अपडेट

माइलीको संघर्ष


माइली : एउटी साधारण केटि । त्यस्तै १४ बर्षकी हुँदीहुन भर्खर कुरकुरे बैंस सुरु भएको अवस्थामा अचानक एकजना उनकै टाढाको नातेदार महिलाले बिहे पछिको रमाइलो संसारको सपना देखाएर फकाएर उनको आफन्त संग बिहे गराईदिईछन । माइलीको बिहे भएको उनकै बा-आमाले समेत पत्तो पाएनन । गाउमा अचानक उनि ‘पोइला’ गएको हल्ला चल्यो । त्यति सानै उमेरमा कसरी पोइला गइ माईली..? एक किसिमको कौतुहलताले गाउँ कानेखुसीमय भयो । उनका बा आमा र आफन्तले अझै पनि फर्काएर ल्याउन सकिन्छ कि भनेर कसरत गरे । तर त्यो समय नै त्यस्तै थियो । अन्जानमा आफन्तको लहै लहैमा लाग्दा उनि छोरी बाट अर्कैकी श्रीमती र बुहारी बैसकेकी थिईन । बिहे भनेको गुडियाको खेल हो भनेर बुझ्ने समयमा उनको आफ्नै बिहे भएको कुरा उनले कतिबेला थाहा पाइन् मैले अनुमान सम्म गर्न सक्तिन । उनको बिहे हाम्रो गाउको माइला संग भएको कारण उनि हाम्रो गाउँकी माइली भाउजु हुन पुगिन ।

माइला दाइ कस्ता थिए भने, बाहुनका छोरा गाउमा ठिकै खाले हुनेखाने मध्यका अलि अलि सम्पत्ति भएका तर रक्सीको कुलतले नराम्रो संग गाँजेको कारण उनको कतै पनि बिहे हुन सक्ने अवस्था थिएन । चिनेको वरिपरिको सात गाउँ बाट उनलाई छोरी कसैले नदिएर छिप्पड हुदै गईरहेका थिए र उमेर संगै उनको रक्सीको लत पनि छिप्पिदै थियो ।

अचनाक माइलादाईले घरमा दुलही भित्र्याएको हल्ला चल्यो । एक किसिमको रमाइलो कथा बन्यो माइला दाइको बिहे । कसैले उसले बालख केटि फसाएको भनेर कुरा काटे । कसैले सानै केटि भगायो रे भन्ने हल्ला चलाए । जति हल्ला चले ति सबै केहि हल्ला मात्र थिए र केहि सत्य पनि थिए । अन्त्यमा माईला दाइको घरजम भयो । हल्ला हरु घट्दै गए । समाज आफ्नै लयमा बग्दै गयो ।

बिहेको केहि दिन पछी देखिनै माइलाको घर बाट कोकोहोलो बाहिर निस्कन थाल्यो । रक्सि खाएपछि अत्यन्तै झगडालु माइलाले बिहे पश्चात पनि रक्सि छोड्न त सकेन नै उल्टो रक्सि नखाउ भनेर अनुरोध गर्ने माइली लाइ भक्कु भकुर्न थाल्यो । एक त बालखै छन् माइली भाउजु, मुस्किलले १४ वर्ष पुगेकी होलिन, त्यसमाथि माईलाको पिटाइ,लुछाई र अन्यायले उनि निराश र जिर्ण हुदै गएकी थिईन । अनुहारको कान्ति हराउदै गएको थियो । आफुले अक्षम्य गल्ति गरेको लगुताभासले माइलीलाइ हेर्दै बिरक्त लाग्दी बनाउदै लग्यो । त्यति हुदा पनि माइला दाइको अराजकता पटक्कै घट्ने नामो निशान थिएन ।

अचानक गाउमा माइली त दुइ जिउकी भएकी छ भनेर हल्ला चल्यो । अब पक्कै पनि माइलो सुध्रन्छ भन्ने आशा उसको घर परिवारमा मात्र नभएर गाउ भरि पलायो । आखिर गाउ न हो । एक जना बिग्रदा गाउ नै दु:खी हुन्छ । एक जना सप्रदा सिंगो गाउँ खुशी हुन्छ । माइलाको उद्दण्डताले भन्दा माइलीको कारुणिक अवस्था देखेर दु:खी थियो छिमेक । माइलीको पेट बढ्दै आयो । दुइ जिउकी हुदा पनि माइलाको उनि माथिको अत्याचार घटेन । बरु बढ्दै पो गयो । माइली दैनिक कुटाइ खान्थिन – सहन्थिन चुपचाप ।

यसरि उनले सहेकै कारण उनि माथिको अत्याचार झन् झन् बढ्दै गईरहेको थियो । छिमेकी हरु मुकदर्शक थिए । घर बाहिर माइलाले हातपात गर्दा छुट्याउने एकादुई छिमेकी लाइ उसै संग नाजायज सम्बन्ध रहेको र लसपस भएको आरोप लगाइदिन्थ्यो माईलो । त्यसैले पनि कोहि कसैले माईली प्रति सहानुभूति देखाउन सम्म हिम्मत गर्दैनथे । समय बित्दै गयो –माइला माइलीको पहिलो सन्तानको रुपमा छोरी जन्मिईन । छोरी जन्मेपछि परिवारमा केहि शान्ति आउला लोग्नेले आफुलाई माया गर्लान, केहि कमाउलान र परिवार प्रतिको दायीत्वबोध गर्लान अनि आफ्नो जीवनमा पनि सुखका दिन फर्कलान भनेर आशा गरेकी माइली त्यति बेला निराश भईन जतिबेला सुत्केरी उम्केकै दिन छोरीको न्वारान कै दिन मईलाले उनलाई रक्सि खाएर कुट्यो ।

फेरी पनि माईली संग सहनुको विकल्प थिएन । उनि संग जीवन रोजे कुटाई,प्रताडना र मुक्ति रोजे मृत्यु, आत्महत्या बाहेक विकल्प थिएनन । जाने ठाउ थिएन । दुख बिशाउने ठाउ थिएन । मर्न भर्खर जन्मेकी छोरीको मायाले दिएन । जिउन पापी माइलाको पिटाइको कारण नसक्ने अवस्था आएको अनुभव माइलीले मात्र होइन गाम्ले सबैले अनुभव गर्दै गैरहेका थिए ।

समयको चक्र घुम्दै गयो । माइलाको अत्याचार घट्दैन । दैनिक भट्टीमा जाने रक्सि खाने र घरमा आएर माइली लाइ प्रताडित गर्ने बाहेक माईलाको अरु कुनै काम थिएन । माइली बिहान उठेदेखि बेलुका आधारात सम्म घर धन्दा र मेलोपात अनि छोरीको स्याहारले लखतरान हुन्थिन । माइलो भट्टी बाट फर्कन्थ्यो र उनैलाई लुछ्थ्यो । यो क्रम चलिरह्यो । दुइ बर्ष पछी माइली फेरी गर्भवती भईन । उनको पेट बढ्दै आयो । यो दुखमा पनि फेरी अर्को सन्तान जन्माउनु कम्ति सास्तीको काम होइन फेरी पनि माइलीको कर्ममा त्यहि लेखिएको थियो । माइलो छाडा - माइली अन्जान । प्रकृतिले दिएको मलिलो कोखले बिउ बिषको हो कि अमृतको चिन्दैन । मलजल गरेर हुर्काइदिन्छ । यहा पनि त्यस्तै भयो । माइलीले फेरी अर्को सन्तान छोरो जन्माईन ।

दुइतान सन्तान छोरा र छोरी हुदा पनि माइलाको बानिमा सुधान आएन । दुवै सन्तानको अनुहार काटीकुटी माईलाकै जस्ता छन् फेरी पनि रक्सीको तालमा मेरा छोराछोरी नै हैनन् भन्दिन्छ कहिलेकाहीं । पिट्ने उ, रात दिन रक्सीको नसामा आएर बाघले हरिण लाइ झम्टेझैँ झम्टने र लुछ्ने उसले । अन्त्यमा दुर्वचन लगाउने र दुर्ब्यवाहर गर्ने पनि उही... । अन्यायको पनि हद हुन्छ । माइलाको अन्यायले माइली लाइ कठोर बनाउदै ल्यायो । उनले कसरि छोरी हरुको सुरक्षा र लालन पालन गर्ने भनेर नसोचे कसैले नसोच्ने भयो त्यो कुरा माइलीले बुझिसकेकी थिईन । सिंगो जिन्दगी लमतन्न अगाडी तेर्सिएको छ । त्यसमाथि दुइओटा सन्तानको भविष्यले उनी तिरै फर्केर आशातित नजरले केहि मागीरहेजस्तो देख्छिन । अनि सोच्छिन अब छोराछोरी हरुलाई मैले कस्तो भविष्य दिने?

भरे के खाने या के लाउने भन्ने चिन्ता बेग्लै छ त्यसमाथि पहाड झैं ठडिएको दुइ सन्तानको भविष्यले माइली लाइ जुर्मुराउन बाध्य बनायो । माइला संग केटाकेटी छोडेर उनि बाहिर निस्कने अवस्था छदै छैन । उसले छोराछोरी बोकेर मार्छु भन्दै हिड्छ कहिले कि रक्सि खाने पैसा दे नत्र केटाकेटी सेतीमा फाल्छु भन्छ । खोसेर युद्द लडेर उनिहरुलाई जोगाउन परेको अवस्थामा माइली संग यौटै विकल्प थियो –माईति ।

अब माइलीको जिन्दगीको दोश्रो अध्याय सुरु हुने क्रम थियो । पासपोर्ट बनाएकि माईली बैदेशिक रोजगारीको लागी साइप्रस जाने लाईनमा थिईन । माइती हरुले मनग्य साथ् दिएका थिए । हुन त हुने खानेकै छोरी हुन उनि । आफन्तले झुक्याएर माइला संग नजोडदिएको भए स्कुल पढ्दै हुन्थिन होला तर एउटा धोकाको कारण आज माइली २० बर्ष कि हुदा उनको काखमा एउटी चार वर्ष र अर्को २ वर्षका छोराछोरी छन् ।

हेर्दा हेर्दै मईलिको साइप्रसको भिषा आयो । उडिन माइली आफ्नो थोरै सुख र धेरै सन्तानको भविष्यको खोजीमा । साइप्रस तुलनात्मक रुपमा सुरक्षित् र राम्रो कमाई हुने बैदेशिक रोजगारीको गन्तब्य हो । त्यहा पुग्नको लागि माइलीले गरेको संघर्षको कथा त धेरै लामो छ । तर पनि साइप्रस पुगेपछि उनको जागिर राम्रै पर्यो । ठिकै ठिकै पैसा कमाउदै गईन माईलीले । गएको ऋण तिरेर पनि दुइ वर्षमा राम्रै जोडजाम पारिन । समय बित्दै गयो माइलीका माईतिले माईली लाइ साथ् दिदै गए । माईलीले कमाएको पैसाले उनको लागि घडेरी किनियो । उनका छोरीको सुनौलो भविष्यको लागि माइली उता शंघर्शरत छन् यता उनलाई सहायोग गर्ने हात हरु तम्तयार छन् । छोराछोरी लाइ बोर्डिंग स्कुल भर्ना गरियो । अब माइलीको अवस्था सुधारोन्मुख हुदै आयो ।

माइलाको अवस्था उस्तै छ । आफ्नो पुरुषार्थ देखाउन माइलाले आर्को बिहे गर्यो । अब माइली बिदेशमा हुदा घरमा कान्छी श्रीमती भित्र्याएर कान्छी संग मारपिट गर्न थाल्यो माइलो । जति गरेपनि उसको बानीमा सुधार आएन । माईली विदेश हुदा मावलीमा भएका छोरा छोरी हरुको कहिल्यै सम्झना सम्म गरेन । अन्त्यमा माइली विदेश बाट बिदामा अईन र उनीहरु बीच सम्बन्ध कानुनि रुपमै बिच्छेद भयो ।

माइली विदेशिएको बाह्र बर्ष हुन लाग्यो । छोराछोरी हरु राम्रो स्कुल कलेज पढिरहेका छन । माइला संग हुँदा भन्दा माइलीको रुप रंग अहिले फेरिएको छ । सामाजिक संजालमा बाक्लो उपस्थिति जनाउने माइली दैनिक दुइ चार पटक अपडेट भैरहन्छीन । गाउमा जग्गा जमिन, पोखरामा घडेरी, मनग्गे बैंक ब्यालेन्स जोडिसकेकी माइलीको अबको सपना चिटिक्कको घर र एउटा सानो गाडी रहेको छ ।

बेला बेला बिदामा नेपाल आईरहने माईली र उनका छोराछोरीको सम्बन्ध अत्यन्तै भावनात्मक छ । बाबुनानी लाई राम्रै देशमा अगाडिको पढाइ गर्न पठाएपछि नेपाल फर्कने सोच बनाएकी माइली अब साइप्रस नफर्कने गरि नेपाल फर्कदा छोराछोरीलाइ अष्ट्रेलिया पठाउने उनको योजना छ । त्यतिन्जेल सम्म बाबुनानी हरु विदेश तिरै सेटल भैसकेका हुनेछन, यो उनको रहर मात्र होइन निकै छिटै हुन गईरहेको यथार्थ कुरा समेत हो ।

अहिले माइलोले समाचार पठाउछ । समाचार मात्र होइन रक्सीले मातेपछी रोएर भिडियो खिचेर पठाउछ । बिस्तारै माइलाको उमेर ढल्कदै गयो रक्सीले गाल्दै लग्यो । जिर्ण भएको अनुहार देखाएर आँसु झार्दै माइलोले माफी माग्छ । जे भएपनि तिमि नै मेरी जेठी श्रीमती हौ, माया नमार भनेर अलिकति सम्बन्धको भिख माग्छ । माइलाले यसरि हात पसार्दा कता कता नरमाइलो त लाग्छ नै तर पनि माईलीलाइ त्यो कहाली लाग्दो बिगतले झस्काउछ । उनले अतित सम्झन्छिन । माइलाले पिट्दा लागेका चोटका खतहरु अझै ताजा जस्तो लाग्छ उनलाई । आफ्नो शरीरमा कहिले नमेटिने गरि लागेका चोटका दागहरु पुराना हुदै गएका छन् । विर्षिसकेको बिगत कोट्टीदा खाटा बसिसकेको मनको घाउ फेरी ताजा भएको अनुभव हुन्छ उनलाई । झनक्क रिस उठ्छ,लामो स्वास फेर्छिन तर केहि बोल्दिनन । हर्लक्क बढेर हेरिरहुँ जस्ता भएका कल्कलाउदा छोराछोरी, आफ्नो आफैले निर्माण गरेको सामाजिक हैसियत र अगाडिको खुशाहाल जिन्दगीको मार्गचित्र हेरेर माइली मुसुक्क मुस्कुराउछिन र माइलो रोएको भिडियो ह्वाट्सअपको इनबक्स बाट खुसुक्क डिलिट गर्दिन्छिन ।

दुर्गा पंगेनी