अपडेट

कतारमा किन पक्राउ परे नेपाली पत्रकार हरु ?


जुन देशमा नित्यकर्म समेत अनुमति लिएर गर्नु पर्छ त्यो देशमा हेलचेक्र्याँई क्षम्य हुँदैन । जहाँ नगरपालीका ले पास नगरेको ट्वाईलेटमा जान असुरक्षित मानिन्छ, जहाँ नगरपालीकाले पास नगरेको भान्छामा खाना पकाउन पाईन्न, जहाँ विभागले पास नगरेको गाडी स्टार्ट गरेर बाटोमा निकाल्न पाईन्न..जहाँ ...ईत्यादी ...!


त्यस्तै पेसाको पनि आफ्नै मर्यादा छ ...तपाइँ मजदुर हो ? मजदुर कै काम मात्र गर्नुस, काठे मिस्त्री हो कि गारे मिस्त्री ? त्यहि मात्र छुनुस, अरु छुने अधिकार तपाईलाई छैन । ..सफाई कर्मचारी हो तपाइँ भने चिया पकाएर खुवाउने अनुमति तपाईलाई छैन किन कि तपाइले खुवाएको चियाले कसैको पेट बिग्रिएमा त्यसको जिम्मेवारी स्वयं त्यो चिया खाने मान्छे ले समेत लिदैन । चौकीदार, डाक्टर,नर्स, एकाउन्टेन या हाकीम ...सम्बन्धित काम भिषामै तोकीएको हुन्छ ..आफुखुसी फेरेर गर्नै पाईन्न...फेरेर काम गर्न परे अनुमति लिनुपर्छ, तपाईलाई नतोकिएको काम गराउन कसैले बाध्य पार्दैन यदि पार्यो भने त्यो गैह्र कानुनि हुनेछ ...!ईत्यादी !!

त्यस्तै तपाई को “भिजीट या टुरिष्ट” भिषा हो ? हो भने भेटघाट गर्नुस, घुमघाम गर्नुस तर त्यो भिषामा आएर राजनिती या सांगठनिक काम नगर्नुस ।त्यसो गर्नु सरासर गैह्रकानुनी मात्र हुदैन वर्जित काम गरेको ठहरीई तपाइँ गिराफ्तार हुने प्रवल सम्भावना रहन्छ ।यो नेपाल होइन ता कि उजुरी परेको दोश्रो या तेश्रो दिन मात्र प्रहरीले एक्सन लिओस । यहा तपाइँ दोश्रो या तेश्रो मिनेट भित्रै गिरफ्तार हुन सक्नुहुन्छ किन कि तपाइको आडको सिट मा बसेको मान्छे तपाइलाई गिरफ्तार गर्ने अनुमति पाएको ब्याक्ति पनि हुन सक्छ ।

तपाईको भिसा “बिजनेस” हो भने ब्यापार गर्नुस, आर्थीक लेनदेन गर्नुस, नाफा कमाउनुस कसैले रोक्दैन, यदि तपाइको भिषा मनोरन्जन समुहको हो भने सांस्कृतिक कार्यक्रम हरुमा नाच्नुस गाउनुस रमाइलो गर्नुस र गराउनुस ।त्यो तपाइको मान्यता प्राप्त काम हो कसैले रोक्दैन बरु तपाईलाई सहयोग नै हुनेछ सबै तिर बाट ।

तर अर्काको देशमा “भेटघाट तथा घुमघाम” गर्न पाउने भिषा लिएर आएर “सुचना तथा प्रेष” जस्तो संबेदनशिल विषयको कार्यक्रम गर्ने अधिकार हामीलाई छैन । अझ जुन देशमा सुचनाको हक सिमित छ या कतिपय कुरा हरु वर्जित समेत छन् त्यस्तो देशमा अनिमति नै नलीई पत्रकारिता जस्तो सम्बेदनशील संस्था अधिवेशन गर्न पाइदैन यो काम गैह्र कानुनि हो भन्ने कुरा विद्वान मित्र हरुलाई पुर्व जानकारी किन भएन ? सम्बन्धित देशको कानुनको अधिन मा रहेर मात्र हामीले हाम्रा क्रियाकलाप गर्न पाइन्छ त्यसको लागि पुर्व स्वीकृति या अनुमति चाहिन्छ भन्ने कुराको ज्ञान हामीलाई हुनु पर्ने थियो कि थिएन ?

सोचौं ...यदी केही भारतिय हरु या अन्य देशका मान्छे अथवा एक हुल सेतो लुगा लगाएका अरवी हरु हाम्रो देशको कुनै बन्द सभा हाल मा गोप्य बैठक गर्छन भने त्यो भित्र के कस्ता छलफल भए के विषय मा त्यो भेला भयो भन्ने चासो हाम्रो सरकार लाइ,हाम्रो प्रशासन लाइ र हामी लाइ पर्छ कि पर्दैन ? यदि उनीहरु हाम्रो देशमा घुम्न आउछन र कुनै हलमा बसेर यस्तो कार्यक्रम गर्छन भने त्यो क्षम्य हुन्छ ? उनीहरुले हाम्रो आन्तरीक मामला लाई नटेरेको ठहर्छ कि ठहर्दैन ? कुन देशले सहन्छ आफुलाई नसोधी, थाहै नदिई र अनुमति समेत नलिई बाहिरी तत्व ले गम्भिर विषयमा छलफल गरेको? कुन देश को प्रशासन ले सहन्छ आफुलाई नटेरेको र आफ्नो नियम मा आप्रवाशी हरु नबसेको ...? हामी आफै सोच्नु पर्ने होईन र ?

अर्को कुरा – यो पहिलो पटक भएको पनि होइन । अग्रज पत्रकार रबिन्द्र मिश्र कतार आउदा गरिन लागेको कार्यक्रममा पनि यसरि नै हस्तक्षेप भएको थियो र त्यो कार्यक्रम नै हुन सकेको थिएन । समाज मा हल्ला पनि बिबिध किसिमका चले । कसले कार्यक्रम हुन दिएन भन्ने कानेखुसी हरु नभएका पनि होइनन । त्यति हुँदा हुदै पनि उस्तै प्रकृतिको अर्को कार्यक्रम अनुमति नलीई गर्ने दुष्साहस हुनु अचम्म लाग्दो कुरा हो ।

सरकार ले पटक पटक विदेश मा गएर गर्न नहुने विषय हरुमा जनता लाइ सिकाउदै आइरहेको छ । सम्बन्धित देशका सराकार हरुले अनुमति नलीई कुनै पनि कार्यक्रम हरु नगर्नु नगराउनु भन्दै आइरहेका छन् । फेरी पनि हामी उही गल्ति दोहोर्याई रहेका हुन्छौं किन ? अझ कानुन मान्ने बिषयमा पत्रकार हरु आम जनता र सर्वसाधारण भन्दा बढी सजग हुनु पर्ने होइन र ? जनतालाई नियममा बस्न सिकाउने देशको चौथो अंग समेत भनेर जानिने चिनिने संस्थाका केन्द्रीय पदाधिकारी हरुले समेत नियम कानुनको बारेमा केहि बुझ्दै नबुझी यस किसिमको कार्यक्रममा सहभागिता जनाउनु हुन्थ्यो ? यो आजको गम्भीर प्रश्न हो।

सम्मानित राज दुतावास र महामहिम को अथक प्रयास पछी पत्रकार महोदय हरु झन्डै रात को दश बजे तिर रिहा हुनुभएको छ । र हामीलाई गिरफ्तार गरिएको होइन सोधपुछको लागि लागिएको मात्र हो भन्ने अभिव्यक्ति दिनुभएको छ । सोधपुछ को लागि मात्र लगिनु पनि दुखदायी कुरा हो देश को सबैभन्दा ठुलो र सम्मानित संस्था “पत्रकार महासंघ” का केन्द्रीय अध्यक्ष लगायत पदाधिकारी हरु गिरफ्तार हुनु र “सोधपुछ” हो भनेर उम्किनु दुखदायी अवस्था हो । नेपाल पत्रकार महासंघ जस्तै पत्रकार हरुको संस्था यो देशमा पनि थियो होला अथवा त्यस्तै काम गर्ने प्रेष काउन्सिल जस्तै कुनै निकाय त थियो होला नै । आफु आउनु भन्दा अगाडी हाम्रा पत्रकार हरुले आफ्ना समकक्षि हरु संग कुनै सम्पर्क गरेका थिए ? हामी आउदैछौं भनेर जानकारी गराएका थिए ? कि नेपाल भन्दा बाहिर उनीहरुको पहुँच बनेकै छैन ?

जे जस्तो सुकै अवस्था भएपनि गिरफ्तारी या सोधपुछ जे भएपनि त्यसरी कार्यक्रम भाडिनु दुखद अवस्था हो । आइन्दा जिम्मेवार मित्र हरुले कार्यक्रम गर्नु अगाडी यस्ता बिषयमा जिम्मेवारि पुर्वक सम्बन्धित देशको कानुन र प्रचलित नियमको अधिनमा रही कार्यक्रम गर्ने र गम्भीरता पुर्वक जिम्मेवारि निर्वहन गर्नुपर्ने देखिन्छ ।


कोई टिप्पणी नहीं