चम्बु
एलिसाको चुङ्गल -कथा :
|
एलिसा, यो यौटा यस्तो
नाम हो जुन सुनेर धेरै मान्छे हरू तर्सन्छन् अचेल । झट्ट हेर्दा राम्री, मासुम अनुहार, पातलो कम्मर, खिरिलो ज्यान, ठुला ठुला आँखा र जो सुकैलाई एकै
नजरमा मोहनी लगाउन सक्ने नशालु हेराइ उसका खासियत हुन् । हेर्दा मोडल जस्ती
देखिन्छे उ । अझ फेसबुकमा उसले राखेका फोटा हेरेर त जोसुकै मान्छे भुतुक्कै हुन
सक्छ ।
एलिसाको अन्य खास काम या पेसा केही छैन । उसकी आमा समेत उस्तै चम्बु
छन् । छोरीको पक्षपोषण गर्नु र कतै विवाद हुँदा छोरीको पक्ष लिएर अन्य व्यक्ति सँग
झगडा गर्नु एलिसाको आमाको काम हो । जसरी होस् आफ्नी छोरीले गरेको काम ठिक हो भनेर
प्रमाणित गर्नु उनको धर्म हो । एलिसाको यौटा दाइ छ । उ काठमाण्डौमा म्यानपावर
एजेन्ट हो उसले समेत मौन धारण गरेर आफ्नी बहिनीको चर्तिकलाको समर्थन गर्छ ।
एलिसाको सोह्र वर्षको उमेरमा एक जना नेवार सँग अन्तरजातीय प्रेम
विवाह भएको हो । उसले पहिलो बिहे नै सौता माथि गरेकी थिई । सम्पत्तिको लालचमा
गरिएको उसको विवाह उमेरका हिसाबले पनि नमिल्दो थियो । सोह्र वर्षकी एलिसाको बिहे उ
भन्दा झन्डै तिस वर्ष जेठो तर सम्पत्तिको धनी मान्छे सँग कसरी भयो त्यो रहस्यकै
विषय हो । आमाले सम्पत्तिको लागि आफ्नो चिनेको मान्छेलाई फसाएकी हो भनेर कुरा
काट्छन् गाम्लेहरू ।
बजारको छेउमा घर भएकी किशोरी एलिसा साधारण आवश्यकताहरू पुरा गराउनको
लागि धनी तर उमेरले बुढो साहु सँग पोइल गएकी थिई । उक्त नेवार सँग केही वर्ष सँगै
बसी । त्यसपछि एलिसा जति जति तरुनी हुँदै गई उसमा बैँस भरिँदै आयो उसको त्यो
लोग्ने सँग पनि मन भरिँदै गयो । नेवार पेसाले सरकारी कर्मचारी थियो । र मनग्य
सम्पत्तिको साहु पनि थियो । पछि त्यो नेवार सँग डिभोर्स गरेर अंश बापत पैसा नगदै
बुझेर उ माइतमा आमासँग बस्न थाली ।
आमासँग पनि एलिसा लामो समय बासिन । आफै केही काम गर्ने र आफ्नै
खुट्टामा उभिने बहानामा उ भरतपुरमा डेरा गरेर बसी । यसरी एक्लै डेरा गरेर बस्न
थालेपछि उसलाई रोक्ने छेक्ने कोही भएन । बेपरवाह सङ्गत अनि बिन्दाश पाराको
जीवनशैलीमा एलिसा बानी परिसकेकी थिई ।
हातमा ठुलो स्क्रिन भएको मोबाइल बोक्ने । चार पाँच वटा फेसबुक आइडीबाट
देश विदेशमा रहेका साथीहरू सँग च्याट गर्ने । कसै सँग रमाइलो गर्ने आश्वासन देखाएर
पैसा माग्ने कसै सँग बिहे गर्ने विश्वास दिएर पैसा माग्ने इत्यादि गरेरै उ आधुनिक
जीवन बिताउन अभ्यस्त भइसकेकी छ । हरेक हप्ता उसको कोही न कोही ब्वाईफ्रेन्ड
विदेशबाट आइपुग्छ । एलिसाकोलागि गिफ्ट हरू आउँछन् । त्यही अनुसार नगद पनि
हातपार्छे उ । लाहुरेहरूसँगको सहवास गौण विषय हुँदै गएको छ उस कोलागि । त्यही नै उसको कमाइको माध्यम हो ।
त्यत्तिकैमा एक जना किस्मतका मारा मान्छे भेटिए उसको फेसबुकमा । हाइ
हेल्लो, फोन कल भिडियो कल हुँदै उनीहरूको दोस्ती
झाँगिँदै गयो । साउदी अरबमा काम गर्ने ती सज्जन साह्रै सोझा । एलिसालाइ के खोज्छस्
काना आँखो भयो । परिस्थितिले विदुर बनाएका ती सज्जन एकल थिए । थाहै नपाइ उनी
एलिसाको प्रेमको दलदलमा चुर्लुम्मै डुब्दै गएछन् ।
ती भलादमीको नाम चन्द्र थियो समय सँगै एलिसा र चन्द्र बिचको प्रेम
झाँगिँदै गयो । चन्द्रले बेला बेलामा एलिसालाई खर्चपानि पठाउँदै गए अनि चन्द्रको
नेपाल फर्कने समय भयो ।
चन्द्रले पटक पटक
भरतपुरमा तिमि के काम गर्छ्यौ किन उता बसेकी भनेर नसोधेका होइनन् । एलिसाले जहिले
पनि यति मिठो पाराले जवाफ दिन्थिन कि चन्द्रले दोहोर्याएर सोध्दा उनीमाथि
अविश्वास गरेजस्तो हुन्छ भनेर एक पटक सोधेको कुरा फेरी कहिल्यै सोधेनन् ।
एकल महिलाहरूको लागि हस्तकलाको समान बनाउने तालिम दिने र उनीहरुको
हकको लागि लड्ने काम गर्छु भनेर वताएकी थिई चन्द्र सँग एलिसाले र चन्द्रले यो कुरा आँखा चिम्लेर पत्याएका थिए ।
चन्द्र नेपाल आएपछि उनीहरू घुमघामको लागि निस्किए । एक अर्काको
प्रेममा रमाए । मनकामना देखि बुढा सुब्बा सम्म घुमे । अनि चन्द्रले विवाह गर्ने
प्रस्ताव राखे तर एलिसाको अहिल्यै बिहे गर्ने कुनै योजना थिएन । एलिसाले चन्द्रलाई
अहिले तपाईँ विदेश जानुस् म पनि केही काममा सेटल हुन्छु अलिकति जग्गा जमिन किनौँ
केही जोडौँ अनि हजुर अर्को बर्ष आएपछि बिहे गरौँला भनेर भरोसा दिलाई ।
उनीहरू यौटा घडेरी किन्न भनेर भरतपुर जग्गा हेर्न समेत गए । एलिसाले
नै लिएर गएकी थिई त्यो जग्गा देखाउन । आखिर बिहे गरिहालिन्छ भनेर चन्द्र उनी
एलिसाको नाममा जग्गा पास गर्ने मनस्थितिमा पुगेका थिए । एलिसाले चन्द्रलाई त्यो
अवस्था सम्म पुर्याएकी थिई । खासमा त्यो एलिसाकै साथी हरूले बेच्न लागेको जग्गा
भनेर देखाएकी थिई चन्द्रलाई उसले । तर चन्द्रले ती कुन किसिमका साथीहरू हुन् भनेर
कहिल्यै सोधेनन् ।
एक्लो जिन्दगीमा माया गर्ने मन बुझ्ने प्रेमिका पाएकोमा मक्ख थिए
चन्द्र । उनले आँखा चिम्लेर एलिसालाई विश्वास गरे । सँगै हुँदा सँगै बस्दा एलिसालाई
तारन्तार फोनहरू आइरहन्थे । अन्तरङ्ग समयमा पनि एलिसा फोनमै बिजी भइरहन्थी तर पनि
साथी हरूसँग रमाउँदै होली भनेर चन्द्रले कहिल्यै उसको फोनमा बढेको व्यस्ततामा
हस्तक्षेप गरेनन्।
चन्द्रको विदेश फर्कने बेला भयो । उनले कतै राम्रो जग्गा खेत या
घडेरी पाएमा बैना लगाऊ भनेर एलिसा लाई दुई लाख रुपैयाँ नगद समेत दिएर आए । आखिर
बिहे गर्ने र सँगै जिन्दगी बिताउने बाचा गरेको मान्छे लाई विश्वास नगर्नु पनि कसरी
। चन्द्रले आफ्नो वैदेशिक रोजगारीको लागि गरेको
इन्स्योरेन्सको कागजपत्र र आफ्नो नागरिकता अनि एटिएम कार्ड समेत एलिसाको जिम्मा
लगाएर विदेश फर्के । विदेश
फर्कनु अगाडी सम्म लगभग चन्द्रको पाँचलाख रुपियाँ उसले हात पारिसकेकी थिई । जसै
चन्द्र साउदी अरब पुगे अनि एलिसाको व्यवहार परिवर्तन हुँदै गयो । समयमा फोन न
उठाउने बोल्दा झर्किने गर्न थाली । चन्द्रलाई पर्नु पिर पर्यो । एक दिन चन्द्रको
नागरिकता, इन्स्योरेन्सका कागजपत्रहरू लगेर उनको घरमा छाडेर एलिसा चन्द्रको फेसबुकबाट
बेपत्ता हुन पुगी ।
लगभग एक महिना पछाडि चन्द्रले कतैबाट थाहा पाए
एलिसाको अन्तै कतै बिहे भयो भनेर । जापान तिर काम गर्ने नवलपरासी तिरका एक जना मान्छेले
एलिसासँग बिहे गरेको रहेछ । किन मलाइ बिहे गर्ने आश देखाएर अरू सँग बिहे गरेको
भनेर सोधे चन्द्रले । त्यो मान्छे जापान बस्ने र आफू जापान जानको लागि पेपर
म्यारिज मात्र गरेको भनेर एलिसाले चन्द्रलाई आश्वस्त पारी ।
अर्को मान्छेसँग बिहे गरिसकेर पनि अब जापान जाने
तयारीको लागि भनेर चन्द्रले फेरी पैसा पठाए । तर त्यो एलिसाको पेपर म्यारिज मात्र
थिएन । ती जापान बस्ने व्यक्ति पनि पहिल्यै देखि उसको सम्पर्कमा थिए । थुप्रै पैसा
एलिसाको लागि खर्च गरिसकेका थिए र अहिले आएर उनीहरूको बिहे भएको थियो ।
निकै लामो प्रपञ्च रचेर त्यो जापान बस्ने मान्छे सँग
बिहे गरिसकेपछि उनीहरूलाई बहु बिवाहाको मुद्दा पर्यो । मुद्दा अदालत बाहिरै
मिलाउन सबै कोसिसहरू भए तर कुरा मिलेन । एलिसा जमानतमा छुटी ती व्यक्ति भने
बहुबिबहाको अभियोगमा पुर्पक्षका लागि थुनामा छन् । अब ती मान्छे जेलबाट छुटेपछि
उनीमाथि एलिसा अंश मुद्दा हाल्ने र आधा अंश लिएर डिभोर्स गर्ने तयारीमा छ ।
यो एलिसा र उसको आमाको पूर्व योजना मुताबिक नै भएको
बिहे थियो । जापान जान पाए उतै गएर लोग्ने लाई छोड्ने जान नमिले उसले जापानमा
कमाएर नेपालमा जोडेको सम्पत्तिमा अंश दाबी गर्ने नियोजित षडयन्त्र स्वरूप यो
बिहेको नाटक मञ्चन भएको थियो ती जापानमा काम गर्ने मान्छेले अहिले सम्म आफू यसरी
फसेको कुराको पत्तो फाँट पाएका छैनन् ।
एलिसा जमानतमा छुटेपछि बुटवल तिर एक जना जग्गा दलाली
गर्ने एजेन्ट सँग बस्दै आइरहेकी थिई । उनी
पनि एलिसाका प्रेमी हुन । पछी चन्द्रले
एलिसालाई फोन गर्दा त्यही मधेसी लवजमा बोल्ने मान्छेले फोन उठाउँन थाल्यो र आफ्नी श्रीमतीलाई फोन नगर्न भन्दै धम्की दिन
थाल्यो । तपाईँ को हो भनेर सोध्दा म एलिसाको श्रीमान् हुँ भन्न थाल्यो।
आखिर कति छन् एलिसाका श्रीमान् हरू ? फेसबुकमा भेटिएका हरेक
युवासँग बिहे गर्ने बाचा गरेर पैसा ठग्ने । सामाजिक सञ्जालमा भेटिएका साथीहरू
विदेशबाट आएका बखत उनीहरू सँग रमाउने । अलि टाठा बाठा जस्ता लाग्ने हरू सँग छिट्टै
टाढा हुने अनि अलिकति सोझो मान्छे फेला परेमा त्यसलाई बिहे गर्ने आश्वासन दिएर
त्यसको पैसा आफ्नो हात पार्ने अनि अलि ठुलै फाइदा हुने अवस्थाको मान्छे फेला परे
बिहे नै गर्ने र फसाउने अनि अंश मुद्दा हालेर सम्पत्ति कुम्ल्याउने विगत आठ वर्ष
देखिको एलिसा र उसकी आमाको व्यवसाय नै यही मात्र रहेछ ।
-आमाको भरपुर सहयोग पाएकी एलिसा त्यो
समयमा खुङ्खार ठग भएर निस्केकी थिई । उ सँग दुइटा नागरिकता थिए अलग अलग नाममा । पासपोर्ट पनि दुइटा नै बनाएकी थिई
। नजिक परेका मान्छेलाई साम,दाम,दण्ड,भेद गरेर फसाउनु, माया जालमा पारेर रकम ठग्नु या बिहे गरेर अंश असुल्नु उसको व्यवसाय भएको थियो
। उस माथि परेका मुद्दाहरू त समयमै पर्छ्यौट भईहाल्छन तर अझै कति जना सोझा चन्द्रहरू
उसको चङ्गुलमा पर्ने हुन् र कतिले आफूले दुख गरेर कमाएको सम्पत्ति स्वाहा पार्ने
हुन् त्यो भने हेर्न वाकी नै रहदै एलिसाले आफ्नो रुप फेरी एकपटक फेरेकी छ ।
यति धेरै कहानी कि
भुक्तभोगी एलिसाले आफूलाई अविवाहित नै रहेको बताउँदै केही समय पछि फेरी पोखरामा
अर्को खानदानी केटासँग बिहे गरी । केही समयको अन्तराल मै
एलिसाले यौटा एनजिओ मार्फत आफूलाई अब्बल ‘महिला अधिकारकर्मी’
का रूपमा चिनाउन सफल भएकी छ । उसले बिहे
गरेको घर परिवारले पनि उसको विगत थाहा नपाएको होइन । उसको
लोग्ने आफैले अनुसन्धान गरेर धेरै कुरा पत्ता लगाइसक्दा यता एलिसा ‘अब्बल अधिकारकर्मी’ बनिसकेकी थिई । उसका अरू फेमिनिस्ट साथीहरू समेत एलिसाको न्यायको लागि लड्न तयार अवस्थामा
थिए । उसको कालो विगत छरपस्ट हुनुको बाबजुद उसका घरका
सबै उ सँग डराउँछन् –अहिले उ पोखराकी जल्दिबल्दी चल्तिपुर्जी
महिला अधिकारकर्मी हो !—यसरी चम्बु एलिसा एक खुङ्खार
फेमिनिस्ट बनेर स्थापित हुन पुगी !!
-चन्द्र
फोटो श्रोत : गुगल
|
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें