौला निकालिएको बिषय सामाजीक संजालमा अत्यन्तै जोर-स्वरका साथमा फैलिएको छ । केहि मान्छे हरु डाक्टरको बचाउमा देखिएका छन् भने केहि मान्छे हरु पिडितको पक्षमा बोलिरहेको देखिन्छ । आखिर किन निकालियो त पथ्थरीको अपरेशन गरेको बिमारीको मृगौला ? तेस्तो अफ्ट्यारो र जटिल परिस्थिती लाइ औषधी बिज्ञानले आफ्नै भाषामा परिभाषित गरेको होला तर मेरो अनुभवमा मृगौला रोग र उपचारमा आइपर्ने समस्या हरु त्यो उपचारमा संलग्न डाक्टर उपचार प्रति र बिमारी कति गम्भीर र जिम्मेवार छ त्यसमा निर्भर रहन्छ । कतिपय ठाउमा डाक्टर हरु बिमारी प्रति गम्भीर नभएको मैले देखेको र भोगेको छु । यहा मैले मेरा आफन्तको उपचार गराउदा भोगेका सास्ती र बेहोरेका दुख र बुझ्न नसकेका डाक्टर हरुको बारेमा केहि लेख्ने जमर्को गरेको छु ।

२०५८ सालको श्रावण महिनामा मेरो आमा बिमारी भएर मैले शिक्षण अस्पताल महाराजगंज लिएर गएँ । घुंडा दुख्ने रोगले ग्रसीत मेरी आमाको घुंडाको उपचार गर्दै जादा एक्सरे गर्ने क्रममा मृगौलामा पथ्थरी भएको शंका लागेर फिजियोथेरापिष्टले एकपटक युरोलोजीमा देखाएर मात्र अगाडी फिजियोथेरापी गर्ने सल्लाह दिईन । म आमालाई डोर्याएर युरोलोजी बिभागमा पुगें । त्यहाँ डा. भोलाराज जोशी विभागीय प्रमुख थिए उनैले अगाडी जाचेर अल्ट्रासाउन्ण्ड गर्न लगाए । अर्को चरण जचाउदा दुवै मृगौलामा पथ्थरी भएको कारण गम्भीर क्षति पुगेको, देब्रे मृगौलाले पूर्णतया काम नगरेको र दाहिने मृगौला भित्र पनि धेरै पथ्थर देखिएको साथै दुवै मृगौलामा हाईड्रोनेफ्रोसिस (मृगौलामा पानि जम्ने रोग) भएकोले तुरुन्तै बिमारी लाइ भर्ना गरेर उपचार सुरु गर्नुपर्ने सल्लाह दिए । बेड खाली रहेछ फिमेल सर्जीकल वार्डमा आमालाई भर्ना गरेर उपचार सुरु भयो । म आमालाई निको बनाएर घर लैजाने आशमा आमाको उपचार गराईरहें ।

दुवै कोखाबाट पाईप लगाएर एक महिना लगातार थैलीमा पानी झीकेपछी आमाको मृगौलाको अपरेशन गर्न मिल्यो त्यो पनि एउटाको मात्र । देब्रे मृगौला “फंसनल्ली डेड” भएको कारण पहिला दाहिने मृगौलाको उपचार गरेर राम्रो संग काम गर्न सक्ने भएपछी देब्रे मृगौला पुरै निकाल्नुपर्ने डाक्टरको निष्कर्ष थियो । त्यतिबेला शिक्षण् अस्पतालको युरोलोजी बिभाग मा प्रोफेसर भोलाराज जोशी, बिशेषज्ञ डा. गुणकुमार श्रेष्ठ (हाल मनमोहन अस्पताल), डा.प्रेमराज ज्ञावाली (हाल ग्राण्डी अस्पताल) र डा. उत्तम शर्माको टीम थियो शिक्षण् अस्पतालमा । मेरी आमाको अपरेसन गर्ने टीमको नेतृत्वमा डा. प्रेमराज ज्ञावाली रहेछन यो कुरा मैले मेरो आमाको अपरेशन अशफल भएपछिको छलफलमा थाहा पाएँ ।

अपरेशन पछी पोष्टअप वार्डमा आमाको रगत बिसाएन् । भोलि सम्म भन्दा भन्दै दैनीक दुइ पोका रगत जम्मा गर्न लगाउदै त्यो रगत दिंदै गर्न थाले डाक्टरले । के भएको हो के कारणले रगत नबिसाएको हो भन्ने कुरा ति डाक्टर हरुलाइ थाहा थियो तरपनि उनीहरुले अवस्था लाइ गम्भीरता पुर्वक लिएनन् । एकदिन गुण कुमार संग गुनासो गरेपछि रगत बिसाउने औसधि सिफारिस गरे जुन काठमान्डूमा पाइएन । मैले दिल्ली बाट त्यो औषधी मगाएं फेरी पनि आमाको रगत बग्न रोकिएन । मेरी आमा झट्ट हार नमान्ने किसिमको हुनुहुन्थ्यो । दुइ महिनामा लगातार ५५ पोका रगत चढाउन्जेल पनि डाक्टरले “कन्टिन्यु हेमाच्युरिया” हो ठिक हुन्छ भन्दै हामीलाई ढाडस दिंदै गरिरहे । अन्त्यमा तिनै गुण कुमार श्रेष्ठले अर्को एउटा एक्सरे गराउन सिफारिस गरे । एक्सरे पछी थाह भयो पथ्थर निकाल्न काटेको मृगौला खुल्लै छ । त्यहा स्टिच गरिएको छैन । यो कुरा पनि मैले सजिलो संग थाहा पाउने थिईन तर त्यो बेलामा मेरो अवस्था देखेर अत्यन्तै दया गरेका रेडियोलोजीका डा. शिव पंगेनी (जो मेरा नातेदार पनि थिए) अनि त्यो बिशिस्ठ किसिमको एक्सरे गर्ने डा. पण्डित (वहाँ को नाम विर्षे अहिले) मैले बुझ्ने गरि भनिदिनुभयो । यति कुरा बुझेपछि म सोझै विभागीय प्रमुख डा. भोलाराज जोशी को कार्य कक्षमा पुगें .... रोएँ । अरु गर्न सक्ने केहि थिएन । 

मेरो आमाको मृगौलामा अपरेशन गर्दा बनाईएको घाउ नसीइएको र तेसै बाट रगत बगीरहेको कुरा मैले एक्सरे डाक्टर बाट थाह पाएको भन्ने बुझे पछी र त्यो एक्सरेको रिपोर्ट हेरेपछि बल्ल डा. भोलाराज जोशी गम्भीर भएको देखें मैले । उनले तत्काल प्रेम ज्ञावाली लाइ बोलाए । गुण श्रेष्ठ र उत्तम शर्मा आइपुगेपछि को छलफल मैले सुनें । अपरेसन गरेका प्रेम ज्ञावाली लाइ मेरै अगाडी भोलाराज जोशीले सोद्दा प्रेमराज ज्ञावालीले दिएको जवाफले मेरो मन छिया छिया भयो । उनि त्यहा त थिए... तर स्टीच त गरे जस्तो लागेको थियो मैले पुरा हेर्न भ्याइन अरु कुनै काम मा बिजी थिएँ भन्ने जस्तो जवाफ दिए उनले ।

मेरो आमाको फेरी अपरेसन गर्नुपर्ने भयो । मलाइ अपरेसन थिएटरमा बोलाइयो । यत्तिकै राखेर बचाउन धेरै गाह्रो छ । त्यो स्टीच गर्न बाकि रहेको ठाउको लागी अर्को अप्रेशन गरौँ तर यो अप्रेशन सफल हुने सम्भावना अत्यन्तै न्युन छ तपैकी आमाको देहान्त हुन सक्छ भनेर डाक्टर ले अर्थ्याए । लगातार रगत बगीरहेको छ यसै राख्न सक्ने सम्भावना छदै छैन । अपरेशन गरे पनि आमाको बाच्ने सम्भावना छैन । मेरो जिन्दगी को सबै भन्दा दोधारको अवस्था त्यहि हो जस्तो लाग्छ । एकातिर ३ महिना सम्म अस्पताल बस्दा, औसधि, रगत इत्यादि जोहो गर्दा ऋणमा डुबिसकेको म । अर्को तिर आमा लाइ निको हुने आशा ...!! मैले कागजमा सहि गरें डाक्टर भित्र छिरे म बाहिर निस्किएँ ! अपरेशन पछी आमालाई अईसियुमा सारियो जटील अपरेशन पछी पनि दश दिन जती आमाको सास चल्यो र सदाको लागि अईसियु मै बन्द भयो । यसरी म टुहुरो भएँ ।

हामिले स्पष्ट संग देख्न सकिने गरि नै डाक्टर प्रेम ज्ञवाली र गुण श्रेष्ठको बिचमा प्रतिस्पर्धा भैरहन्थ्यो । युरोलोजिका तीन वटा बेडमा तीन जना बिशेषज्ञ हरुका बिमारी हुन्थे । एउटाको बिमारी अर्कोले हेर्दै नहेर्ने अत्यन्त्यै घिन लाग्दो प्रतिष्पर्धा हुन्थ्यो उनीहरुको । तेही प्रतिस्प्रधामा च्यापिएका थिए विभागीय प्रमुख जोशी । तेही प्रतिस्पर्धा र तेस्तै किसिमको डाक्टर हरुको गैह्र जिम्मेवारी पनको कारण मैले मेरी आमा लाइ गुमाउन पुगें ।

आमाको देहान्त पछी पनि धेरै पटक अस्पताल जानु पर्यो मलाइ । जति पटक गएँ मृगौलाकै समस्या भएका आफन्त हरुलाइ लिएर गएँ। प्रेम ज्ञावाली र गुण श्रेष्ठ प्रति मेरो बिश्वाश नभएपनि डा. भोलाराज जोशी र डा. उत्तम शर्मा प्रति मेरो सम्मान थियो आमा बित्ने निश्चित भएपछी मलाइ ऊनीहरुले सहयोग पनि गरेका थिए र धेरै ढाडस पनि दिएका थिए । प्रेम ज्ञावाली कि रसियन श्रीमती पनि शिक्षण अस्पतालमै काम गर्थिन त्यो बेलामा । पछीसम्मै अस्पताल जादा मेरा आफन्त हरु लाइ जाची सकेपछी बाहिर आफ्नो क्लिनिकमा सिधै रिफर गर्थे गुण श्रेष्ठले । शिक्षण अस्पतालमा उपचार नगराउनु तपाइको आमा बितेको देखि देखि किन यहा अपरेशन गर्ने मेरोमा आउनुस बाहिर राम्रो संग गरिदिन्छु भनेर धेरै पटक भनेका हुन् उनले । डा. गुण कुमार श्रेष्ठ शिक्षण् अस्पताल महाराजगंजमा हुदै देखिका स्वास्थ्य माफिया हुन् । मनमोहन अस्पतालमा रहेछन अहिले । उनि मृगौला चोर्न नसक्ने या चोर्ने नियत नभएका डाक्टर हुन् भनेर पक्ष लिन सकिदैन । उनि एउटा स्वार्थि, मानवीय समबेदना बिहिन ब्यापारी हुन् उनले मृगौला चोरेको हुन सक्छ सम्बन्धित निकायले राम्रो संग छानबिन गरोस ।

प्रेम ज्ञावाली उस्तै स्वार्थि डाक्टर हुन् । कसरि उनि मेरी आमा लाइ अपरेशन को बेड मा बेहोस बनाएर सिकारु लाइ अपरेशन गर भनेर छोड्न सक्छन? उनकी आमाको त्यो अवस्था भएको भए उनीले आफै गर्थे कि अरु लाइ गर्न लगाउथे ? कसरि मैले स्टीच गर्ने बेला मा हेर्न भ्यईन भनेर भन्न सकेका ? डाक्टर प्रेम ज्ञावाली देश कै महँगो अस्पताल ग्राण्डीमा कन्सल्ट्यान्ट रहेछन अहिले । ग्राण्डीमा पनि बिमारी माथि खेलवाड गरिएको छैन भनेर कसरि बिस्वाश गर्न सकिन्छ ? तसर्थ मनमोहन अस्पताल माथि लागेको मृगौला चोरीको आरोप को निश्पक्ष जाँच गरियोस र दोषी लाइ कडा भन्दा कडा कारवाही गरियोस ।

दुर्गा पंगेनी
डाक्टर पिडित

कोई टिप्पणी नहीं