अपडेट

विसङ्गति : भर्चुअल रिलेशनले बर्बाद पारेका जिन्दगी हरू :



विसङ्गति : भर्चुअल रिलेशनले बर्बाद पारेका जिन्दगी हरू :

खाडीमा झुटो प्रेममा परेर बर्बाद भएका महिला हरूको कहानी लेखीसकेपछी मलाई म्यासेज हरूको ओइरो लाग्यो । कोही त्यस्तै कहानी बोकेका पीडित दिदी बैनी हरूले म्यासेज गर्नुभयो र आफूलाई ठग्ने पुरुषको जानकारी डिटेलमा दिन चाहेको बताउनुभयो । कोही पुरुष हरू पनि आउनुभयो आफू त्यस्तै झुटो प्रेममा परेर बर्बाद भएको कथा सुनाउनु भयो भने कोही चेली पैसा कमाउन विदेश गएको आफ्नो लोग्ने परस्त्रि सँग लाग्नाले आफ्नो जिन्दगी कसरी नाटकीय बनेको छ भन्ने कथा लिएर आउनुभयो । धेरै म्यासेज हरू आए । परिवारको आड भरोसा बनेर रहनुपर्ने व्यक्ति विसङ्गति तिर लागेर भर्चुअल दुनियाँमा हराएर घरबार बिर्सन पुग्दा कस्तो अवस्था सृजना हुन्छ त्यसबारे मेरो मन छोएका केही म्यासेज बारे यहाँ चर्चा गरौँ ।

नेपाल तर्फ परिवारको बर्बादी

वार्बादी नं एक : उनको नाम सिता कार्की हो । घर पोखरा । उनका श्रीमानको नाम वीरेन्द्र कार्की हो । वीरेन्द्र दुबईमा बस्छन् विगत बाह्र वर्षा देखि । दुबईका चल्तापुर्जा समाजसेवी समेत हुन् वीरेन्द्र । बिहे गरेको धेरै समय भयो अहिले उनीहरूका एक छोरा र एक छोरी छन् । राम्रै पैसा कमाएका थिए वीरेन्द्रले । पोखरामा घर थियो, सिता कार्की आफै शिक्षिका भएको कारण बाबु नानीको पढाई पनि एकदम राम्रो थियो । सबै कुरा मिलेको एकदम सुखी परिवार थियो उनीहरूको ।


तर सीताको जीवनमा त्यो खुसी धेरै वर्ष टिक्न पाएन । उनका श्रीमान् वीरेन्द्र सामाजिक सञ्जाल मार्फत दुबईमै काम गर्ने अर्की महिलाको प्रेममा परे । त्यसपछि वीरेन्द्र नेपाल गए पनि घर नजाने सिता र उनका छोराछोरीलाई हेरविचार नगर्ने गर्न थाले । दुबईमा रहँदा फेसबुकमा भेटिएकी भर्चुअल प्रेमिका सँग मन्दिरमा गएर बिहे गरे । सिन्दूर हालेका लगायत विवाहका फोटा सामाजिक सञ्जालमा अपलोड गरे । सीताले ती सबै कुरा निरीह बनेर हेरिरहिन मात्र ।

 मुद्दा मामिला गर्न उनका माइती कमजोर छन् । माइत बाट धेरै माया पाएपनि यस्ता मामलामा यथेष्ट बलको आशा उनी गर्न सक्दिनन् । छोराछोरी सानै छन् । अब त सासू ससुराले समेत हेला गर्न थालेका छन् ।

 वीरेन्द्रले बिहे गरेकी कान्छी श्रीमतीले सीतालाई फेसबुक, भाइबर लगायत जति पनि कुराकानी हुन सम्भव हुने ठाउँ हुन्छन् ती सबैमा ब्लक गरिदिएकी छन् । वीरेन्द्र आफू पनि त्यही चाहान्छन सायद त्यसैले उनी पनि श्रीमती सिता   र छोराछोरीको सम्पर्कमा जाँदै जाँदैनन् ।

वीरेन्द्रले पोखराको घर बैङ्कमा राखेर ऋण निकालेर कान्छी श्रीमतीको आफन्तको नाममा प्रपर्टी किनेर राखेका छन् ।  यता बैङ्क समयमा ऋण तिर्न ताकेता गरिरहन्छ ।  अब अगाडी के गर्ने भन्ने बारे सीताले केही सोच्न सकेकी छैनन् ।

 भर्खरै सीताका श्रीमानले फेसबुकमा म्यारिज एनिभर्सरी मनाएको फोटो अपलोड गरे ती फोटा हेरेर सीताले आँसु बगाउन भन्दा केही गर्न सकिनन् । आफ्नो परिस्थिति बयान गर्न दुख देखाउन र केही उपाय लगाएर आफ्नो लोग्नेलाई फिर्ता ल्याउन उनले भरमग्दुर प्रायशः गरिन । दुबईमा रहेका नेपाली सङ्घ संस्थाका पदाधिकारी हरू र समाजसेवी हरूलाई समेत गुहारिन तर उनको हातमा केही लागेन, वीरेन्द्र सुधार्न सकेनन् ।

आफ्ना छोराछोरी र श्रीमतीको पटक्कै वास्ता नगरेर फेसबुकमा भेटिएकी र पछि गैह्रकानुनि रूपमा विवाह गरेकी महिलाकी आमालाई समेत दुबई घुमाउँछन् वीरेन्द्र तर उनलाई घर, श्रीमती र छोराछोरीको बारेमा पटक्कै चासो छैन । यी तमाम परिस्थितिले सिता कार्की लाई कमजोर बनाएको छ । उनले आफ्नो अगाडिको भविष्य अन्धकार देखिरहेकी छन् ।

वार्बादी नं दुई : उनको नाम रेनु थापा हो । उनी विकास थापाकी श्रीमती हुन । विकास कतारको राजधानी दोहामा कार्यरत छन् । घर स्याङ्जा जिल्लाको फेदीखोलामा पर्छ । रेनुका श्रीमानले काम गर्ने कम्पनी टेक्निकल कम्पनी हो । नेपालमा छँदै विकास बिजुली सम्बन्धी काम गर्दथे । विदेश पनि इलेक्ट्रिसियन कै काममा गएका हुन् । दोहा गएको चार वर्ष भयो । विदेश जाँदाको वर्ष राम्रै पैसा पनि पठाए विकासले रेनुलाई । मासिक ५०-६०  हजार । तर समय जति बित्दै गयो विकासले पैसा नियमित पठाउन छाडे ।

किन नियमित पैसा नपठाउनु भएको भनेर रेनुले सोध्दा काम चलेको छैन, ओभरटाईम छैन, बिमारी भएँ इत्यादि बहाना बनाएर झुट बोल्न थाले विकास । त्यसरी नै दुई वर्ष बिते । त्यसपछि विकास बिदामा नेपाल गए । दुई वर्षमा फर्केर आउँदा पनि घर सम्हालेर उसलाई नै पर्खेर बसेकी अर्धाङ्गीनी प्रति उसको कुनै चासो भएन । घरमा कम बाहिर बढी रमाउने बनेर फर्केको थियो उ । आफ्नो सन्तानको बाबुको व्यवहार देखेर रेणु विक्षिप्त हुन बाहेक केही गर्न सकीनन ।

एक दिन विकास घरमा नभएको समयमा रेणु घर सफा गर्दैथिईन । दराजमा उसको पासपोर्ट र टिकट हरू देखिन रेणुले । विकास त घरमा आउनु भन्दा एक हप्ता अगाडी नै काठमाडौँ आएर एक हप्ता उतै बिताएर बल्ल घरमा पुगेको रहेछ त्यो देखेर रेणु छाँगा बाट खसे जस्तै भइन ।


जब निकै सङ्घर्ष गरेर एक दिन रेणुले विकासको मोबाइल खोलेर हेर्न मौका पाइन तब उनिले आफूले टेकेको जमिन भासिए जस्तै अनुभव गरिन । विकास त काठमाडौँमा एक जना दोहोरी रेस्टुरेन्टमा काम गर्ने केटी सँग नराम्रो सँग फसिसकेको रहेछ र रेणुले आफूलाई लोग्नेले बेवास्ता गर्न थालेको कारण थाहा पाउँदा उनको लोग्ने विकास भर्चुअल प्रेमको फोहोरमा नराम्रो सँग भासीइसकेको थियो ।


रेणुले विकासको व्यवहार र चरित्र बारे कुरा उठाइन विकासले रेणु माथि हात उठायो । रेणुले निरीह बनेर परिस्थिति सँग सम्झौता गरिन । विदेश उड्ने टिकटको मिति भन्दा अगावै विकास घर छाडेर निस्कियो । पछिल्लो पटक कतार गएको दुई वर्ष भइसक्यो । तर विकासले न एक रुपैयाँ पठाउँछ न घर सम्झेर नै फोन गर्छ । अचेल हल्ला हरू सुनिन्छन् उ विदेश बाट काठमाडौँ आएर त्यहीँ बाट फर्कन्छ रे ! रेणुको मन विचलित हुन्छ तर उनी गर्न पो के नै सक्छिन् र । मेलापात गरेर छोरो हुर्काउँदै छन् अहिले ।


भर्चुअल प्रेमको कारण बर्बाद पुरुष हरू:


वार्बादी नं तिन : उनको नाम मोतीलाल थापा । घर तनहुँ जिल्लाको अभिमान आसपासमा पर्छ । कतार आएको चार वर्ष भयो । घरमा बाबुआमा, श्रीमती र पाँच वर्षका छोरा छन् । सम्पत्ति ठिकै छ उनी मध्यम वर्गीय परिवारका मान्छे हुन । बिहेको दुई तिन वर्षपछि बच्चा जन्मियो बच्चाको हेरविचार सँगै खर्च बढ्दै गएपछी अतिरिक्त कमाइको लागी खाडी छिरेका हुन उनी नत्र घरमा नपुग्दो केही थिएन । उनका ससुराली हुने खाने नै छन् । राम्रो सँग मेहेन्दी गरे घरकै आम्दानीले पुग्ने जायजेथा रहेको छ घरमा ।

नाम चलेको कम्पनीमा सेक्युरिटी गार्डको काम । मासिक कमाई चालिस देखी पचास हजार सम्म । विदेश आएका केही महिना राम्रै पैसा कमाए र बचाए । नेपाल बाट आउँदा हातमा राम्रो मोबाइल समेत थिएन । यता आएपछी राम्रो मोबाइल किने । फेसबुक चलाउँछन् । उनको अफिस दोहाको समुद्री तट कर्नेस नजिकै छ । दैनिक फोटा खिच्ने अपलोड गर्ने एक किसिमको फेसबुके रमाइलोमा बानी परे मोतीलाल । बिस्तारै दोहाकै केटी साथी हरूको सङ्गतमा पर्दै गए ।


अचानक कलेज ड्रेस लगाएको जस्तो देखिने एक जना युवती सँग उनको डिजिटल हिमचिम बढ्दै गयो । ती युवती दोहामै यौटा सुपर मार्केटमा काम गर्ने कामदार थिइन । आकर्षक जिउ डाल, मोहनी लाग्ला जस्तो मुस्कान र सिधा देखिने अनुहारको बाहिरी स्वरूपमा मोतीलाल लठ्ठीदै गए ।  फेसबुक च्याट भिडीयोकल इत्यादिमा रत्तीदै गएपछी उनीहरूले भेटघाट गरे । कर्नेस बाट डुङ्गा चढेर सेराटनको फन्को लगाए, त्यो अविस्मरणीय क्षण थियो मोतीलालको लागि ।

यताको सङ्गतले उनको घर तिरको सम्पर्क पातलिँदै गयो । श्रीमती,छोरा र बा-आमा सबैबाट टाढिँदै गए । कमाएको तलब दोहामा चिनिएकी साथीलाई भेट्दा खर्च हुन थाल्यो । कहिले भिलाजियोको शपिंग, कहिले क्यारिफोरको किनमेल, कहिले लुलुको लुकामारी अनि कहिले समुद्रको फन्को लगाएरै मोतीलाल रमाइरहेका छन् ।  बिदा जाने समय आयो तर उनको गोजीमा एक रुपियाँ बचत छैन । घरमा फोन गर्दैनन् । आखिर दोहा कतिनै ठुलो पो छ र । मोतीलाल यतै रित्तिन थालेको कुरा उनका छिमेकी हरूले कुरा काट्न थाले । घरमा श्रीमतीको कानमा पनि यो खबर पुग्यो ।

उनको फेरिएको व्यवहार प्रति श्रीमतीले शङ्का गर्नु स्वाभाविक नै थियो । त्यसमाथि सँगै भएका चिनजानेका मान्छे हरूले कुरा काट्न थाले । मोतीलाल लाई उनकी श्रीमतीले फोन गरेर सम्झाउने लाख कोसिस गर्दा पनि उनी कुरा बुझ्न तयार छैनन् । दोहाकी प्रेमिकालाई छोड्नै नसक्ने अवस्थामा पुगेका उनी अचेल त श्रीमतीको फोन सम्म उठाउदैनन ।

अहिले उनले बुझेको तलब पुरै दोहामा भेटिएकी आफ्नी प्रेमिकाको लागी खर्च गर्छन् । चौबिसै घण्टा उनै सँग फोनमा रमाउँछन् । बिदाको दिन भेटेर रमाउँछन् । मोतीलाल लाई न छोराको याद आउँछ न श्रीमतीको ! न बाबाको याद आउँछ न आमाको । भर्चुअल प्रेमीकाको मोहनीमा विचित्र सँग लठ्ठीएका मोतीलाल नराम्रो सँग वर्वाद भएका छन् । उनकी प्रेमीका कति समय उनीसँग रहने हुन उनी बुझ्दैनन् तर कमाएको सबै लुटाइरहेका छन् । मोतीलालको यो कमजोरी को कारण उनकी श्रीमती नाटकीय जीवन बिताउन बाध्य छन् ।

वार्बादी नं चार  :  गोरखा घर भएका रेसमलाल गहतराज । दोहामा राम्रो कम्पनीमा काम गर्छन् । उमेर ४५ वर्ष । यहाँ जिल्ला स्तरीय समाज सेवा गर्ने संस्थाका चल्ता पुर्जा हुन । घरमा चालिस वर्षीय श्रीमती, अठार र एक्काइस वर्षीय छोरा र छोरी छन् । छोरीले नर्सिङको पढाई सकिसकेकी छन् र यौटा अस्पतालमा भोलन्टियर काम सुरु गरेकी छन् । 

रेसमलालको दोहामै एक जना भट्टराई थरकी युवती सँग चिनजान भयो । चितवन तिरबाट यौटा क्लिनिक कम्पनीमा काम गर्न दोहा आएकी युवती हेर्दा मध्यम सुन्दर छिन । ती युवतीको पनि कहानी लामो छ । उनलाई चिनेका सहकर्मी हरू भन्छन् उनी नेपाल छँदै देखि कि चालुहुन् । अविवाहित छँदै सन्तान जन्माएको कारण समाज वाट बहिष्कृत भएकी उनको बच्चाको न्वारान अझैसम्म भएको छैन । उनको बच्चा लाई उनकी दिदीले हेरचाह गरेर उनलाई यता काम गर्न पठाएको भन्ने गाईंगुईं सुनिन्छ दोहामा ।

नेपालमा उनको बर्बादी हेर्न नसकेर दोहामै रहेका उनका आफन्तले यता काम खोजेर झिकाएका रहेछन् । खासमा ती युवती परिछन् विन्दाश पाराकी । खायो पियो मोज गर्‍यो भोलि जे त होला टाइपको सोच भएकी । यता रेसमलाल परे परिवार वाला । रेसमलाल ती नानीको प्रेममा यो बुढ्यौली उमेरमा यती नराम्रो सँग फसेका छन् की यो फसाद बाट उम्कने कुनै उपाय देख्दैनन् ।

रेसमलालको तलब बुझ्ने बैंककार्ड ती नानी सँग छ । महिना भरी काम गर्ने रेसम गहतराज तर एटिएम बाट तलब निकाल्छिन् उनकी प्रेमिका । घरतिर पैसा नपठाएको महिनौँ भइसक्यो । पठाउन पनि कसरी, उनले पाउने तिनै रमिला भट्टराईले जति दिन्छिन् त्यति मात्रै हो । रेसमको घर व्यवहार लथालिङ्ग छ तर पनि उनी बुढेसकालमा जोडेको पिरती तोड्न सक्ने अवस्थामा छैनन् ।  यसरी रेसमलाल भर्चुअल प्रेमको कारण वर्वाद भएका छन् ।

वार्बादी नं पाँच : पाल्पा जिल्ला, मदन पोखरा नजिकैका एक जना भुसाल बाजे छन् दोहामा । उमेर त्यस्तै चवालिस पैंचालिस वर्ष । फेसबुक बाट पाल्पा तिरकै नम्र एवं मिष्ठभाषी एक जना नानीको सम्पर्कमा पुगेछन् । घरमा श्रीमती, छोरी र छोरा सहितको सुखी परिवार भएको मान्छे । पाल्पाली नानी सँग रत्तीदै गएका भुसालले एकवर्षको कमाई तिनै नानीको लुगाफाटो, पकेट खर्च र पेवा बापतको बैङ्क ब्यालेन्स गराउँदा खर्चिएछन् । अन्तिममा ती पाल्पाली नानी लाई नभेटिकनै टाढिने बाध्यता परेका भुसाल दाइ  पाचलाख हाराहारी रकम डुबेकोमा पुर्पुरो ठोकेर पछुताउछन घरीघरी अचेल ।

माथि उल्येखित पाँच वटा उदाहरण प्रतिनिधि उदाहरण मात्र हुन् । अरबको बसाई, महिलाको मुख सम्म देख्न नपाउने मजदुर हरू मसिनो आवाज मात्र सुन्न पाए भने मक्ख हुन्छन् । फोनमा मिठो बोलेकै भरमा रिचार्ज कार्ड माग्ने देखि लिएर पैसाको लागि प्रेम गर्ने अनुहार हरूको भर मार छ खाडीमा । त्यसो भन्दैमा अरूको आनीबानी या चरित्रमा प्रश्न उठाउन खोजिएको होइन तर भर्चुअल संसारमा भेटिएका कतिपय सम्बन्ध हरू स्विट पोइजन जस्ता हुन्छन् । समयमै जोगिन नसके त्यो सम्बन्धले मान्छे लाई बदनामीको भड्खालोमा जाकेर घरको न घाटको बनाउँछ ।

दुर्गा पंगेनी

कोई टिप्पणी नहीं