अपडेट

जुत्ता बिदाइको पिडा

मैले कुचें, टेकें र लतारीरहें तिमीलाई । तिमी मलाई चुपचाप बोकीरह्यौ र ओसारीरह्यौ । तिम्लाई नै लगाएर कति ठाँउमा भलाद्मी हुन पुगें, कति पटक मन्दीर पुगें र तिम्लाई अछुत जस्तो बाहिरै मिल्काएर मैले मात्र भगवानको दर्शन गरें । तिम्ले मलाई टाईकोट लगाउदा पनि साथ दियौ । सर्ट पैण्ट लगाउदा पनि नाई भनिनौ । तिम्लाई छाडेर एक पाईलो कतै सरेन मेरो । तिम्रै भर परेर कैयौं किलोमीटरको यात्रा तय गरें र पार पनि गरें । मेरो ज्यानमा तागत हुँदा पनि तिम्लाई रगडें, म लखतरान हुँदा पनि तिम्लाई नै रगडें । एक मिनेट फुर्सत पाईनौ तिम्ले । फाट्ने अवस्थामा पुग्दा पनि तिम्रो अनुहारमा चेरीको पालीस घसी घसी तिम्लाई राम्री बनाउदै रगडें मैले । म आफैलाई फिट देखाउन तिम्रो थुतुनोंमा कालो पोतीरहें । तिमीमा प्राण हुँदोहो त उहील्यै उडीसक्ने थियो निष्प्राण थियौ र मात्र मेरो बोझ सजीलै संग धान्यौ ।

तिम्रो सोल संग जोडिएको ठाउबाट पत्र उक्किन खोज्दा मोचीको दोकानमा लगेर जमाई जमाई ल्याएर फेरी घिसारें । गमले नजोडीदा सार्कीले बडेमानको तिखो सियोले छेड्दै तिमीलाई धागो घुसारेर सियो छिराउदै सिलायो र तन्दुरुस्त बनाइदियो मैले त्यसपछि पनि तिमीलाई लगाएँ ।

प्रिय जुती, मैले सुरु सुरुका दिन अझै सम्झिरहेको छु । जतिबेला तिम्लाई मैले बजार बाट किनेर ल्याएको थिएँ । एक प्रकारको दह्रोपन थियो तिमीमा । एक किसिमको अकड़ जस्तो । मेरो खुट्टामा एकदम टाईट भएकी थियौ तिमि । मैले गुनासो पनि गरेको थिएँ र जबर्जस्ति आफ्नो खुट्टो तिमि भित्र छिराएको थिएँ । तिमि अलिकति तन्कियौ मेरो खुट्टो तिमि भित्र छिर्यो । जबर्जस्ति गरेको भएर होला केहि दिन तिमीले मलाइ कुर्कुच्चा माथि पट्टिको छालामा घोटेर दुखायौ । म पनि ढीट नै हुँ मान्छे । लगाउदा लगाउदै रगडिएर जुत्ता साईजमा आउछ भन्ने उखान सुनेकै थिएँ । तिमीले जति घोटेपनि जति दुखाएपनि तिम्लाई लगाएर बढेको आफ्नो व्यक्तित्वको कारण मैले दुखाइ तिर ध्यान दिनै पाइन । एकदिन तिम्ले दुखाउन छाड्छेउ भन्ने कुरामा ढुक्क थिएँ र त लगाई रहें लगातार । आखिर केहि हप्तामै तिमि बदलियौ र मेरो खुट्टाको आकारको साइजमा आफु लाइ ढाल्यौ । मेरो सजिलोको लागि आफ्नो साइज लाइ तिलान्जली दिएकी थियौ तिमीले त्यो कहिले बिर्षने छैन ।

सिग्रेटको ठुटो निभाउन तिम्रै नाक लगेर जोतें मैले । मलाइ ठेस लाग्दा जोगाउन तिम्ले आफ्नो तालु थापेउ । मैले गन्हाएका मोजा लगाएर आफ्नो खुट्टा जबर्जस्ति तिमीमा घुसार्दा आइया सम्म भनिनौ । कहिले टल्काएर लगाएँ कहिले मैलो नै लगाएँ –मैले कहिल्यै सोचिन कुनै छुट्टीको दिन तिमीलाई पनि राम्री हुने मन पो थियो कि ! बिदाको दिन तिम्रो मुखै हेरिन मैले तिमीलाई खाटमुनि मिल्काएर तिमि भन्दा सजिली चप्पलमा खुट्टा छिराएर पड्काउदै मार्निंगवाकमा निस्किएँ । म निस्कदै गर्दा तिमीले निरिह भएर मलाइ हेरेउ, तिम्री सौता त्यो चप्पल मेरो खुट्टामा सजिएर पार्क घुमीरही –अहिले मलाइ पछुतो परेको छ किन तिम्लाई पार्क घुमाईन मैले ? खालि अफिसको उकालो ओरालो मात्र गराइरहें ! अलि अलि फ्रेश हावा खाने रहर तिमीलाई पनि हुदोहो ..थुक्क मेरो बुद्दी !! आफैलाई सम्झेर रिस उठिरहेको छ अहिले ।

माया त तिम्लाई गरेकै हुँ मैले पनि -बजारमा धेरै राम्रा मोडलका जुत्ता आएका थिए तर मैले किन्न चासो देखाईन किन थाहा छ ? तिमि प्रति एक किसिमको लगाव थियो मेरो या फेरी नया जुत्ता किनेर फेरी खुट्टा दुखाउने जाँगर थिएन मलाइ फेरी पनि गोजीमा पैसा हुँदाहुदै पनि मैले अर्को जुत्ता किन्ने सोच बनाईन । कति पटक त पसल सम्म पुगेर पनि नकिनी फर्केको छु त्यो तिमि प्रतिको प्रेमकै कारण फर्केको हुँ म, तर साथिहरुले मलाइ कन्जुस भन्छन । ति साथि हरुलाई के थाहा म कति माया गर्छु तिमीलाई भनेर ।

एकदिन अचानक पानि पर्यो ! अस्ति भर्खरको कुरा त हो ! दर्कदै गरेको झरीमा म टाउको ओताउन ठाउँ खोज्दै थिएँ कस्तो बुद्दु म पनि ! आफ्नो टाउको ओताउने चक्करमा तिम्लाई दर्कदो बलेंसी मै छोडेंछु ! एक तहरो पानिले चुटेछ तिमीलाई ! त्यत्रो पानि पर्दाको बलेंसीले भिजेर पनि तिमि लत्रेकी थीइनौ । तिम्रो आकार अलिकति पनि बिग्रिएको थिएन । मैले घाममा सुकाएं । तिमि सुकेउ पनि तर तिमि भित्र बाट एक किसिमको नमिठो गन्ध ह्वास्स आयो । अब तिमीलाई लगाएर हिड्नेहो भने मेरा मोजा मात्र खराव हुदैनन् मेरो जागिर पनि फुत्कन्छ । अफिसमा हाकिमले गन्हाएको जुत्ता लगाएको आरोपमा मलाइ जागीर बाट निकाल्छ, कतै बसेर साथि संग गफ गर्दा तिमि गन्हायौ भने साथीले मलाइ छि छि गर्छ ! खादै गरेको नास्ताको स्वाद पनि यहि गन्धले पो बिगार्छ कि ? त्यसैले पियारी आज तिम्लाई फेर्दैछु म ।

तिमी फाट्यौ, टालेर लगाएँ, तिमि मैलियौ रंग पोतेर लगाएँ तर जब तिमि गन्हायौ मैले तिमीलाई लगाउन सकिन प्रिय त्यसैले फेर्दैछु तिमीलाई ! मलाइ माफ गर तिमी बाट मेरो मन भरिएको कारण फेरेको होइन मैले, म त लगाउन चाहान्थें अझै धेरै समय तिमीलाई । यो लामो संगतले म तिमि संग बानि परेको थिएँ । तिमीबाट दुर्गन्ध मात्र न आउदोहो त कसैको सिफारिस को जोर चल्ने थिएन ! कसैले मेरा जुत्ता नराम्रा भन्दैमा फेर्ने थिईन मैले कसैले सस्ता जुत्ता भन्दैमा फेर्ने थीइन तर के गरूँ त्यो गन्ध सहन सकिन र नचाहदा नचाहदै तिमीलाई फेर्नु पर्यो । र फेर्दैछु जे भएपनि आज बाट तिम्ले मेरो बोझ उठाउन पर्ने छैन ।

: ~अलविदा ‘पाउकी जुती’ अलविदा !! कुनै सोकेश बनाएर घरको भित्तामा तिम्लाई सजाउन सकीन मलाई माफ गर !!

दुर्गा पंगेनी

कोई टिप्पणी नहीं