अपडेट

गितको रूपमा ‘बा’ कविता भिडियोमा हेर्नुहोस्

कवि निरा शर्माको ‘बा’ शिर्षकको चर्चित कविताले भर्खरै संगीत पाएर गीतको रूपमा रेकर्ड भइ बजारमा आएको छ । यो कवितामा नेपाली संगीत क्षेत्रका चर्चित संगीतकार हरिलम्सालको संगीत र स्वर दुबै रहेको छ भने, सम्बाद लोकप्रिय रेडियोकर्मी सबीना कार्कीको अत्यन्तै मीठो आवाजमा रहेको छ । स्रोतका अनुसार रेकर्डको क्रममा कविता वाचन गरिरहँदा सविना कार्किका आँखाबाट आँसु झरेका थिए भने बाध्यबाधक र उपस्थित सम्पूर्णका आँखा रसाएका थिए । कविताले सिर्जना गरेको भावुक बाताबरणको कारण गीती रेकर्डमा निक्कै मुस्किल परेको थियो ।


कवि,निरा शर्मा

कवितामाथि खासै धेर संगीत भएको सुन्न पाइन्न । तर संगीतकार एवम् गायक हरि लम्सालले कवि निरा शर्माको यो कवितामा मन खोलेर अति नै उत्कृष्ट संगित मात्र गरेका छैनन् उति नै मीठो स्वर पनि दिएर कवितालाई मीठो गीत बनाइदिएका छन् । विभिन्न संगीतकार र गायकहरूले यो कवितामा संगित भर्न खोजे पनि यसको सौभाग्य लोकप्रिय संगीतकार एवम् गायक हरि लम्शाललाई जुरेको हुनुपर्छ। ‘बा’ गीत रेडियोमा सार्वजनिक भएको केही दिनमै हरि लम्सालकै युट्युब अकाउन्टमा सार्वजनिक भएको छ । यो गीत हेरिसकेपछि कवि निरा शर्माले आफ्नो फेसबुकमा यस्तो लेखेकी छन् -“बाको आशिर्वाद ! खुसी छु, असाध्यै खुसी ! धन्यवाद सम्पूर्ण टिमलाई ! बिशेष गरी बालाई माया गरेर सुमधुर संगीत र मीठो स्वरले सजाइदिनु भएकोमा प्रिय भाइ हरि लम्साललाई धेरै धेरै धन्यवाद ! कविता वाचनमा सबिना कार्कीको स्वरले अझै मिठास थपेको छ । उहाँलाई पनि धन्यवाद ! यसपालीको बाको मुख हेर्ने दिन हामी सबैको साझा उपहार सम्पूर्ण ‘बा’ हरुलाई ।” विभिन्न पत्रपत्रिका र सामाजिक सन्जाल फेसबुकमा गरेर हजारौं हजारले सेयर गरेको र लाखौंको मन जित्न सफल परम्परा भन्दा एकदमै फरक विषयबस्तुमा उठान भएको कवि नीरा शर्माको ‘बा’ कविता भने यस्तो थियो ।

गितको रूपमा ‘बा’ कविता भिडियोमा हेर्नुहोस् 


शिर्षक: बा

मैले धेरै पढेँ
आमाका बेदनाका कथाहरु
तर कहिल्यै पढिन
बाका अनुहारमा सलबलाएका
दु:खका बक्र रेखाहरु
धेरै पटक कविहरुले
आमाकै तारिफमा कबिता कोरे
आमाकै गीत संगीत भरे
आमालाई धर्ती भन्नेहरुले
बालाई कहिल्यै आकाश भनेनन्
र त
बा सँधै ओझेल परे ।
बारीको डीलमा चुपचाप
ठिंग उभिएको बूढो रुख झैं
बा कहिल्यै उभिएनन्
भन्ज्यांगको चौतारी झैं
ढसमस्स बसेनन् बा कहिल्यै

बा त
हाम्रो अँधेरो मेटाउन
मैन झै जलिरहे
हाम्रा खुसी समेट्न
मोनो रेल झैं चलिरहे
जिन्दगी भर कुदिरहे कुदिरहे
थाकेर सुइय नगरी
सँधै एक्लै कुदिरहे
त्यसैले त अग्लिंदैछ एक्लोपनको हिमाल
बाको मनभित्र ।

यतिखेर-
लम्पसार छ निरस जिन्दगी
बाकै अघिल्तिर
थिचिएर त्रासले सँधै
घुरिरहन्छ घ्वारघ्वार
कुम्भकर्णको निद्रामा
बाको अन्यौल जिन्दगी

तर बा
करकलाको पातमा टलपल पानी झैं
आँसु टिलपिलाएका आँखामा
निद्रा हराएपछि
खुसीहरुको सिला खोज्दैछन्
परेलीका डीलहरुमा ।

बोल्दा बोल्दै भासिन्छ बाको स्वर
बोली बन्द हुन्छ एकाएक
थाहा पाउछु म गला अबरुद्ध भएको
र पनि दबाएर सबै पीडा
मुस्कुराएको अभिनय गर्छन्
म चिन्छु त्यो मुस्कान
त्यो नक्कली मुस्कान
जो बाको होइन
हुदै होइन ।

फुंगरुंग उडेका
उदासीका फूलहरु
फुलेका छन् बाका मुहार भरी
चाउरिएर
ग्राफ जस्ता गालाका रेखाहरुमा
कतै एक धर्को सन्तोष छैन
कपाल झरेर खुइलिएको बाको तालुमा
जिम्मेवारीको चर्को घामले
उदाए देखि अस्ताउदासम्म
ठुँगिरहन्छ !

भित्र मनमा कता कता
बिगत र आगतको
उही चिन्ताको पहाड उभिएको छ
र बा त्यही पहाडमा उभिएर
संसार जितेको नाटक गर्छन्
अनि बाँड्छन् हामीलाई
पैंचो मागेका उधारा खुसीहरु
तर यथार्थमा
बा हारिरहन्छन् पलपल
मेरो लागि
तिम्रो लागि र
हाम्रो लागि
हो, बा त्यो हरुवा होv जो सँधै हारिरहन्छन्
केवल सन्तानका लागि ।


स्वतन्त्र सुचना, समाचार र विचार हाम्रो प्रथामिकता - Jamarko !

कोई टिप्पणी नहीं