अपडेट

एनआरएनए आइसिसी मध्यपूर्व क्षेत्रीय उप संयोजक पदमा रमेश भट्टको उम्मेदवारी

एनआरएनए आइसिसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक पदमा कतारबाट व्यवसायी रमेश भट्टले आफ्नो दावेदारी प्रस्तुत गरेका छन्  । आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारीको घोषणा गरेका भट्टले आफू निर्वाचित भएमा गर्ने कामहरूको बारेमा प्रतिबद्धता समेत व्यक्त गरेका छन् । लामो समय देखि मध्यपूर्वको कतारमा व्यवसाय गर्दै आएका भट्ट समाजसेवामा समेत सक्रिय देखिन्छन्    

एनआरएनए आइसिसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक पदमा

रमेश भट्टको

२०२१२०२३ कार्यकालका लागि उम्मेदवारी र प्रतिबद्धता

 

आदरणीय गैर आवासीय नेपाली दिदीबहिनी, दाजुभाइ, पत्रकार तथा शुभेच्छुक साथीहरू;

वैदेशिक रोजगारीको सुरक्षित तथा भरपर्दो  गन्तव्यको रूपमा रहेको मध्यपूर्वका विभिन्न देशहरूमा रोजगारी र व्यवसायमा संलग्न सम्पूर्ण गैर आवासीय नेपालीहरूमा महान् चाडपर्वहरू विजयादशमी, दीपावली, नेपाल संवत् , छठ लगायत यही पर्वको सेरोफेरोमा आउने अन्य राष्ट्रिय चाडपर्वहरूको अवसरमा हार्दिक शुभकामना सहित कोभिड१९ बाट सुरक्षित रहन आवश्यक सावधानी अपनाउन पनि सादर अनुरोध गर्दछु ।

हालै सम्पन्न मध्यपूर्वका विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूमा कार्यकाल सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु साथै २०२१२०२३ कार्यकालका सम्पूर्ण पञ्जीकृत सदस्यहरूमा आफ्नो क्षेत्रको एनसीसीको कार्यकाल सफल बनाउन आआफ्नो ठाउँबाट सहयोग गर्नुहुनेछ भन्नेमा पूर्ण आशावादी छु ।

दशौँ अन्तर्राष्ट्रिय महाधिवेशनका सम्पूर्ण महाधिवेशन प्रतिनिधि हरूमा  विश्व सम्मेलन तथा महाधिवेशन सफल बनाउन यहाँहरूको सक्रिय र सशक्त भूमिका रहनेमा विश्वस्त छु ।

म सन् २००३ देखि हालसम्म एनसीसी कतारमा कार्यकारी पदमा रहेर होस वा पदमा नरहेर पनि सक्रिय रूपमा क्रियाशील छु । एनसीसी कतारको स्थापना कालदेखि नै संस्थालाई श्रममैत्री तथा मजदुरमुखी बनाउने मेरो अभियान जारी छ । म एनसीसी कतारबाट आइसिसी सदस्य मा निर्वाचित भई सफलताका साथ कार्य सम्पन्न गरिरहँदा मध्यपूर्वमा रहेका मजदुरहरूका विद्यमान समस्याहरू आइसिसी सँग समन्वय गरी सम्बोधन गर्न सकिने अनुभव सँगालेको छु र यसलाई सही सदुपयोग गर्नुपर्ने आवश्यकता महसुस गरी एनआरएनको अभियानलाई निरन्तरता दिने सङ्कल्पका साथ यहाँ हरूको साथ, सहयोग र सद्भाव पाएमा आफूले सँगालेको अनुभवलाई कुनै पनि कसर नराखी निस्स्वार्थ सेवा भावका साथ कुशलता पूर्वक जिम्मेवारी बहन गर्दै निम्न अनुसारका प्रतिबद्धता व्यक्त गर्दछु ।

प्रतिबद्धता

सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार:

·       वैदेशिक रोजगारीमा कल्याणकारी कोषको वृद्धि र प्रभावकारी कार्यान्वयनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ।

·       वैदेशिक रोजगारीमा जानेहरूका लागि जीवन बिमा र सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र प्रभावकारी बनाउन आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने ।

·       श्रम स्वीकृति, अध्यागमन, भिसा प्रमाणीकरण र म्यानपावर हरूमा देखिएको अनियमितता वा झन्झटिलो प्रक्रियाहरूमा दबाबमूलक समन्वयकारी भूमिका खेल्ने ।

·        मध्यपूर्वका राष्ट्रिय समन्वय परिषद् सँग समन्वयकारी भूमिका खेली सम्बन्धित देशको नियम कानुन भित्र रही श्रमिकहरूको समस्याहरू समाधानका लागि विशेष भूमिका निर्वाह गर्ने ।

·       मध्यपूर्वका राष्ट्रिय समन्वय परिषद् सँग समन्वय गरी नेपाली भाषा, कला र संस्कृति संरक्षण तथा प्रवर्धनको लागि विशेष भूमिका निर्वाह गर्ने ।

उद्यमशीलता र व्यवसायीकरणमा सहजीकरण:

·        समग्र मध्यपूर्वमा कार्यरत नेपालीहरूलाई प्रमुख केन्द्रबिन्दुमा राखी व्यवसाय तथा उद्यमशीलताका लागि उत्प्रेरित गर्ने र सहजीकरणको भूमिका निर्वाह गर्ने ।

·       आइसिसी सँग समन्वय गरी स्वदेशमा लगानीका लागि तथा स्वरोजगारीको व्यवसायीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्ने ।

·       स्वदेशमा लगानीका लागि नेपाल सरकारका प्रावधान, अवसर र लगानीका सुरक्षित क्षेत्रहरूका बारेमा जानकारीमूलक कार्यक्रमहरूको संयोजन गर्ने ।

कला, संस्कृति, पर्यटन र व्यापारको प्रवर्धन:

·        नेपाल र नेपालीको पहिचान विश्व भर चिनाउन कला र संस्कृतिलाई महत्त्व दिई समयानुकूल कार्यक्रमहरूको संयोजन गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने ।

·       नेपालको आर्थिक विकासमा मध्यपूर्वमा स्थापित राजदूतावास, आइसिसी र एनसीसी सँग समन्वय गरी पर्यटन क्षेत्रको विकासका लागि विदेशी पर्यटकहरूलाई नेपाल भ्रमणमा जान उत्प्रेरित गर्ने कार्यक्रमहरूमा समन्वयकारी भूमिका निर्वाह गर्ने ।

·        नेपालमा उत्पादित कृषिजन्य उत्पादनहरूलाई मध्यपूर्वको बजारमा भित्राउन सम्बन्धित निकाय सँग समन्वय गरी सहजिकरणका लागि भूमिका निर्वाह गर्ने ।

·        विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्नका लागि राजदूतावास, आइसिसी र एनसीसी सँग समन्वय गर्दै प्रोत्साहन मूलक कार्यक्रमहरू सञ्चालन गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने ।

अन्तमा, मध्यपूर्वमा रहनुहुने सम्पूर्ण गैर आवासीय नेपालीहरूमा मेरो अभियान र प्रतिबद्धतालाई साकार पार्न यहाँ हरूको साथ, सहयोग र समर्थनका लागि सादर अनुरोध गर्दछु ।

 रमेश भट्ट

मध्यपूर्व क्षेत्रीय उपसंयोजक उम्मेदवार



 

 

कोई टिप्पणी नहीं