अपडेट

ह्याप्पी भ्यालेन्टाईन डे टु यु प्रिय घडी



ह्याप्पी भ्यालेन्टाईन डे टु यु प्रिय घडी । तिम्लाई प्रणय दिवसको उपलक्षमा धेरै धेरै शुभकामना दिन चाहन्छु ।

तिमी संगको सहवासमा रमाएरै मेरा जिन्दगीका धेरै दिन हरुले ‘उर्वर समय’ को उपमा पाएकाछन । तिमीले हरेक दिन उहि समयमा ब्युझाईदिन्छेउ र त धेरै भोका पेट हरु भरेको छु मैले नत्र कसरी बन्द गराउदोहुँ सिंगै मेरो ‘उमेर’ खाएर पनि नअघाएका समयका मुखहरु । फेरीपनि बिहानै तिमीले मलाई उठाउन प्रयोग गर्ने आवाज कर्कश लाग्छ मलाई । रिस उठ्छ तिम्रो आवाज सुनेर तर मलाई थाह छ तिमी आवाजहिन भयौ कुनैदिन भने म निदाईरहनेछु । तिमि चुप भयौ यदि कुनै दिन भने दाउमा लाग्नेछ मेरो जागीर । मलाई समयमा उठाउने,समयमा सुताउने अनि मेरो पेटमा चारो आवस्यक परेको समेत मलाइ याद दिलाउने तिमि मेरी प्रिय एक मात्र त छौ मेरो एक मात्र सहारा ।

म पनि मान्छे त बैगुनी नै हुँ । कति ईमान्दार छौ तिमि, हरेक कुरा एक सेकेन्ड फरक नपारेर मेरो लागि कुदिरहन्छौ । कतै नौ, बाह्र या तिन, छ स्टेसन तिर तिमीलाई पनि थकाइ मार्ने रहर थियो होला । आफ्ना रहर हरु बिर्षिएर मेरो भलाइको निम्ति दौडीरहनु लाइ आफ्नो धर्म सम्झन्छौ तिमि । यहा सम्म कि मेरो ज्यानलाई पानी आवस्यक परेको, पिएको पानि र अन्नले बाटो खोजेको समेत याद दिलाईदिने जिम्मेवारी बहन गरेर पनि तिम्ले कहिल्यै जस पाईनौ ।मैले तिमीलाई तिम्रो कामको जस दिन जानिन कि तिमीले जस खोज्न जानिनौ ? घुर्क्याएर कुनै दिन तिमीले मलाइ नउठाईदिएको भए फकाउदोहुँ तिमीलाई मैले तर तिमीले घुर्क्याईनौ कहिल्यै न बदलामा केहि माग्यौ नै ।

केवल दुइ बर्षमा एकपटक फेर्नु पर्ने तिम्रो खान्की ‘ब्याट्री’ फेर्न पनि याद भएन मलाइ । तिमि मुर्झाउदै गएपछि र तिम्रा सुई हरुले गति घटाउदै लागेपछि मात्र म बुद्दुको दिमागमा तिम्रो खान्की को कुरा छिर्यो । त्यसबेला मा धरी तिमीलाई दोष लगाएँ “ओहो कस्तो महँगो ब्याट्री” मेरो मुख बाट निस्केको वाक्य यहि थियो । बिगत दुइ बर्ष तिमीले म प्रति लगाएको एक एक गुण को पाप लागे जस्तो अनुभव भईरहेको छ अहिले मलाइ । उमेरको उत्तरार्ध संगै अहिले आएर बल्ल तिम्रो महत्व बोध हुँदै गईरहेको छ । तिमी विनाको जिन्दगी म कसरी बाँच्दोहुँ सोचेर पनि विरक्त लाग्छ अचेल ।

मेरी प्रिय घडी..तिमी नै त छौ जसले मलाई निर्देशन दिईरहेछ र म आज्ञाकारी भएर खुरुखुरु तिम्रो सुईले तोकीदिएकै समयमा नित्यकर्म गरिरहेछु । रुटिनमा बाँधिएको छु । अनुसासनमा बसेको छु । तिम्रो आदेशमा सुत्न,उठ्न र सपना देख्न सिकेको छु बानी परेको छु ..! तिमी बाहेक को भयो र मलाई बाटो देखाउने ? मेरो जिन्दगी कै एक्ली साथी तिमी ...मेरी प्यारी घडी...तिम्लाई भ्यालेन्टाईन डे को धेरै धेरै शुभकामना ।।

दुर्गा पंगेनी

कोई टिप्पणी नहीं