अपडेट

लोकगीतको प्रतिलिपि अधिकार र प्रतिष्ठानको भूमिका

कमै लोक गायक या गायीका हरु हुनुहोला जो लोक गीतको प्रतिलिपि अधिकारको बारेमा जानकार हुनुहुन्छ होला । नेपालको प्रतिलिपि अधिकार सम्बन्धि कुनै पनि कानुनमा लोक गीत सम्बन्धि स्पष्ट ब्यबस्था गरेको पाइदैन । प्रतिलिपि कानुन संगै जोडिएर आउने रोयल्टी ब्यबस्थापन सम्बन्धि कानुन पनि लोक गीतको रोयल्टीको बारेमा स्पष्ट छैन । हुन त अहिले केहि लोक कलाकार हरुले लोक गीतको रोयल्टी बुझिरहनु भएको छ तर त्यो रोयल्टी लाइ कानुनले परिभाषित गरेको छ कि छैन अथवा आफुले पाउदै आएको रोयल्टी कुन कानुनले निर्दिष्ट गरेको अधिकार हो भनेर बुझ्ने कमै लोक कलाकार हरु हुनुहुन्छ ।

यसै प्रसङ्गमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको चुनाव ताका आदरणीय गीतकार एकनारायण भण्डारी ज्यु ले भन्नुहुन्थ्यो – “अव निर्वाचित हुने प्रतिष्ठानको कार्यसमीतीले लोक गीतको कानुनी पहिचान (प्रतिलिपी अधीकार) र लोक गीतको रोयल्टी संकलन लाई कानुनत: परिभाषीत गराउन पहल गर्नु पर्छ”।

आज आएर लोक दोहोरी गीतको प्रतिलिपी अधिकारको स्पष्टताको टड्कारो आवस्यकता देखीयो । स्वराङ्कन भैसकेका गीत हरुमा बिबाद आईरहेको देख्दा भोली आउने पुष्ताले लोक गीतको ट्याग लगाईएका मौलीक गीतहरुलाई समेत पुन: रेकर्ड गराउन पाउने नजिर स्थापीत भयो भने के हुन्छ? यस बिषयमा बेलैमा सचेत हुनु जरुरि छ । साँच्चै कानुनका कुरा गर्ने हो भने जुनसुकै लोकगीतको पनि कसैले पुन: स्वारांकन गराउदा कसैसंग अनुमति लिईरहनु पर्दैन । लोकगीत, लोक कथा र उखान हरु ब्यक्ती विषेशको बौद्दीक सम्पत्ती भित्र पर्दैनन । कानुनी छिद्र लाई केलाउने हो भने बम बहादुर कार्की भर्सेज राम प्रसाद खनाल शितयुद्दमा राम प्रसाद खनालको दोष देखीदैन ! तर यहाँ कुरो सामान्य प्रचलन र नैतिकताको रहेको कारण एकजनाले संकलन गरेर संरक्षणको पहल गरिसकेको लोक गीत अर्को कलाकारले रेकर्ड नगराउने चलन रहिआएको थियो ! त्यो चलनको क्रम भंग भएको छ । यही नजीर बस्यो भने धेरै अरु लोक गीत संकलकले संकलन गर्नुभएका गीतहरु युट्युब प्लेटफर्ममा ब्यापार गरिरहेका भेटीनेछन ।

लोक सांगीतीक जगतलाई आधुनिक उचाई दिएका गीतहरु “बनमा काँडा छ” “सुपारी चाम्रो” “पछेउरी लेउ बैना” मलाई अमेरीका यही” लगायत प्रत्यक्ष दोहोरी गायनमा कालजयी भएर रहेका केही भाका हरु अस्तित्व मै थिएनन । ति भाका कलाकार हरुले निर्माण गर्नुभएका वहा हरुका मौलीक रचना हरु हुन तर लोक गीत हरु हुन ।केहि समयको अन्तराल पछी यी गीत हरु पनि अव आउने पुष्ता जन्मनु भन्दा अगाडी देखीनै प्रचलनमा रहेका भाका हुदैछन ।के अवका कलाकार हरुले यी गीत हरु हुवहु रेकर्ड गराउन पाउने गरि अग्रज हरुले नजिर बसाल्न खोज्नुभएको हो ? यो एउटा प्रश्नको ऊत्तर खोज्नु पर्ने बेला भएको छ ।

लोकगीत हरु भाका संकलक लाई क्रेडीट दिदै धडाधड रेकर्डगर्न थाल्यो कसैले भने रोक्ने निकाय कुन हो ? कलाकारको बिबेक बाहेक अरुले रोकेर नरोकीने अवस्था आईपुग्यो । यो अवस्था लाइ सरसर्ती हेर्दा लोकगीत सम्बद्द नेतृत्व (प्रतिष्ठान) लोक गीतको प्रतिलीपी अधिकार र लोक गीतको रोयल्टी लाई परिभाषीत गराएर कानुनमा उल्येख गराउने अभीयानमा कति अगाडी पुगेको छ त्योसमाचार आएपछी थाह होला ।

आलोचनाको कारण आँखी हुनुपरेको आजको अवस्थालाई मध्यनजर राख्दै केहि दिन अगाडी प्रतिष्ठान नेतृत्व ले गृह मन्त्रि लाइ बुझाएको एउटा ज्ञापन पत्रको बारेमा चर्चा गरौँ । विकृति नियन्त्रणको अभियान लाइ आक्रामक रुपमा लागु गर्दै गरेको प्रतिष्ठानको वर्तमान नेतृत्व सजिलै मन्त्रीको ढोका ढकढक्याउने मात्र होइन सिधा टेवल ठोकेर सम्बाद गर्ने हैसियत राख्दछ यो गौरव को कुरा हो किन कि जो सुकै कलाकारले मन्त्रीको टेवल सम्मको पहुच बनाउन सजिलो छैन ! त्यो हिसावले प्रतिष्ठान सम्बद्द कलाकारको लागि यो गर्व गर्ने बिषय पनि हो । त्यस्तो उच्चतम हैसियत र राजनैतिक पहुँच भएको नेतृत्व पाउनु कलाकार को लागि गौरबको बिषय हो त्यस्तै नेतृत्वले सहि बिषयको उठान गरोस र देखिएका समस्या हरुलाई कानुन र बिधि पुर्वक समाधान गरेको समाचार हरु पढ्न पाइयोस भन्ने पनि आम कलाकार र कलाकारितामा चासो राख्ने मान्छे हरुमा रहेको हुन्छ ।

बर्तमान नेतृत्वले निर्वाचित भएपछिको पहिलो बैठक देखि नै बिकृति नियन्त्रणको लागि प्रयाश गरिने बताउदै आएको छ । प्रयाश नभएका पनि होइनन । कतिपय द्विअर्थी गीत हरु रेकर्ड हुदा हुदै स्टुडियो मै रोकिए । कति गीत हरुका शब्द फेरीए र कति गीतहरुका दृश्य हरु सम्पादन गरीए होलान तर विकृति लाइ परिभाषित गर्ने तर्फ कुनै पहल गरिएको पाइएन । पहिला कानुनतः विकृति लाइ परिभाषित नगरी बिकृति नियन्त्रणको लागि गरिएका पहल हरु कानुनि रुपमा कति बलिया हुन्छन ? यो कुरा नेतृत्वले बुझ्नु जरुरि छ ।

लोक संस्कृतिको जगेर्ना को लागि बिकृति नियन्त्रण जति जरुरि छ कलाकार को बौद्दिक सम्पत्तिको सुरक्षार्थ कानुनमा “नयाँ लोकगीत लाइ परिभाषित गर्नु” त्यो भन्दा बढी जरुरि छ । आज सतहमै देखिएका पुनः स्वरांकनका मुद्दा लाइ मौन समर्थन गरे जस्तो यो मुद्दामा बोल्ने अधिकार अथवा कारवाही गर्ने अधिकार छैन भन्ने मान्यता प्रतिष्ठानको आधिकारिक मान्यता हो भने विकृति नियन्त्रणको लागि कसैको गीतको रेकर्ड हुदै गरेको काम रोक्ने अधिकार पनि प्रतिस्ठानमा नरहेको भन्ने बुझिन्छ । यसरि आफुलाई अधिकार नरहेका बिषयमा कतिन्जेल आधिकारिकता बिनाको पहल गरिरहने प्रतिष्ठान ले ? अब नेतृत्वले एक कदम अगाडिको सोचेर लोकगीतका बिकृति, लोक गीतको प्रतिलिपि अधिकार लगायत कुरा हरुलाई कानुनमा निर्दिष्ट गरेर ब्याबहार्मा उतार्ने बाटो अङ्गीकार गर्ने कि ?


दुर्गा पंगेनी 

कोई टिप्पणी नहीं