अपडेट

लोक दोहोरीमा रक्सी प्रयोगको बिरोध - दोहोरो मापदण्ड कि दोहोरो चरित्र ?

केहि दिन अगाडी एउटा फरक धारको “दोहोरि गीत” बजारमा आयो । डिजिटल बजारमा त्यो गीतको बारेमा फरक फरक बहस हुनु स्वाभाविक थियो । अहिले दर्शक हरु यति स्वतन्त्र छन् कि गीत हेरिसकेपछि त्यो गीतको बारेमा जे मन लाग्यो त्यहि कुरा त्यहि गीत राखेकै स्थानमा आफुले हेरेकै बखत लेख्न पाउछन र गम्भीर भएर गीत हेर्ने हरुले लेख्छन पनि । दोहोरि ब्याटलको बारेमा पनि त्यस्तै मिश्रित प्रतिक्रिया हरु आए । मिश्रित प्रतिकृया कलाकारको सबै भन्दा ठुलो कमाइ हो । सबैले वाह वाह मात्र गरेको पनि राम्रो होइन । आलोचना हरु आए भने कलाकार हरुले आफुलाई थप सुधार्न पाउछन । त्यस्तै भयो त्यो गीतमा पनि अपेक्षाकृत नै प्रतिक्रिया हरु आए ।

हाम्रो देशका हरेक नागरिक स्वतन्त्र छन् त्यसरी नै कलाकार हरु पनि आफ्नो अभिव्यक्तिको लागि स्वतन्त्र छन् यो कुरामा दुइमत हुनै सक्दैन । प्रचलित कानुनको दायरा भन्दा बाहिर गए कारवाही हुन्छ नै नत्र हरेक नागरिकको अभिव्यक्ति स्वतन्त्रता संबिधानले नै सुरक्षित् गरेको छ ।

दोहोरि ब्याटलको बारेमा सबै बोले सबैले आफ्नो आफ्नो बिचार राखे कसैले बिरोध गरे कसैले समर्थन गरे कसैले नया स्वादको गीत भनेर अत्यन्तै सह्राहना समेत गरे तर जहाँ बाट त्यो गीतको बारेमा आधिकारिक धारणा आउनुपर्ने थियो त्यहा बाट कुनै धारणा आएन । राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमिति र गायक आफै संलग्न भएको प्रतिष्ठान कै उपत्यका समन्वय समिति बाट समेत कुनै आधिकारिक धारणा बाहिर आएको हामीले सुन्न पाएनौं । कतै फेसबुक स्टाटसका रुपमा या कतै न्युज पोर्टल या ब्लगको रुपमा पनि संस्थागत धारणा बाहिर आएन । संस्थाले कुटनैतिक पाराले यो गीतको बिरोध सुरु गर्यो । कुटनैतिक पनि नभनम “खुराफाती” तरिकाले भित्र भित्रै गायकले गीतको अफिसियल भिडियो डिलेट गर्नै पर्ने गरि दबाव सृजना गरियो । गायकले जसले भनेको मान्छ अथवा नैतिक रुपमा उसलाई कसले च्याप्न सक्छ उनीहरुलाई नै बबुरो गायकको बिरुद्द भड्काएर “हुक्का पानि बन्द” को अवस्थामा पुर्याएर त्यो गीत सुधार गरेर फेरी अपलोड गर्ने गरि अन्ततः डिलेट गराईयो ।

आज भन्दा अगाडी कति वटा गीत आएका छन् युट्युबमा जुन गीत हरुलाइ अश्लिल भएको आरोप लागेका छन् ? कतिपय गीतमा त संस्थागत बिरोध पनि भएकै हो तर पनि गीत डिलिट गराउन कसैले सकेनन किनकि ति गीतका सर्जक लाइ नैतिक रुपमा दबाबमा पर्न सकिने अवस्था थिएन । संस्थाले बिरोध गर्यो कलाकारले एउटा कानले सुने र अर्को कानबाट उडाइदिए ।

भाकामा खासै खोट लगाउने ठाउँ थिएन त्यसैले उक्त गीतको बिरोधको लागि कुटनीतिज्ञ(खुराफाती)हरुले मुख्य दुइ तिन वटा कारण समातेका थिए ।

क) थेगोमा प्रयोग भएको “लै बालै फरर”

ख) “बियर पिएको दृश्य” र

ग) भिडियोको क्लाइमेक्स (झगडामा रफ शब्द प्रयोगको लिप्सिंग अनि “माझि औंलो देखाउनु”) ।

अब चर्चा गरौँ ति दृश्य र वास्तविकताको बिचमा:

क)बालै फरर: यो थेगो अधिकांश लोक गायक गायिका हरु बरिष्ठ देखि कनिष्ठ सम्मले साधारण बोलीचालीको भाषामा दैनिक प्रयोग गर्ने शब्द हो । आपसमै संगै बोल्दा या आफुहरु आपसमा च्याट गर्दा कति लोक गायक हरुले बालै फरर भन्छन लेखाजोखा छैन ।स्टुडियो अगाडि जम्मा भएको कलाकारको भिडमा पुगेर एकछिन जल्दा बल्दा लोक गायक हरुको वार्तालाप सुन्नेहो भने त्यो थेगो कति लोकप्रिय छ भन्ने कुरा स्पष्ट हुन्छ । आफुहरूले दैनिक प्रयोग गर्ने थेगो गीतमा आउदा बिरोध गर्ने हरुले आफ्नो बोलीचाली पनि सुधार गर्नुपर्छ ता कि भोलि फेरी यस्तै थेगो हरु प्रयोग गरीए बिरोध गर्ने नैतिक अधिकार रहोस । अहिले जस्तो खुराफाती तरिकाले बिरोध गर्न नपरोस ।

ख)रक्सीको प्रयोग: सुन्दा अचम्म लाग्न सक्छ कि दोहोरि गीतको भिडियोमा ठाडो घाँटी लगाएर बियर पिएको दृश्य राख्नु राम्रो मानिएन । त्यस्तो दृश्य लोक दोहोरीमा कतै स्वीकार्य हुनेछैन । तर प्रतिष्ठानको राष्ट्रव्यापी दोहोरि गीत प्रतियोगीताको पृष्ठभुमिमा कुनै भोड्का मिठो छ भनेर राखिएको बिज्ञापन स्वीकार्य छ । अर्ना बियरले अहिलेको प्रतियोगीता प्रायोजन गर्दैछ । भिडियोमा बियरको प्रयोगको बिरोध गर्ने अग्रज हरुले आफ्नो कार्यक्रममा “पन्चामृत” बनाउने कुनै कम्पनि खोजेर प्रयोजन गराउन किन सकेनन ? यहा बाट के प्रमाणित हुन्छ भने ठुलो रकम दिने दाताको सबै कुरा अनुशासित हुन्छ सायद । हरेक साँझ दोहोरि रेष्टुरेन्टमा लोक गीतका भाका हरु संगै बेचिने सम्मानित खाद्यबस्तु हो बियर । बिना बियरको दोहोरि रेष्टुरेन्ट कसैले चलाएर देखाओस अनि बल्ल भिडियोमा बियरको प्रयोगको बिरोध गर्न उसलाई नैतिकताले दिन्छ । लोक दोहोरीको चिर हरण त दोहोरि साँझ हरुले नै सुरु गरेका होइनन र ।

ग)भिडियोको क्लाइमेक्स: अश्लिल हाउभाउ सहितको क्लाइमेक्सको पनि खुराफाती तवरमा चर्को बिरोध गरियो । अब एकछिन दोहोरि रेष्टुरेन्टको भ्रमण गरौँ । दोहोरि गीत चलिरहेको स्टेजको तल र रेष्टुरेन्ट हरुका चेन्जिंग रुम तिरको केहि दृश्य हरु मन मनै कल्पना गरौँ । रक्सि खाएर मातेको ग्राहकले कलाकार संग खेलेको दोहोरि सोचौं । उसको खुल्ला आग्रह सुनौं उसको आशय लाइ ध्यान दिएर गौर गरौँ अश्लिलता के हो त्याहा प्रष्ट हुन्छ । ठुलो बिल उठाउनको लागि दोहोरिका साहुले स्टेज बाट कलाकार उतारेर जड्याहा ग्राहक संगै बसालेर ब्यापार गर्न पर्ने दोहोरीको वास्तविकता बुझौं । रक्सीले मातेको ग्राहकले टिप्स दिने बहानामा कलाकारको संबेदनशिल अंगमा नोट घुसार्दा कलाकारको अनुहारमा देखिएको लाचारीमा भन्दा कलाकार संग रल्लिएको ग्राहकले तिर्ने पैसामा र्याल बगाइरहेको साहुको नियतमा हुन्छ अश्लिलता । भिडियोमा देखाइएको माझिऔंलो को दृश्यमा भन्दा लोकगीतका भाका हरुमा मिसाएर गरिएको “नखराको व्यापार”मा हुन्छ अश्लिलता ।

पृथ्वीको वरिपरी उपग्रहले चक्कर लगाएजस्तै सृजना, बिरोध र समाधानको केन्द्रमा खुराफाती हरु रहेसम्म यो चलनको अन्त्य हुने छाटकाँट देखिएन । अश्लिलताको परिभाषा संस्थागत बेग्लै र व्यक्तिगत बेग्लै हुन्छ र ?

धन्यबाद

दुर्गा पंगेनी

कोई टिप्पणी नहीं