अपडेट

दोहोरि ब्याटलको प्रभाव- विगार्यो या सपार्यो दोहोरी ? -एक विवेचना



फोल्क भनेको पुरातनवादी गीत हो । पप या मोर्डन भनेको नयाँ युगको परिवर्तित या आधुनिक गीत हुन ।अझ पपुलर को छोटो रुप नै पप हो । पपुलर यानी लोकप्रिय ..! जुन गीत लोकप्रिय भयो भयो त्यो पप हुनु पर्ने हो । आधुनिक र पप गीत लिखीत सुर र सुत्रमा बाँधिएका हुन्छन । उनिहरुले सारेगमप को सरगम समातेर संगीतमा आफैलाई बाधेका हुन्छन तर लोक (फोल्क) स्वतन्त्र हुन्छ ! कुनै सुत्रमा नबाधिए पनि लोक गीत सुर बाट बाहिर हुँदैन ।

लोक गीतमा सुर र ताल को महत्व त छदैछ त्यो भन्दा ठुलो महत्व कथा को हुन्छ लोक गीतमा । दोहोरी हो भने प्रतिष्पर्धा र हार जितको महत्व हुन्छ । भलै लोकगीत पुरातन र आफैलाई परिवर्तन गर्न नसकेको संगीतको रुपमा परिभाषित हुन पुगेको किन नहोस फेरी पनि संगीतको यथार्थ पहिचान भनेको लोक गीत नै हो । नेपालमा त हरेक गीतमा लोक (फोल्क) फ्लेवर मिसाउने गरिन्छ जुन लोकप्रिय पनि हुने गरेका छन ।

लोक ब्याटल नाम दिएर प्रकाश सपुत र प्रिती आलेको आवाजमा एउटा गीती नाटक युट्युवमा प्रकाशीत भएको छ । फोल्क बाट पप तर्फ जानको लागी अगाडी बढेको र पप जति स्तरिय पनि नभईसकेको एउटा गीत, लोक गीतको परम्परागत ढाँचालाई त्याग्न खोजेको तर त्यो फ्लेवर छोड्न नजानेको एउटा सृजना । आधुनिक बन्न खोजेको तर ढंग नपुगेर विच विचमा पुरातन देखीने एउटा संक्रमीत सृजना हो त्यो लोक ब्याटल भन्ने गीत ।

हुन त हाम्रो संस्कृती पनि यस्तै हुँदै गईरहेको छ । समाज कतै आधुनीक र कतै पुरातन मात्र छैन हाम्रो ।पुरातन बाट आधुनिक हुने क्रममा पनि छ । त्यही विचको अवस्थामा रहेको समाजका प्रतिनिधी पात्रहरुको चरित्र झल्काउने रचना हो यो । परिवर्तन ले जुन कीसीमको विविधता समाजमा ल्याउछ त्यसको अशर संगीत सृजनामा देखीन्छ नै । जे हो त्यै दर्शाउन खोज्नुभएछ कलाकार हरुले । जस्तै भर्खर गाँउमा गुन्युचोली या कुर्तासुरवाल अथवा जामा लगाएर मेलापात गरिरहेकी युवती अचानक शहरमा आएर ककसुज र जिन्स पैन्ट लगाउदा जुन स्वरुपमा देखीन्छीन ठ्याक्कै त्यस्तै -अझ भन्नुपर्दा उनले शहरिया देखीनको लागी जुन कृयाकलाप गर्छीन जसरी बोल्छीन र ठ्याक्कै उनले भर्खरै जिन्स टिसर्ट लगाउन सुरु गरेकी हुन भनेर चिनिन्छ त्यसरी नै ठ्याक्कै पुरातनवादी लोक गीत गाउने कलाकार ले आधुनिकता तर्फ पाईला चालेको तर आफ्नो पुरानो पुरातन फ्लेवर छाड्न नसकेको विचविचको सृजना हो यो गीत - जुन सुन्दा न लोक सांगीतीक स्वाद पाईन्छ न आधुनीक स्वाद नै तर मनोरन्जन भने लिन सकीन्छ ।

फेरी पनि कलाकारको यो प्रयास सह्रानिय छ । म हरेक मेहनतको सह्राहना गर्छु ।तर कलाकार प्रकाश सपुतले यो गीतका दर्शक लाई के पनि बुझाउन सक्नु पर्छ भने नेपाल देशको कुन हिस्सामा या कुन क्षेत्रको समाज यो किसीमको साँस्कृतीक संक्रमण कालमा छ ? कहाँ कुन जिल्लाको कुन स्थानिय ठाउमा यसरी दोहोरीको ब्याटल खेलीन्छ ? त्यो ठाउँको बारेमा जानकारी दिएर क्षेत्रीयता पनि समेटेर देखाईदिनुभएको भए निश्चित ठाउँका युवा हरु जस्तै दांग,सल्यान,प्युठान या तनहुँ कास्की स्यांङ्जा या अन्य कुनै स्थानको लोक संस्कृती परिवर्तनको संघारमा रहेछ है भनेर बुझ्न आम दर्शकलाई सजीलो हुन्थ्यो ।

पिंढीमा धन्सारमा या टौवामुनी बसेर लगाईने रोधी गाईने दोहोरी चौतारो मा उभिएर माझीऔंला देखाउने स्तरमा पुग्याछ कतै ? तँ तँ म म भनेर मुड्की उज्याउदै एकअर्का लाई दोहोरीमा अपशब्द बोल्ने संस्कृतीको विकाश भएको छ कतै भने त्यो प्रकाश सपुतको दिमाग मा भएको छ । या यो उनैले देखेको कुरा हो त्यो -यथार्थ यही हो की केही फरक कुरा देखाउन सके मात्र डिजीटल मार्केटमा क्लिक हुन सकीन्छ र दुई पैसा आम्दानी गर्न सकीन्छ भन्ने कुरा सर्जकको दिमागमा जवसम्म दौडीरहन्छ यस्ता सृजनाले निरन्तरता पाईरहन्छन ।

यही अवस्थामा दोहोरी खेलीने र चौतारो मा उभिएर “दोहोरी फाईट” खेलीने ब्याटल परम्पराको सुरुवात कतैबाट भएजस्तो लाग्दैन । ब्याटल क्लव हरु छन, कविता लेखेर लयवद्द रुपमा भट्याउदै भिड्ने चलन नभएको होईन तर त्यसमा आजसम्म लोक फ्लेवर (पुरातनवादी सोचका गीत-परम्परागत तरीका) हरुले स्थान पाएका थिएनन बरु ति समुह हरुले लोक गीत को अगाडी प्रयोग गरिने “हे....!” लाई समेत हेयको दृष्टीले प्रयोग गर्ने गरेको पाईन्छ ।साथै ब्याटल क्लब हरुमा प्रयोग हुने शब्द हरुको कुनै दायरा हुदैन त्याहा लगाइने आरोप र प्रत्यारोप लाइ कुनै सिमाना ले बन्देज लगाएको पाइदैन । स्वतन्त्र भएर अश्लिल शब्द हरु प्रयोग गर्नु र बिपक्षका जो सुकै लाइ (आमा दिदि बैनी) हरुलाई अश्लीलताको पराकाष्ठा नाघेर गालिगरना पाउनु ब्याटल क्लब हरुका अघोषित नियम जस्तै हुन

तर दोहोरि गीतमा शब्द चयन को निकै महत्व हुन्छ । अनुशाशन भित्रको अश्लिलतामा यौन बिम्ब झाल्काएर गीतका टुक्का जोड्नु र तुरुन्तै सवाल जवाफ गर्नु दोहोरीका मान्यता भित्र अटाएको हामीहरुले देखिरहेका छौं त्यो अवस्थाको दोहोरिमा पनि स्थाई को प्रकार एकदम शालीन हुन्छ । टुक्का हरु द्विअर्थी भएपनि स्थाई अश्लिल भएको निकै कम देख्न पाइन्छ । यो दोहोरि ब्याटल मा "लै बालै फरर" भन्ने जुन स्थाई प्रयोग भएको छ त्यो नया पुस्तामा निकै प्रयोग भएको शब्द भएको कारण गीतमा समाबेश गरिएको प्रतिक्रिया आउला पक्कै तर के लोकले प्रयोग गर्दै गरेका सबै शब्द हरुलाई गीतमा समेट्न जरुरि छ र ? त्यो शब्द ले समाजलाई दिने संदेश को बारेमा सर्जक सचेत हुनु जरुरि छैन र ? यो प्रश्न पनि कलाकारको बिबेकले मात्र उत्तरित गर्न सक्ला ।

प्रकाश सपुत नयाँ पुष्ताका राम्रा कलाकार हुन । गायीकाको रुपमा प्रिती आले लाई म अत्यन्तै सम्मान गर्छु । उनको आवाजमा जुन टिपीकालीटी र जुन झर्रोपन छ त्यो जुनसुकै गायीका ले उच्चारण गर्न सक्दैनन । अनी उनले गीत गाउदा देखाउने एक्सप्रेसन प्रती म साँच्चै मोहीत छु । यस अर्थमा उनले यो गीतको लागी दिएको आवाज,अनुहारको हाउभाउ र अभिनय तारिफ योग्य छ । कथाले मागे अनुसारको गायक गायीकाको चरित्रमा खोट लगाउने ठाउँ छैन तर सर्जकले यस्तो अवस्था देशको कुन भागमा देखे ? यो प्रश्न भने अनुत्तरीत नै छ ।

लोक ब्याटलको सुरुवात भएको छ त्यो मान्न सकीन्छ । तर दोहोरी आज उपरान्त पनि दोहोरी नै छ । रोधी ले मचान बाट चोक र चौतारो मा झरेर माझीऔंला कहिले बाट देखाउन थाल्यो भनेर मैले लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष वद्री पंगेनी लाई प्रश्न गरें । उनका आफ्नै बाध्यता थिए सायद त्यसैले उनी अनुत्तरीत थिए ।

लोक गीत र परम्परा लाई यथोचीत ब्यबस्थापन गर्ने की समय सापेक्ष परिवर्तन पनि गर्ने भन्ने कुरामा अग्रज हरु एकमत छैनन।उनिहरु गाली गर्छन स्टेजमा अर्धनग्न प्रस्तुती दिने गायीका हरुलाई । भरपुर आलोचना गर्छन उनीहरुको र लोक संस्तकृती विगारेको आरोप पनि लगाउछन अव अग्रजको नजरले यो ब्याटलले बास्तविक रोधी र दोहोरी गीत र परम्पराको मर्ममा ठाडै प्रहार गर्दै दिन दहाडै चिरहरण गरेको देख्छ पक्कै । यस्तै ब्याटल हरुको कति भुमिका रहन्छ लोक गीत विगार्नुमा अथवा परम्परा लाई गलत बाटो मा लैजानुमा ? यस्ता गीतको आलोचना हामी बाट हुनु हुँदैन कीनकी हाम्रो समाज पुरातन बाट आधुनिक हुँदै गईरहेको छ र त्यो संक्रमणको असर संगीतमा मात्र होईन हाम्रो स्वाभावमा समेत झल्कनु स्वाभाविक नै हुन जान्छ ।

समग्रमा अव लोक गीतको परिवर्नतन नचाहने तप्काको नजरमा यो एउटा “दुष्साहस ब्याटल” हुनेछ । दाह्री खौरेर लिपिष्टीक लगाएको, छाती (स्तन) उठेको तर कम्मर नछिनेको, पुरुष छालामा जवरजस्ती महिला सौन्दर्य सामाग्री पोतेर राम्रो बनाउन खोजे जस्तो, हेर्दा स्त्रि स्वरुप भएको तर बोल्दा धोद्रो आवाज निकाल्ने किन्नर मान्छेको नमिल्दो ज्यान र स्वाभाव जस्तै लाग्ला कसैको नजरमा !

कोही आलोचक यसो पनि भन्लान -भेडाको ज्यानमा बोकाको टाउको जोडे जस्तो कुनै निश्चित आकार प्रकार र अस्तित्व नभएको ..! पप गीतको तरिकामा लोक दोहोरी उन्न खोजेजस्तो ..! दोहोरी ब्याटल नाममा यसरी लोक गीतको चिरहरण गर्ने हरु लोक गीतलाई परिमार्जन गरेर पप गीत बनाउने मार्गमा लागेका होलान तर बनाउदा बनाउदै यस्तो लिंग नछुट्टीएको गीत निर्माण हुन पुग्यो । हुन त युट्युमा गीतको डिस्कृप्सन मै यो लोक दोहोरी गीत होईन भनेर लेखीएको रहेछ ।त्यही लेखाईबाट के झल्कन्छ भने -कमसेकम कलाकार भोली आउने आरोप बाट अनभिज्ञ चाही थिएनन-गल्ती सबैबाट हुन्छ। भगवान ले पनि सबैभन्दा राम्रो प्राणी बनाउछु भनेर लाग्दा उँट बन्न पुगेको थियो रे । तर अव देखासीकी मा “लोक ब्याटल” निर्माणको बाढी आएर हाम्रो संस्कृती नै यस्तै हो भनेर गलत संदेश आगामी पुष्तामा हस्तान्तरण नहोओस भन्ने कुरामा सचेत चाहीं हुनै पर्छ ।

समग्रमा प्रकाश सपुतको दोहोरी ब्याटल ले एक खुड्कीलो दोहोरी गीतलाई विग्रने बाटोमा अरु ओरालो झारेको छ ? या सुधारको पक्षमा अगाडी बढाएको छ ? आलोचक ले यसो पनि भन्न सक्छन - सक्छौ र तिम्रो कलाकारीता पुग्छ भने पुर्णतया पप,र्याप हार्डरक गीतमा ब्याटल गर । कुनै कविता भट्याउ । लयात्मक रुपमा जे भट्याएपनि त्यो ब्याटल नै हुन्छ । मुक्कामुक्की गर !अश्लिल बोल । माझीऔंला देखाउ । तिम्रो परवरीस जसरी भएको थियो र तिम्ले जुन संस्कार सिकेका छौ त्यो तिम्रो कलाकारीता मा देखाउ । तर यसरी लोक दोहोरी को चिरहरण गरेर संस्कृती को गलत ट्रयाक निर्माण नगरिदेउ । या लोक गीतलाई परम्परागत रुपमै राख ।या परिवर्तन गर्दा परम्परा नमर्ने गरी गर या पुरा परिवर्तन गरेर पप को स्वरुपमा ल्याउ । चौबाटो को यो दोंगला गीतले लोक मर्मलाई बटारेको छ भनेर आरोप नआउला भन्न चाहीं सकीन्न ।

धन्यवाद
दुर्गा पंगेनी
स्वतन्त्र ब्लगर
एक जमर्को


कोई टिप्पणी नहीं