अपडेट

स्याङ्गजाली लोक संगीत र आँधिखोले सभ्यता

लोककला पुरातन समाजको स्वरूप ब्यक्त गर्ने एउटा शसक्त माध्यम हो । हिजो समाजको स्वरूप कस्तो थियो भन्ने प्रमाण हो लोककला । हिजोको संस्कृतिको छाप हो लोककला । परिवर्तन र आधुनिकताको चपेटामा परेको समाजका सबै परिवर्तन हरु सुखद हुँदैनन् । व्यक्ति, परिवार र सिंगो समाजको भलाइका निमित्त सुरुभएका चलन हरु कालान्तरमा परम्परा बनेर रहेका हुन । लोककलाको उपयोग बाटै समाज परिवर्तन हुन सुरु भएको हो । कतिपय आवस्यकताको कारण भएका आविष्कार हरु समेत हाम्रो संस्कृतिका अभिन्न अंग बनेर हाम्रो परम्परा संग छुटीनै नसक्ने गरेर जोडिएर रहेका छन् । 

लोककला हाम्रो समाजको अभिन्न पाटो हो, लोक संस्कृतिले नै हाम्रो समाज लाइ जीवन्त बनाएर राखेको छ । हाम्रो देश नेपालको लगभग केन्द्रमा रहेको पौराणिक कालको सिंजाको आधुनिक स्वरूप स्याङ्गजा जिल्ला लोक कलाको अत्यन्तै धनि जिल्ला हो । जातीय र कलात्मक बिबिधतानै हाम्रो जिल्लाको पहिचान हो । 

समग्र लोककलाका मुख्य पांच विधा हरु मूर्तिकला,काष्ठकला,धातुकला,चित्रकला र संगीत एबं नाट्य कला मध्ये स्याङ्गजामा धातुकला ब्यबसायकै रुपमा स्थापित भएको कलाकारिता थियो कुनै समयमा । बिश्वकर्मा जातको पेशा भनेर चिनिने धातुकला अहिले मेटिदै गईरहेको छ । परिवर्तन र आधुनिकताको चपेटामा परेको धातुकलाको काम हुने ‘आरन र सुन ब्यबसाय’ को अहिले अस्तित्व भेट्न गाह्रो हुदै गईरहेको हामी देख्न पाउछौं । सुन चाँदीका गहना बनाउने कलात्मक ब्यबसाय पनि मेसिनमा बनेका गहनाको कारण बिस्थापित हुँदै गएको देख्न र अनुभव गर्न सकिन्छ । धातुकला सँगसँगै काष्ठकला र मूर्तिकला पनि स्याङ्जाका प्राचिन पाटीपौवा हरुमा देख्न पाइन्छ तर अधिकांस पाटीपौवाहरु नष्ट भएका कारण पुरातन काष्ठकला र मूर्तिकलाका नमुना हरु नासिदै गईरहेका छन् । सामान्य जनजीवनको लागि आवस्यकताको कलाकारिता धातुकला पछी स्याङ्जामा सबैभन्दा प्रख्यात लोककला भनेको संगीत एबं नाट्यकला हो । संगीत एबं नाट्यकला मध्ये स्याङ्गजाली लोक संगीतकलाको बारेमा यहा केहि चर्चा गरौँ। 


हरेक मुलुकका आ-आफ्नै संस्कृति र परम्परा अनि चाल चलन अनुसारका लोकगीतहरू हुन्छन् । नेपालका पनि सातै प्रदेश समेत समग्र भूभागमा चलन चल्तीमा रहेका लोकगीत हरूको समग्र स्वरूप नै नेपाली लोकगीतको स्वरूप हो, जसको उत्पत्तिको कारण र तरिका लगभग एउटै छ र इतिहास पनि उस्तै छ अनि बिकाश क्रम पनि मिल्दोजुल्दो छ । अहिलेसम्म मोटामोटी रूपमा मात्र सबैतिरका लोकगीतका सामान्य स्वरूपहरु बटुलेर नेपाली लोकगीतहरूको एउटा रुपरेखा तयार पारिएको छ तर विभिन्न क्षेत्रमा पाइने लोकगीतहरूको समग्र संकलन भने हुन हुनसकेको छैन । साँच्चै भन्नुपर्दा हाम्रो देश भित्र कति किसिमका लोकभाका हरु प्रचलनमा आए र कति हराए अनि कति भाकाहरु संकलन गरेर जगेर्ना गरियो भन्ने तथ्यांक कतै राखेको देखिएको छैन । 


नेपाली लोकगीतको सुरुवाती चरण पछ्याउदै जादा पौराणिक साहित्य सम्म पुगिन्छ । भजनलाइ स्याङ्जाको अत्याधिक पुरानो लोक साहित्य मान्नु पर्ने हुन्छ । अहिले पनि उत्तिकै लोकप्रिय भगवानको स्तुतिगान भजन चलन चल्तीको गीत हो । भजनलाइ पनि कैयन भाकाहरुमा ढालेर गाउने चलन छ । भजन गाईने ख्याली भाका सबै भन्दा लोकप्रिय छ । धेरै कलाकार हरुले आधुनिक बाजा मिसाएर भजन लाइ रेकर्ड गर्ने काम पनि गर्नुभएको छ । त्यसरी रेकर्ड गर्दा भजनको मौलिकता अलिकति खस्केपनि आधुनिक प्रविधिको कारण कर्णप्रिय नै सुनिन्छ । खास गरि भजनमा खैजडी,मजुरा,मृदंगा र थपडी मुख्य बाजा मानिन्छ । अहिले भने कम्प्युटर बाट गरिएका प्रोग्रामिङ्ग हरुले भजनलाई चर्को बनाएकाछन । लोक गायकहरु प्राय सबैले केहि न केहि भजन रेकर्डको लागि भएपनि गाएकै छन् । 

स्याङ्जाली लोकसाहित्य र आँधीखोले सभ्यता

स्याङ्गजा जिल्लाको मुख्य सभ्यता मझौला नदि संग जोडिएको छ । हुन त बिकट लेक हरु नभएका होइनन फेरी पनि स्याङ्गजा जिल्लाको बिचोबिच भएर बग्ने आँधीखोला नै स्याङ्गजाली सभ्यताको मुख्य आधार हो । स्याङ्गजा जिल्लाका साना ठुला प्राय सबै खोलाहरुको नाम को पछाडी ‘डी अथवा दि’ आउछ । आँधी,(आँदि), ज्याग्दी, लुब्दी, मिर्दी, अर्मादी, च्याङ्गदि, फौदी लगायत खोला हरुले स्याङ्गजाली भुमि सिंचित मात्र गर्दैनन् स्याङ्गजाली सभ्यतालाई फैल्याउने काम समेत गर्दछन । मगर भाषामा पानी लाइ दि भनिने कारण पनि हरेक खोलाको नामको पछाडी दि लाग्ने गरेको कुरा लोक कथा र किम्बदन्ती हरुमा सुन्न पाइन्छ । आँधीखोलाको किम्बदंति हाम्रो देशको सबैभन्दा लोकप्रिय किम्बदन्ती हो त्यो सर्वविदित नै छ । 

स्याङ्जा जिल्लाको लगभग मध्यभागबाट बग्ने ठुलो खोलोलाई ‘आँधीखोला’ नामले चिनिन्छ । स्याङ्जाको डहरे देउरालीबाट उत्पत्ति भई सेतीदोभान, स्याङ्जा, वालिङ, गल्याङ हुँदै मिर्मीमा पुगेर कालीगण्डकीमा मिसिने यस खोलाले पहाड तिर बाट बग्दै आउने दर्जनौं खहरे हरुलाई समेट्दै अगाडी बढेको छ । आँधीखोलाले स्याङ्जा जिल्लालाई सांस्कृतिक रुपमा एकीकृत गर्दै भौतिक रुपमा दुई चिरामा विभक्त गरेको छ । विभिन्न जातजाति, धर्म संस्कृतिका मानिसहरूको बसोबास रहेको यस खोला आसपासका बस्तीहरूमा नेपाली लोकसाहित्यको भण्डार रहेको अनुभव गर्न सकिन्छ । 

दिनभरि मेलापात उकाली ओराली नगरी नहुने कृषि यहाको मुख्य पेशा भएको कारण मेलापातमा गाइने बेग्लै खाले गीत हरु छन् । रोपाइँ गर्दा गाईने असारे भाखा लोकप्रिय भाखा हो । मेलो बिसाएर थकाइ मार्दा बजाइने चिलाउनेको पातको आवाज, बस्तुभाउ चराउदा बजाइने मुरली बाँसुरी देखि रोधिमा घन्काईने खैजडी,मजुरा र मादल हरेक लोकबाजा स्याङ्जाका पहिचान हुन ।तिनै बाजा र तिनै लोकसंगीत र धुनलाई नै मनोरञ्जनको प्रमुख साधन बनाएको पाइन्छ स्याङ्गजामा । 

उखान टृक्का, गाउँखाने कथा आदि यस क्षेत्रका बासिन्दाका जनबोली र हरेक लवजमा भुन्डिएको आभास हुन्छ । कुराको सुरुवात उखान बाट र अन्त्य कुनै टुक्काबाट गर्नु अनि प्रसङ्ग अनुसारका उखान टुक्काको प्रयोग गर्नु आँधीखोले परम्परा नै हो । तिनै उखान र टुक्काहरुको कारण स्याङ्जाली लवज सुनुरहुँ लाग्छ र स्याङ्गजाली हरु संग बोलिरहुँ जस्तो लाग्छ । त्यसैगरी दोहोरि गीत त यस क्षेत्रको मनोरञ्जनको अत्यन्तै महत्वपूर्ण साधन हो । गाउँमा हुने स्वास्थानी,सत्यनारायणको पूजा, सप्ताह आदिमा गुन्जने भजनका अतिरिक्त युवक र युवतीका बैंशालु दोहोरी गीतहरु स्याङ्गजाली लोक साहित्यका अभिन्न पाटा हुन । 

जनजाति हरुको घना बस्ती रहेका क्षेत्रहरुमा रहेको रोधी संस्कृति पनि स्याङ्जाली मौलिकता हो । रोधीले पनि लामो ईतिहास बोकेको छ । ठ्याक्कै कुन समय बाट रोधी परम्पराको सुरुवात भएको हो भनेर यकिनका साथ् कतै उल्यख गरेको नपाइए पनि बैदिक काल देखिनै रोधी परम्परा रहेको अनुमान गर्न सकिन्छ । 

मादलको घिन्ताङसँगसँगै गुरुङ र मगर युवायुवतीमा गुन्जने सालैज्योका भाका हरु, रोइला ख्याली र ठाडोभाका मा गायीदै आएको दोहोरि अब नया स्वादका गीत हरु गाएर खेलिन्छ । दोहोरि गीत मात्र नभएर प्रतियोगिता पनि हो । हार र जित स्पष्ट देखिनेगरी प्रष्ट नभएपनि जसले बढी माया गर्छ उसले हार्नु र आफुले माया गरेको मान्छेलाइ जित्न दिनु दोहोरि गायनको सबै भन्दा सापेक्षित् पक्ष हो । 

लोक संगीत् र लोक संस्कृतिको धनी आँधीखोला क्षेत्रमा पर्व बिशेषका भाका तीजका गीत देखि देउसी भैलो सम्म र उत्सव विशेषका भाखा हरुमा भजन देखि रत्यौली सम्म सबै उत्तिकै लोकप्रिय छन् । सालैजो,झ्याउरे, ख्याली र चुड्का हरु मुख्य स्याङ्जाली लोक भाकाहरु हुन । 

आँधीखोला क्षेत्रका गीतहरुमा क्षेत्रिय बयान या स्थानीय प्रसङ्ग हुनु आँधीखोले गीतको अर्को बिशेषता हो अधिकांश वनजङ्गल तथा प्राकृतिक शुन्दरताको बयान, जनजीवनको बयान, रहन सहनको बयान ईत्यादी यो क्षेत्रका गीत हरुमा भेटिने बिशेषता हरु हुन् । गीतहरु रेकर्ड हुन थालेपछि स्याङ्जा जिल्लाबाट सर्वप्रथम रेडियो नेपालमा गीत रेकर्ड गराउने कलाकार सावित्री शाह, चन्द्रबहादुर सेन जस्ता कलाकार हरुले आँधीखोले लोक सभ्यता लाइ देशव्यापी बनाउन उल्यख्य योगदान पुर्याएका छन् । “आँधीखोला उर्लेर आयो, आउने थिइन मायाले बोलायो” “बलाम देबिथान” ‘मिर्मिमुनि काली थुनेको” लगायत सयौंको संख्यामा स्थानीय ठाउका नामहरु लाइ लयात्मक रुपमा उनेर गीत हरु रेकर्ड भएका छन् । 

आँधीखोले लोकगीतको आधुनिकीकरण प्रभाव र स्याङ्जाली कलाकार हरु

धेरै गायक तथा गायीका हरु स्याङ्जाली गायन क्षेत्रका नमुनाका रुपमा परिचित छन् । पछिल्ला केही वर्ष यता लोक तथा दोहोरी गीत संरक्षणको बाढी नै आएको छ । हिजोका दिनहरूमा लोकगीतलाई परम्परागत गीत मानेर अथवा परिवर्तनलाई आत्मसात गर्न नसकेको विधा ठानेर लोक गायन र लोक गीत लाइ हेयको दृष्टिले हेर्ने र अंग्रेजी र्याप, हिन्दि पप र सुफी गीत हरु तर्फ आकर्षित भएका पुस्ताहरू पनि यस समयमा लोकगीत र गायन तर्फ आकर्षित भएका छन् । यसैको फलस्वरुपः नेपाली सञ्चार जगतमा लोकगीतले नै महत्वपूर्ण स्थान पाउन थालेको छ । तर बजार बिस्तार संगै लोक गीतको मौलिकता र पहिचानमा थोरै थोरै परिवर्तन चाहि हुदै गएको छ खास गरि सिनेमा हरुमा प्रयोग गरिएका लोक भाका हरुलाई फ्युजनको नाममा धेरै नै परिवर्तन गर्ने गरिएको छ । 

लोक दोहोरीको ब्यबसायिक पक्ष हेर्नेहो भने पनि निराशाजनक छैन । ठुला घरानाका ग्राहक मात्र मनोरन्जन गर्न र संगीतको स्वाद लिन रेष्टुरेन्ट जाने परिपाटीको दोहोरि साँझ हरुले अन्त्य गरिदिएका छन् । वनपाखा र रोधी हरुमा गुञ्जने लोकगीत यतिबेला शहर, गल्ली हुँदै कोठा,चोटामासमेत गुञ्जन थालेका छन् । हालांकी दोहोरि साँझ हरुका पनि नकारात्मक पाटा हरु नभएका होइनन तर ठ्याक्कै नेपाली मौलिक संस्कृति र आधुनिक ब्यापार लाइ मिसाएर गरिएको सांस्कृतिक व्यापारले लोक गीत संगीत लाइ अर्को उचाई प्रदान गरेको छ । त्यसै बाट धेरै कलाकारले जीविकोपार्जन समेत गरिरहेका छन् । 

लोकगीतको आधुनिक युगको यो बाढीले स्याङ्गजा जिल्लालाई धेरै राम्रा र अमुल्य कलारत्न हरु उत्पादन गरेर दिएको छ । दोहोरि साँझ युगको सुरुवात संगै जसै आँधिखोला भन्दा माथि पहाड,लेक र कुनाकाप्चाबाट लोकगीत सुसाउँदै अनेकथरि लोकगायक गायिकाहरू शहरतिर झर्न थाले सांस्कृतिक परिवर्तन र बिकाशको फाइदा उनीहरूले पनि उठाए । आफ्नै मेलापातका, आफ्नै रोधिका, आफ्नै स्वास्थानिका र आफ्नै परिवेशका लोक शब्द हरुलाई टपक्कै टिपे आफ्नै पंधेरी हरुका, आफ्नै पाखा पखेरा हरुका भाका हरुमा उनेर क्यासेट बनाए र तिनै भाखा हरुलाई दोहोरि रेष्टुरेन्ट हरुमा आफैले गाए, रेडियोमा बजाए, बग्रेल्ती टोल टोलमा खुलेका रेष्टुरेन्ट र जिल्ला जिल्लामा खुलेका एफ एम रेडियो हरुले नयाँ खाले लोक गीतलाई कुना कुना सम्म फैलिन मद्दत गरे अनि हरेक जसो जिल्ला हरुले आयोजना गर्ने महोत्सव हरुबाट लोक कलाकार हरुले प्रसिद्दीको साथमा पैसा पनि कमाउन थाले । 

चेतन कार्की, चन्द्रबहादुर गाहा, सावित्री शाह, दिलबहादुर श्रेष्ठ जस्ता लोक सर्जक हरुले हाम्रो लोकगीतको संरक्षणमा लगाएको गुनको व्याख्या छोटो आलेखमा गर्न सकिंदैन । त्यस्तै वर्तमान समयमा चर्चित लोकगायक गायीका पुरुषोत्तम न्यौपाने , भगवान भण्डारी, एकनारायण भण्डारी, रमेश वि.जी., शर्मिला गुरुङ,पशुपति शर्मा, रामजी खाँण, खुमन अधिकारी, कला पंगेनी,राजु गुरुङ, शंकर विरही गुरुङ, गोपाल जि.टी. अर्जुन गैहै, बिष्णु माझी, घनश्याम रिजाल, सुजन लम्साल, शिव हमाल,गोपीकृष्ण पंगेनी, आदि कलाकार हरु लोक भाखाको संकलन र लोक संगीतको जगेर्नाको लागि अहोरात्र खटिरहेका छन् । यहा नाम उल्येख हुन छुटेका अन्य धेरै लोक श्रस्ठा स्रष्टाहरू स्याङ्जाली लोक संस्कृतिका उज्याला नक्षत्र हरु हुन् । समग्र नेपाली लोकगीतको विकासमा यिनीहरूको योगदान अतुलनीय छ । 

अहिले स्याङ्गजाली कलाकार हरुलाई एकत्रित गर्ने उद्देश्यले संस्था पनि गठन भएको छ । सर्जक रमेश बिजीको अध्यक्षतामा स्याङ्जाली कलाकार सदन गठन भएको छ । जसको प्रथम उपाध्यक्षमा रामजी खाँड, द्वितीय उपाध्यक्षमा पशुपति शर्मा, महासचिवमा शिव हमाल, सचिवमा घनश्याम रिजाल, कोषाध्यक्षमा शंकर विरही गुरुङ, सह–कोषाध्यक्षमा भीमु गुरुङ रहेका छन् । सदनको सदस्यहरुमा कृष्ण आँसु, गोपाल जिटी, सुजन लम्साल, राममाया गुरुङ, प्रसाद लामिछाने, निर आले, उमादेवि खनाल, ओम गुरुङ र सुनिता नेपाली जस्ता कलाकार हरु रहेका छन् । सांगठानिक रुपमा एकत्रित हुदै गएका कलाकार हरुले आँधिखोले सभ्यता र स्याङ्गजाली लोक संस्कृतिको जगेर्ना गर्न कुनै क्षर बाकि राख्ने छैनन् भन्ने कुरा मा बिश्वस्त हुन सकिन्छ । 

दुर्गा पंगेनी, 
स्वरेक-३ पंचमुल स्याङ्गजा

कोई टिप्पणी नहीं