अपडेट

टापुको स्कुल,कक्षा तिन र मेरा धुमिल सम्झना हरु

मैले कक्षा ३ सम्म राष्ट्रिय प्रावि टापु भन्ज्यांग मा पढेंको हुँ । दिलिप प्रकाश पराजुली हाम्रो हेडसर हुनुहुन्थ्यो -वहा बनारस बाट पुरानो शिक्षा को ८ पास मास्टर । मेरा बा ले र वहाले लगभग संगै स्कुल पढाउन थाल्नुभएको रे । मेरो बुबा मिलिटरीमा भर्ति हुन आसाम तिर गएर फर्केर आएपनि अहिले सम्म वहाको नाम मास्टर बा अथवा गुरु जी नै छ । बाका चेला हरु नेपाल सरकारका विशिष्ट श्रेणीको कर्मचारी  भएर रिटायर्ड पनि भैसकेका छन् । त्यस्तै दिलिप हेडसरले पढाएका बिद्यार्थी हरुपनि ठुला ठुला मान्छे भएका होलान पक्कै किनकी स्याङ्गजा जिल्ला कै सबै भन्दा पुरानो मास्टर भएको कारण वहाका बिद्यार्थी उच्च ओहदामा नपुगेको हुनै सक्दैन । तिन कक्षा सम्म पढुन्जेल हाम्रो स्कुल मा ५-६ जना सर हरु हुनुहुन्थ्यो । दिलिप सर हेडसर हुनुभो । वहा भन्दा तल पांडे सर हुनुहुन्थ्यो -पांडे सरको नाम के हो हामीले कहिल्यै थाहा पाएनौं । पांडे सर पछी टिकाराम पराजुली सरको नाम आउथ्यो । टिकाराम सर पछी अर्को झिल्के सर हुनुहुन्थ्यो हरि ढुंगाना भन्ने जो आंधीखोलो तरेर स्कुल आउनुहुन्थ्यो दहूँ ठाँटि तिर हो वहा को घर । हरि सर पछी भर्खर साउन्दे कालिकाकोट बाट घरपाई सरुवा मिलाएर आएका हाम्रै गाउँका दाइ मास्टर थिए उनको नाम तारा प्रसाद पंगेनी थियो ।

हामीलाई पढाउने सबै सर रिसाहा हुनुहुन्थ्यो । हरि सर मात्र केहि रंगीलो पाराको हुनुहुन्थ्यो । वहाले टेप रिकार्डर बोकेरै स्कुल आएको धेरै पटक देखेका छौं हामी हरुले । राति हरि सर दोहोरि गाउन जानुहुन्थ्यो रे, अनि त्यहा गाएको दोहोरि रेकर्ड गरेर ल्याएर स्कुल छेवै को होटलमा बजाएर सबै सर हरुलाई सुनाउनुहुन्थ्यो । त्यसरी गीत रेकर्ड भएको थाहा नपाएका हरि सरका तरुनी हरु सर संग रिसाए अरे । पछी पछी सरले टेप बोक्न छाड्नुभयो । ब्याट्रीको खर्च ठुलो आयो भन्ने हल्ला सुनियो। मलाइ अलि अलि सम्झना छ । पांडे सर अलिकति अपांग हुनुहुन्थ्यो । एउटा खुट्टा छोटो थियो र खोच्याएर हिड्नु हुन्थ्यो ।वहाको पछाडी सबैले डुंडो भनेर कुरा काट्थे । मलाइ भने पांडे सर मन पर्नुहुन्थ्यो । वहालाई कसैले त्यसरी डुंडो भन्दा नरमाइलो लाग्थ्यो ।

हापछुट्टी भएपछी सर हरु लाहुर्निको भट्टीमा चिया खाना जानुहुन्थ्यो । काम नभएका गाम्ले भद्र भलाद्मी हरु त्यहि जम्मा भएका हुन्थे । गाउँ पंचायतको सचिवको बास नै त्यहि भट्टीमा हुन्थ्यो । गाम्ले फटाह देखि सेवाग्राही सबै भरिंदा लाहुर्निको होटेलमा भिडभाड नै हुन्थ्यो । अर्का थिए तारा प्रसाद पंगेनी भन्ने सर उनलाई हेडसरले जहिले पनि "ए तारे" भनेर बोलाउथे । हेडसरले नाम बिगारेर बोलाउदा पनि तारा सर चुप लागिरहन्थे । बडो मुस्किलले मिलाएको घरपाईको जागिर हेडसर संग नराम्रो भएर गुमाउन चाहादैनथिए सायद त्यसैले निकै ठुला ठुला अपमान हरु पनि सहेर बस्थे तारा सरले । हाप छुट्टीमा सबै सर हरुले चिया खाने होटलमा नगएर तारासर तारुक गाउँ तिर निस्कन्थे । त्यसरी गाम्लेका घरमा गएर उनि मोही खाएर आउथे भन्ने चाल जब हेडसरले थाहा पाए त्यसपछि ति तारासर को नाम नै “मोही” राखिदिए ।पछी ति हाम्रा दाइ हुन् बिचरा तारा सर उनको नाम नै मोही रहन गयो, गिज्याउने नाम ।अहिले सम्म पनि उनको पछाडी उनको कुरा काट्दा मोही भनेर गिज्याउछन फटाहा हरु । यो नाम दिलिप प्रकाश पराजुली हेडसर ले बिगारेका हुन् ।

स्कुलको आडमा नै थियो त्यो लाहुर्नी आमैको भट्टी। त्यहा बाहुन हरु भट्टी भित्रै बसेर चिया नास्ता गर्थे भने पिर्तिपे कामि हरु पिंढीमा टुसुक्क बसेर कोहि बाहुन आउला र एक कप चिया अफर गर्ला भनेर कुरिरहेका हुन्थे । ज्याला मजदुरी गरेर फर्केका हलीहरु बाहिर पिंढीमा या आगनको घांचमा बनेको बाँसको टाँण (एक किसिमको बेन्च-बाँसको सोफा) मा बसेर गिलासमा लोकल रक्सि तन्काउथे र गिलास धोएर एउटा कुनामा घोप्ट्याएर छाड्थे अनि हाम्रा सर हरु र ढुंगाकाटे बाहुन हरुले आपसमा लगाएका गफ सुनेर बसिरहन्थे ।

हाम्रो स्कुलमा पढाइ बिरलै हुन्थ्यो । सर आउनुहुन्थ्यो केहि पढ्न र केहि घोक्न दिएर पसल तिर गैहाल्नुहुन्थ्यो । कक्षा बाट केटाकेटी बाहिर निस्कन मनाही थ्यो । मुत्न आयो भने पाले दाइ लाइ सोधेर कर्सामा गएर तुरुन्तै फर्कनु पर्थ्यो । हाम्रो पालेदाइको नाम “तारुके गोमे” थ्यो । उनको नाम गोमे कसरि रह्यो त्यो थाहा हुन सकेन । सायद उनको गालि गर्ने या बिगारिएको नाम थ्यो होला । तारुक भन्ने ठाउँमा उनको छर भएको कारण उनि तारुके भए होलान अनि गम प्रसाद या यस्तै केहि नाम लाइ बिगार्दा 'गोमे' भए होलान भन्ने मेरो अनुमान रह्यो । तर कोहि गोमा भन्ने स्त्री संग सल्केको कुरा बिस्तारै फैलिएको अथवा उनलाई छोडेकी उनकी श्रीमती को नाम गोमा भएको कारण उनि गोमाको पोइ गोमे भएको पनि हुन सक्छ यो अनुसन्धान को कुरा भयो ।

गोमे पालेदाइ अविवाहित हुन अथवा उनकी श्रीमती पोइल गएकी हुन् त्यो थाहा भएन तर उनि एकल पुरुष थिए । स्कुल अगाडिको आगन जसलाई ग्राउण्ड भनिन्थ्यो त्याहा लामो भाटो बोकेर टुसुक्क पालेदाइ सिग्रेटको धुवा उडाउदै कुरिरहन्थे । पालेदाइ लाइ केटाकेटी ले भनेको नमान्दा त्यो लौरो ले सोठ्याउने अधिकार हेडसरले नै प्रदान गर्नु भएको थियो । त्यसैले पनि नटेर्ने केटाकेटी लाइ उनि लौरो ले कुट्थे । केटाकेटीको सातो जान्थ्यो पालेदाइ संग । उनलाई नसोधी पिसाव फेर्न जानु अपराध नै हुन्थ्यो र दण्डको भागीदार बन्नु पर्थ्यो । अझ फलानाले टेरेन भनेर पालेदाइले कुरा लगाइदिए कुनै सर लाइ भने मास्टरको झापड कानमा यसरि बज्रन्थ्यो कि त्यो झापड खानु भन्दा पालेदाइ लाइ टेर्नु नै उपयुक्त हुन्थ्यो त्यसैले पनि फाटेको घेरो भेतो टोपी र पुरानो आस्कोट लगाएको गोमे पाले देखेपछी चिचिला केटाकेटी थर्कमान हुन्थे ।

सर हरुले दिने सजाय पनि बिद्यार्थी हेरेर फरक पर्थ्यो । स्कुलको छेवैमा घर भएका ढुंगाकाटे हरुका केटाकेटी हरु प्राय पिटाई खादैनथे । फस्ट या होलफस्ट पनि तिनै हुन्थे । अबिर तिनैले लगाउथे । कापी पुरस्कार तिनैले पाउथे । र कक्षाको दादा अनि पुरै स्कुलको दादा समेत तिनै हुन्थे । हाम्रो पलामा ढुंगाकाटे झुपे तिन कक्षाको दादा थियो भने त्यसको दाइ ५ कक्षामा पढ्थ्यो त्यो पुरै स्कुल को दादा र फस्ब्वाई थियो । मयाँ भन्ने उनीहरूकी बैनी थिई जो केटि हरुकी दादिनी थिई र कक्षामा सेकेन्ड पनि हुन्थी ।पछी त्यो मायाँ तारुके भोले संग पोइला गइ ठुली भएपछी सायद १० मा पढ्दा होला ।क्षेत्रि संग भागि भनेर गाउमा ठुलै खैलाबैला भयो र पछी साम्य पनि भयो । केटाकेटी हरुलाइ सर हरु फलानाको छोरा छोरी भनेर चिन्थे । प्राय केटाकेटी हरुको नाम सर हरु लाइ थाहा हुन्थेन । कसको छोरो हो भनेर सोध्नुहुन्थ्यो र त्यहि अनुसार को नाम बन्थ्यो ।

मोटाघाटा पाखुरा भएका बाहुन केटा भन्दा ठुला कामि केटा हरु पनि पढ्थे हामी संगै । तर तिनीहरु कहिल्यै कक्षाको दादा हुन पाउदैनथिए ।साँच्चै लड्ने भने लिखुरे बाहुन लाइ झिरिप पार्न सक्ने कामि केटा हरु समेत बिष्टका छोरा हरु संग थर्कमान भएर कक्षाको एउटा कुनामा बसिरहन्थे । बाहुन हरु संग छोईएर बसेपनि सर हरुको लागि राखेको या पाले दाइले राखेको गाग्रो बाट उनीहरु ले पानि खान पाउदैनथे । बाहुन हरुले खुरुक्क निकालेर खान पाउने पानि कामि हरुलाई भने पाले दाइले निकालेर अलक्क खुवाउथे । उनीहरुले पानीको गाग्रो छुने अधिकार थिएन ।उनीहरु लाइ तिर्खा लागेपनि पालेदाइ कुरेर बसीरहन्थे र गोमे पाले आएपछि उनीहरुलाई अलक्क पानि खुवाउथे । कामि केटो घोप्टि परेर मुखमा अन्जुली थाप्थ्यो र लगभग एक फिट भन्दा माथि बाट गोमे पानि खान्याउथ्यो ।

यसरि नै केहि बर्ष मैले टापुको स्कुलमा बिताएँ । एक र दुइ कसरि पास भएँ त्यो थाहा पाइन ।अझै अलि अलि सम्झना त छ तर जांच यस्तै थियो या रिजल्ट यस्तै आको थ्यो भन्ने कुरा सम्झना छैन । तर तिन कक्षा भने मेरो अन्तिम कक्षा थियो टापु स्कुलको त्यहि भएर अझै सम्म कक्षा तिनका कुरा हरु ताजा नै छन् । हामी हरु ३ भाइ संगै कक्षा ३ मा पढ्ने यौटै कक्षा यौटै बेन्चमा बसेर । खै हेडसर को हो कि टिकाराम सर को हो हाम्रा बा संग लेनदेन या साँवा ब्याजको बारेमा गलफत्ती परेको थियो अरे । हामी लाइ थाहा छैन तर पहिलो बर्ष तीन कक्षामा हामी तिनै दाजुभाई फेल भयौं । फेरी दोहोर्याएर पढ्छन केहि छैन भन्नुभयो बुबा ले । फेल हुनु सामान्य कुरा हो तिमीहरु ले पढेनौ त्यहि भएर फेल भयौ भन्नु भयो र अर्को बर्ष पास हुनुपर्छ भनेर हौसला नि दिनुभयो ।

अर्को बर्षको रिजल्ट आयो । हामी तिनै जना फेरी फेल भयौं । त्यस पछी बा स्कुल मै पुगेर मास्टर हरु लाइ हकार्नुभायो ।मेरा छोरा हरुले लेखेको कापी चाहियो म पनि मास्टर हुँ बुझ्छु कस्तो लेखे र फेल भएका हुन भनेर झगडा गर्नुभयो तर दिलिप हेडसर र टिकाराम दुइ पराजुली भाइ मिलेर हाम्रा बा लाइ हाम्रो कापी हेर्न दिएनन । म तिन कक्षा फेल नै हुन पर्ने बिद्यार्थी होइन ।यादब दाइले त कट्टु मै छेर्यो रिजल्टमा नाम नआउदा ।त्यसपछि बुबाले त्यो स्कुल छुटाएर हाम्लाई सिम्ले स्कुलमा कक्षा ४ मा भर्ना गर्दिनुभयो बुबाले त्यो स्कुलमा पनि बुबाका साथि नै हेडसर हुनुहुन्थ्यो ।चार कक्षामा हामी पास भयौं ।साँझ बा ले भन्नुभाको कुरा अझै याद छ मलाइ । ब्याज दुइ तिर्छु भनेको थियो मैले ३ का दर ले मागें त्यहि भएर मेरा छोरालाइ फेल गराइदियो फलानाले भनेर सरको नाम लिनुभो । ठुला हरुको मन मुटावको शिकार भएको रहेछ हाम्रो रिजल्ट अहिले आएर कुरा बुझे जस्तो लाग्छ मलाइ ।

दुर्गा पंगेनी

कोई टिप्पणी नहीं